News 24 Television
एमालेको शक्तिशाली सन्देश, दर्जनौं पार्टीको बलियो काँध !

काठमाडौं । ११ औं महाधिवेशनमा एमालेले विशाल शक्ति प्रदर्शन गरेको छ । भक्तपुरको सल्लाघारीमा महाधिवेशनको उद्घाटन सत्र गरेको एमालेले शक्ति प्रदर्शनसहित विभिन्न दलका नेताहरुलाई आमन्त्रण गरेर शुभकामना समेत लिएको छ । एमाले महाधिवेशनको उद्घाटन सत्र र नेताहरुले देखाएको हौसलाले अबको राजनीतिक परिस्थिति कस्तो बन्ला भन्ने चासो  देखिन्छ ।

नेकपा एमाले ११ औं महाधिवेशनमा होमिएको छ । एमाले महाधिवेशनमा होमिदै गर्दा भक्तपुरको सल्लाघारीमा विशाल जनसहभागिता देखियो । मञ्च सजावटदेखि सबै व्यवस्था चुस्त पारेको एमालेले सल्लाघारीबाट राजनीतिक सन्देश समेत दिएको छ । 

नेतृत्व चयन गर्ने भनेको एमालेले अहिलेको देशको परिस्थिति र हुनसक्ने राजनीतिक घटनाक्रमबारे समेत धेरैहदसम्म प्रष्ट पारेको छ । जसले अन्तरिम सरकारलाई धेरै ठूलो दबाब सिर्जना हुनेमा शंका देखिन्न । एमाले महाधिवेशन सत्रको उद्घाटन सत्रलाई सम्बोधन गरेका अध्यक्ष केपी ओलीले एमाले चुनावबाट नभाग्ने भन्दै अन्तरिम सरकार, जेनजी आन्दोलन र भदौ २३ र २४ गतेको घटनामाथि निर्मम टिप्पणी समेत गरेका छन् । 

ओलीले यस्तो सम्बोधन गरेपछि कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीदेखि विप्लवले समेत सम्बोधन गरे । नेकपाका नेता देव गुरुङले एकताको आवश्यकता देखे भने कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले सरकारको काममाथि प्रश्न गरे । यता, रास्वपाले आफ्ना सभापतिको गुणगानमै समय खर्चियो भने विप्लवले ओलीले भन्दै आएको सर्वपक्षिय सरकारको पक्षमा आफ्नो पार्टी रहेको दाबी गरे ।

गणतन्त्रको रक्षाको आवाज उठाएका यी नेताहरु विपरित राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भने नयाँ सहमतिको आवश्यकता औल्याए ।

सल्लाघारीमा ठूलो जनसागर नै ओर्लिएको थियो । केहि समय भक्तपुरक्षेत्रको ट्राफिक समेत अस्तव्यस्त बन्न पुग्यो । तर, एमालेको महाधिवेशन उद्घाटन समारोह लम्बेतान भने बनेन् । चुस्त व्यवस्थापन, मञ्चको आकर्षक सजावट जसमा कलाकृति तर संस्कृति समेत झल्किने गरि काम गरिएको थियो । 

यसले पनि एमालेको महाधिवेशन उद्घाटन समारोह भव्य बनेको छ । तर, नेतृत्व चयन, नेता बन्ने प्रक्रिया भने एमालेले आइतबारदेखि मात्रै औपचारिक रुपमा प्रवेश गर्नेछ । उसोतः ठूलो जनमासमा नेताहरुले जेनजी आन्दोलनलाई एकखाले प्रतिगमनको संज्ञा दिएका छन भने निर्वाचनपछि बन्ने सरकारले यसमाथि निर्मम कारबाही थाल्न सहकार्यको संकेत समेत गरेका छन् । 

प्रकाशित मिति: आइतबार, मंसिर २८, २०८२  ०९:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update