News 24 Television
घर–घरमै पुग्दै स्वास्थ्य विशेषज्ञ, निःशुल्क स्वास्थ्य सेवाले धनगढीवासी खुशी

कैलाली । कैलालीको धनगढी उप–महानगरपालिकाले सञ्चालन गरेको विशेषज्ञ सहितको निःशुल्क स्वास्थ्य सेवा प्रभाकारी बन्दै गएको छ । नयाँ जनप्रतिनिधिहरु आएसँगै उप–महानगरपालिकाले सञ्चालनमा ल्याएको विशेषज्ञ सहितको निःशुल्क स्वास्थ्य सेवाबाट विपन्न गरिब तथा आर्थिक रुपमा कमजोर वर्गका नागरिक लाभान्वित भएका छन् ।  

गाउँ घरमै विशेषज्ञ सहितको निःशुल्क स्वास्थ्य सेवा दिने उद्देश्यले धनगढी उप–महानगरपालिकाले  सञ्चालनमा ल्याएको वडा स्वास्थ्य क्लिनिक प्रभावकारी बन्दै गएको   छ । स्वास्थ्य क्लिनिकबाट हालसम्म धनगढीका १ लाख ३३ हजार बढी नागरिकले सेवा लिइसकेका छन् ।

विशेषज्ञ चिकित्सकीय सेवाका लागि धनगढीस्थित ठुला अस्पताल पुग्नुपर्ने र ठूलो धनराशी खर्च गर्नु पर्ने उप–महानगरवासिको बाध्यतालाई निःशुल्क वडा स्वास्थ्य क्लिनिकले अन्त्य गरेको छ । 

२०७९ साल बैशाखमा धनगढी उप–महानगरपालिकामा स्वतन्त्रबाट मेयर पदमा गोपाल हमाल र उप–मेयरमा एमालेबाट कन्दकला राना निर्वाचित भए पछि उप–महानगरका १९ वटै वडामा निःशुल्क वडा क्लिनिक सुरु गरिएको हो । 

२०७९ साउन १ देखि गाँउ घरमै बिषेशज्ञ स्वास्थ्य सेवा पाएपछि स्वास्थ्य परीक्षण गर्न सहज हुनुका साथै उपचारका लागि बाहिर जानुपर्ने बाध्यता समेत अन्त्य भएको स्थानीयले बताएका छन् । हरेक महिना घर नजिकै वडा क्लिनिक आउन थालेपछि समयसंगै पैसाको पनि बचत भएको भन्दै स्थानीय हर्षित छन् । 

उप–महानगरका अनुसार ‘विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक’ साझेदारी योजनाको रूपमा सञ्चालनमा ल्याएको हो । उप–महानगरको पहलमा सुरु भएको निःशुल्क वडा क्लिनिकमा विभिन्न क्षेत्रको सहयोग रहदै आएको छ ।

जसमा दुई जना फिजिसियन दुई जना र स्त्रीरोग विशेषज्ञ डाक्टरको मासिक २÷२ लाखका दरले चिकित्सकीय शुल्क भाटभटेनी सुपर मार्केटले पाँच वर्षसम्म बेहोर्ने धनगढी उप–महानगरसँग सम्झौता गरेको छ । यस्तै प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयबाट २५ लाख बराबरको स्वास्थ्य जाँचका मेसिनरीको सहयोग उपलब्ध गराएकोे छ । 

साथै गेटा आँखा अस्पताल र धनगढी नेत्रालयले आँखा रोग सम्बन्धी उपचारमा सहयोग गर्दै आएका छन् । वडा स्वास्थ्य क्लिनिकबाट जनरल फिजिसियन सेवा, स्त्री तथा प्रसुति रोग विषेशज्ञ सेवा, आखाँ, दाँत सम्बन्धीको विशेषज्ञ सेवा उपलब्ध भइरहेका छन् । 

यस्तै प्रयोगशाला, अल्ट्रासाउण्ड, इसिजी लगायतका सेवापनि वडा स्वास्थ्य क्लिनिकले प्रदान गर्दै आएको छ । पहिले कमजोर आर्थिक अवस्थाका कारण रोग पालेर घरमै बस्ने यहाँका नागरिक समेत गाउँ घरम निशुल्क स्वास्थ्य चेकजाँच हुन थालेपछि स्वास्थ्य चेकजाँच गराउन थालेका छन् ।
उप–महानगरको वडा नम्बर १९ बाट सुरु गरिएको वडा स्वास्थ्य क्लिनिक’ प्रत्येक वडामा महिनाको एक दिन सञ्चालन भइरहेको छ । नगरवासीले स्वास्थ्य सेवाबाट बन्चित हुन नपरोस् र सबैलाई सर्वसुलभ स्वास्थ्य सेवा प्राप्त होस भन्ने उद्देश्यले निःशुल्क वडामा विशेषज्ञ चिकित्सक सहितको वडा क्लीनिक सेवाको शुभारम्भ गरिएको हो । 

जनरल फिजिसियन,स्त्रीरोग विशेषज्ञ,भिडियो एक्स–रे,ईसीजी,सुगर तथा अन्य परीक्षण,आर्थिक रूपमा कमजोर र ग्रामीण क्षेत्रका ज्येष्ठ नागरिकका लागि यो कार्यक्रम जीवनरक्षक साबित भइरहेको छ । गर्भवति, सुत्केरी र शिशु मृत्युदर शून्य बनाउने लक्ष्य अन्तर्गत निःशुल्क एम्बुलेन्स,तत्काल अस्पताल पु¥याउने व्यवस्था सहित अहिलेसम्म सयौँ गर्भवतिले राहत पाएका छन् । 

प्रकाशित मिति: शुक्रबार, मंसिर २६, २०८२  ०९:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update