News 24 Television
महोत्तरीमा शिक्षकले थाले सुधार अभियान, विद्यार्थीका घर–घरमै शिक्षक

महोत्तरी । सामुदायिक विद्यालयप्रति बढ्दै गएको अविश्वास र शिक्षक प्रतिको गुनासो सुनीसाध्य छैन । विद्यालयको शैक्षिक अवस्था सुधारका लागि वषैपिच्छे थुप्रै अभियान सञ्चालन गरिन्छ । तरपनि, शैक्षिक अवस्था र वातावरण सुदृढ़ नभएको गुनासो उस्तै छ । यहि गुनासोलाई मध्यनजर गर्दै महोत्तरीमा भने शिक्षक विद्यार्थीको घरदैलोमै पुग्ने गरेका छन । शिक्षकहरुले शुरु गरेको यो अभियानप्रति स्थानीय समेत सकारात्मक देखिएका छन । 

सामुदायिक विद्यालयको शिक्षा गुणस्तरिय भएन, शिक्षक विद्यार्थी माथि ध्यान नै दिदैनन् भन्ने भाष्य नै छ । निजी विद्यालयतर्फ बढ्दै गएको आकर्षण न्यूनीकरण गर्नकै लागि विद्यार्थीहरुलाई शैक्षिक सामग्री,पोषाक वितरण, छात्रवृति,विद्यार्थी भर्ना अभियान लगायत थुप्रै अभियान संचालन हुने गरेका पनि छन् । 

तरपनि शैक्षिक अवस्था र वातावरण सुदृढ़ नभएको गुनासो बढ्दोक्रममा छ । यहि गुनासोलाइ मध्यनजर गर्दै महोत्तरी सदरमुकाम जलेश्वर स्तिथ श्री लक्ष्मी चण्डी मुरारका उच्च माध्यमिक विद्यालयका शिक्षकहरुद्वारा विद्यार्थीको घरदैलो अभियान सुरु गरिएको छ  ।  विद्यालय समयपछि शिक्षकहरुको टोली अभिभावक र विद्यार्थीहरुलाई जानकारी नदिई उनको घरमा अचानक पुग्ने गर्छन । विद्यालयमैं शिक्षकहरु द्वारा विद्यार्थीको कक्षा अनुसार घरमा न्यूनतम  तोकिएको केहि घण्टासम्म अनिवार्य अध्ययन गर्नुभनी छात्र÷छात्राहरुलाई शिक्षकहरुले निर्देशन दिने गर्छन  । 

त्यसपछि साँझको समयमा शिक्षकहरुको टोली विद्यार्थीको घरदैलोमा पुग्ने गर्छन् । विद्यार्थीका बारेमा अभिभावकलाई जानकारी पनि गराउछन । हाल सम्म यस अभियान अन्तर्गत शिक्षकहरु ५० जना अभिभावकको घरदैलोमा पुग्दा २ जना विद्यार्थी मात्र पढ्दै गरेको बाकी सबै अन्य कार्यमा व्यस्त देखिएको अभियानमा सहभागी एक शिक्षक बताउछन ।

विद्यार्थीहरुलाई स्व अध्ययनमा केन्द्रित  गर्न र  अभिभावकलाई आफ्नो छोरा÷छोरी अध्ययन गरे नगरेको प्रति जागरूक हुन आग्रह गर्नकै लागि यो अभियानको मुख्य उद्देश्य रहेको विद्यालयका प्रधानध्यापक संजीवकुमार झा बताउछन ।

सदरमुकामकै सबभन्दा पुरानो विद्यालय वि.स २००८ सालमा स्थापना भएको  नमुना विद्यालय समेत रहेको छ । विद्यालय अहिले ७४औ वर्षपार गरि ७५औ वर्षमा प्रवेश हुन लागेकोले गर्दा विद्यालयको भौतिक संरचना अझ सुदृढ़ गर्दै यस अभियानले विद्यालयको शैक्षिक अवस्थामा सुधार ल्याउदै अभिभावक र विद्यालय बिचको सम्बन्ध अझ प्रगाढ़ बनाउने विश्वास लिइएको छ । 

सामुदायिक विद्यालयको अवस्थामा आमूल परिवर्तन ल्याउन सरोकारवाला निकाय,शिक्षक,अभिभावक र स्थानिय हातेमालो गरि अघि बढ्नु पर्ने आवश्यक रहेको भन्दै यस्ता अभियान देशभरकै सामुदायिक विद्यालयमा चलाउनुपर्ने स्थानियको भनाइ छ ।  

नेपालका सामुदायिक विद्यालय समाजका हरेक तप्काका लागि अनिवार्य र अपरिहार्य सार्वजनिक संस्था हो । यसको सुदृढ़ीकरण,विकास र प्रत्यक्ष निगरानी सम्बन्धित सबै निकायको मुख्य जिम्मेवारी पनि हो । सामुदायिक विद्यालयको समग्र विकासले समाजको प्रत्येक नागरिकको विकासमा कोसेढुङ्गा साबित हुनसक्छ । 

प्रकाशित मिति: शनिबार, मंसिर २७, २०८२  ०९:००
प्रतिक्रिया दिनुहोस्
Weather Update