काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापति पदका लागि ६ जनाले उम्मेदवारी दिएका थिए । तर मुख्य प्रतिष्पर्धा भने शेखर कोइरालासँग मात्रै देखिएको थियो ।
कोइराला अहिले पनि सभापतिकै दाबीदारमा छन् । आगामी पुस २५ गतेदेखि हुन लागेको १५ औं महाधिवेशनमा कोइरालासहित संस्थापन इतर पक्षबाट गगन थापा, र चन्द्र भण्डारीले सभापति उम्मेदवार घोषणा गरिसकेका छन् भने संस्थापन पक्षबाट शेरबहादुर देउवाको आर्शिवाद थाप्न लाइन लागिरहेको छ । त्यसैले अहिलेसम्म संस्थापनबाट सभापति उम्मेदवार घोषणा भएको छैन ।
जेनजी आन्दोलनपछि पार्टी रुपान्तरणको प्रश्न गम्भीर रुपमा उठेकाले पनि कांग्रेस आगामी महाधिवेशन रोचक बन्ने देखिएको छ ।
जेनजी आन्दोलन पश्चात् नयाँ शिराबाट अघि बढ्न खोजेको नेपाली कांग्रेसको भावि नेतृत्वमा को आउला ? जेनजीले चाहेजस्तो नव नेतृत्व की पुरानै बा उमेरको नेतृत्व ? यहि विषयमा कांग्रेस भित्र यतिबेला गम्भिर बहस भइरहेको छ ।
महाधिवेसन आउन एक महिना बाँकी हुँदा नेता कार्यकर्तामा उत्साह पनि उत्तिकै बढेको छ । नेताहरु कार्यकर्ता खुसी पार्न र महाधिवेसन माहोल बनाउन गृह जिल्ला केन्द्रीत छन् । वडा, पालिका हुँदै जिल्ला जिल्लामा सदस्यता नविकरण, प्रतिनिधि चयन जस्ता कार्यमा पकड जमाउन कांग्रेस नेताहरुलाई भ्याइनभ्याई छ ।
भावी नेतृत्वको आकांक्षीले अनौपचारिक उम्मेदवार घोषणा गरिरहेका छन् । यो हतारो बढी संस्थापन इतर पक्षमा देखिएको छ । अघिल्ला महाधिवेसन जस्तै आगामी महाधिवेसनमा पनि संस्थापन पक्ष र इतर पक्षबीच रोचक भिडन्त हुने नै छ । तर यस पटक विगत भन्दा पनि अझ रोचक हुने देखिएको छ ।
इतर पक्षका नेता आमनेसामने
कांग्रेस संस्थापन इतर पक्षका शीर्ष नेता शेखर कोइराला, महामन्त्री गगन थापा र नेता चन्द्र भण्डारी आमनेसामने हुने स्थिति बनेको छ ।
१४ औँ महाधिवेसनमा एकै कित्तामा रहेर देउवा विरुद्ध उत्रिएका यी नेताहरु आसन्न महाधिवेसनमा भिडन्तमा उत्रिन सम्भावना बढेका छन् । अनौपचारिक रुपमा भावि सभापतिको उम्मेदवार घोषणा गरेका कोइराला, थापा र भण्डारी वीच भिडन्त भएमा संस्थापन पक्षलाई फाइदा पुग्ने निश्चित छ । इतर पक्षमै त्रिपक्षीय भिडन्त पक्का जस्तै हुँदा के भन्छन् त नेताहरु ?
कांग्रेस संस्थापन पक्ष मौन
सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्ष कांग्रेसमा निकै बलियो र निर्णायक शक्ति मानिन्छ । पार्टी विधान अनुसार नै देउवा भावी सभापति बन्न पाउने छैनन् । तर देउवाले अहिलेसम्म पार्टीको भावी उत्तराधिकारी सार्वजनिक गरेका छैनन् ।
सभापति देउवाले संस्थापन पक्षका नेताहरुलाई मिलाउँदै अन्तिम निर्णयमा पुग्ने नेताहरु बताउँदै आएका छन् । यद्यपी उम्मेदवारी दर्तासम्म आइपुग्दा केहि फरक हुन सक्ने आकलन पनि नेताहरुको छ ।
सात भाइ मौन !
नेपाली कांग्रेसमा सात भाइ नेताको छुट्टै समुह रहेको छ । सात भाइको नाम हो, विमलेन्द्र निधी, विजयकुमार गच्छदार, गोपालमान श्रेष्ठ, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह र डा.सशांक कोइराला । सभापति देउवा निकट मानिने उक्त समुहले अहिलेसम्म सभापतिको उम्मेदवारको टुंगो लगाएको छैन ।
यो समुहबाट सशांक कोइराला सम्भावित क्याडिडेट हुनसक्ने चर्चा राजनीतिक बृतमा छ । अघिल्लो पटक पहिलो चरणमा देउवासँग सभापतिमा भिडेका प्रकाशमानलाई देउवाले आफ्नो क्याम्पमा पार्दै बाजी मारेका थिए । सिंहको पनि दाबेदारी हुने आकलन उत्तिकै छ । तर यो सबै सभापति देउवाको चाहनामा हुने भएकाले नेताहरुले मुख खोलेका छैनन् ।
देउवाको विडो पूर्णबहादुरको हातमा जाला ?
सभापति शेरबहादुर देउवाले पार्टी विधानतः पार्टी सभापतिबाट विदाई लिनेछन् । यस्तो अवस्थामा देउवाले कांग्रेसको चाबी कसको हातमा थमाउँछन् भन्ने विषय महत्वपूर्ण छ । पछिल्ला राजनीतिक परिदृश्य हेर्दा देउवाले आफ्नो पक्षबाट उपसभापति पुर्णबहादुर खड्का अघि सार्ने सम्भावना प्रबल छ । किनभने जेनजी आन्दोलनमा परि घाइते हुँदा उपचारका लागि देउवा दम्पति सिंगापुर पुग्दा कार्यवाहक सभापतिको जिम्मेवारी खड्कालाई नै दिएका थिए ।
यतिबेला विगतमा देउवालाई साथ दिएका नेताहरु देउवा रिझाउन लागि परेका छन् । त्यसैले देउवाको आर्शिवाद कसलाई प्राप्त हुन्छ, उसैको पल्लाभारी हुने कांग्रेस वृत्तमा चर्चा चलिरहेको छ ।
