News 24 Television
युवा पुस्तालाई चिढाउँदै ओली, नेतृत्वमा निर्विरोधको दाबी

काठमाडौं । नेकपा एमाले महाधिवेशनको संघारमा छ । मंसिर २७ गतेदेखि शुरु हुने महाधिवेशनबाट अध्यक्ष केपी शर्मा ओली नै पुनः नेतृत्वमा आउने तयारीमा छन् । 

जेनजी पुस्ताले राजनीतिक दलहरुको पुर्नगठन र रुपान्तरण अनिवार्य ठाने पनि ओली त्यो कुरा स्वीकार्न तयार छैन । महाधिवेशनबाट नयाँ म्यान्डेट देखाएर ओली फेरि पनि पार्टी नेतृत्व मात्र होइन, सत्ताकै पेरिफेरीमा पुग्ने चेतावनी दिइरहेका छन् । 

विहीबार सम्पादकहरुको संवादमा पनि उनी आफू निर्विरोध अध्यक्ष बन्ने उद्घोष गरे । नेकपा एमालेको गत भदौमा भएको विधान महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीलाई नै तेस्रो कार्यकालका लागि पार्टी अध्यक्ष बन्ने ढोका खुला गरेको थियो । तर विधान अधिवेशनकै भोलिपल्ट जेनजी आन्दोलन भयो । 

जुन आन्दोलनले २७ घण्टामै ओली सत्ताच्यूत हुन पुगे । जेनजी आन्दोलनले राजनीतिक दलहरुलाई रुपान्तरणको लागि स्पष्ट म्याण्डेट दियो । 

दलहरु रुपान्तरण भन्दा पुनर्गठनतर्फ अघि बढिरहेका छन् । नयाँ परिस्थितिमा पुराना मात्र होइन, नयाँ राजनीतिक दलहरु पनि एकता र ध्रुवीकरणमा अघि बढिरहेका छन् । अनि, राजनीतिक दलहरुलाई महाधिवेशनतर्फ लगेर नीति निर्माणदेखि नेतृत्व परिवर्तनको बाटोमा लागेका छन् । 

यहि बीचमा जेनजी आन्दोलनले सत्ताच्यूत भएको एमाले पनि सबैभन्दा अघि महाधिवेशन गरेर नयाँ सन्देश दिन खोजिरहेको छ । तर विधान संशोधन गरेरै तेस्रो कार्यकालका लागि निर्विरोध अध्यक्ष बन्ने सम्भावना बन्ने ओलीको योजनामा भने ब्रेक लागेको छ । बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले अध्यक्षको उम्मेदवार घोषणा गर्दै क्याम्पेनिङ थालिसकेका छन् ।

पोखरेल समूहले महाधिवेशनको सन्दर्भमा नियमित अन्तरसंवाद नै चलाइरहेका छन् । जुन अन्तरसंवादमा पछिल्लो राजनीतिक संकटको कारण पनि ओलीलाई मानिरहेका छन् । पोखरेल समूहले खुला रुपमा चुनौति दिइरहँदा विहीबार ओलीले विहीबार मात्रै सम्पादकहरुलाई डाकेर ११ औं महाधिवेशनबाट पनि आफू निर्विरोध अध्यक्ष बन्ने दाबी गरे । 

अहिले राष्ट्रिय पुनःजागरण, पुर्नस्थापना, राष्ट्रिय पुर्ननिर्माण र सुशासनको अभियानको अगुवाई आफ्नो नेतृत्वमा मात्रै हुने ओलीले स्पष्ट गरे । महाधिवेशनपछि आफ्नो नेतृत्वको नेकपा (एमाले)ले मात्रै यी कामहरु गर्ने ओलीको भनाई थियो । 

ओली नेतृत्वको तत्कालिन सरकारले समाजिक सञ्जाल बन्द गर्ने लगायतको निर्णय गरेर युवा पुस्तालाई आक्रोशित बनाएको थियो । जुन आक्रोश भदौ २३ र २४ को जेन्जी पुस्ताको आन्दोलनमा विस्फोट भयो । 

एमालेको विधान महाधिवेशनअघि नै पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई अघि सारेर ओलीको काउन्टर दिने तयारी ओली इतर पक्षको थियो । तर ओलीले भण्डारीको सदस्यता नै रोकिदिए । यी सबै कारण पनि ओली इतर पक्ष जसरी पनि काउन्टर दिने पक्षमा थियो । 

जसलाई जेनजी आन्दोलन प्लस बनिदियो । त्यसैले जेनजी आन्दोलनको मर्मअनुसार पनि ओलीको विकल्पको खोजी इतर पक्षले गर्यो । र, ईश्वरलाई अगाडि सारियो । तर महाधिवेशन प्रतिनिधि छनोटसमेत भइसकेको छ । प्रतिनिधिको जोड घटाउमा ओलीकै पल्लाभारी छ । त्यसैले ओली टसमस छैनन् । 

जेनजी आन्दोलनको निरन्तर प्रतिवादमा ओली 

जेनजी आन्दोलनमा १५ दिन भन्दा बढी ज्यान जोगाउन काठमाडौ उपत्यकाबाहिर सेनाको ब्यारेक भित्र बसेर फर्किएको ओली त्यसयता निरन्तर जेजनी आन्दोलनको आलोचना गरिरहेका छन् । जेनजी आन्दोलनको झण्डै तीन महिनापछि आन्दोलनलाई बैधानिकता दिने गरी सरकारले बुधबार लिखित सहमति नै गरेपछि ओली झनै रुष्ट बनेका छन् । 

सरकारले गरेको लिखित सम्झौतालाई स्वीकार नगर्ने घोषणा गरेका ओलीले सरकार नै अवैध भन्दै सम्झौतालाई ‘कलाविहिन भद्दा नाटक’ भनेका छन् । 

भदौ २३ गतेको जेनजी आन्दोलन मुलुकमा सुशासनको आवाज थियो । जसलाई तत्कालिन ओली सरकारले नै जेनजी पुस्तामाथि गोली चलाएर रक्तपात मच्चाए । त्यसको भोलिपल्ट झनै विध्वंश मच्चियो । सत्तासिन राजनीतिक दलका नेताहरु मात्र होइन, स्वयम् ओली समेत भाग्नु पर्यो । यहि परिस्थितिलाई मनन् गरेर राजनीतिक दलहरुको सुधार आवश्यक छ । 

त्यसैले ‘मेरो गोरुको बाह्रै टक्का’ छाडेर ओलीले सिंगो पार्टीलाई मात्र होइन, आफूलाई नै रुपान्तरण गर्न आवश्यक छ । त्यसैले वाकपटुता छाडेर मंसिर २७ गतेदेखि हुने एमालेको ११ औं महाधिवेशनबाट ओली आफै पनि रुपान्तरिम भएको झल्को दिन जरुरी छ । 

प्रकाशित मिति: शुक्रबार, मंसिर २६, २०८२  ०८:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update