काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशमा नेतृत्वका लागि रस्साकसी चलिरहेको छ । वयोवृद्ध नेता केपी ओलीलाई अभिभावक बनेर मार्गदर्शन गर्न र नेतृत्व हस्तान्तरण गर्न दोस्रो तहका नेताहरुले निरन्तर दबाब दिइरहे पनि ओलीले नेतृत्व छाड्न मानेका छैनन् । बरु ईश्वर पोखरेल र ओलीको चुनावी भिडन्त हुँदैछ । यही बेला पार्टीका तीनजना वरिष्ठ नेताहरूले भने पदको लोभ नगरी त्यागको भावना देखाएका छन् ।
उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य तथा अनुशासन आयोगका अध्यक्ष केशव बडालले अब सक्रिय राजनीति नगर्ने भन्दै पार्टीबाट स्वेच्छिक अवकाश लिएका छन् । उनीहरुले जारी महाधिवेशनबाट कुनै पदमा उम्मेदवार नबन्ने र सक्रिय राजनीति पनि नगर्ने भन्दै अवकाश लिने घोषणा गरेका हुन् । ११औँ महाधिवेशनको बन्दसत्रमा उनीहरूले अब नेतृत्वको प्रतिस्पर्धाबाट बाहिरिएर आफ्नो अनुभवको आधारमा पार्टीलाई योगदान गर्ने बताए । तर उनीहरुले पार्टीको साधारण सदस्यता भने कायम राख्ने बताएका छन् ।
उमेर हद संशोधन गरी गरी नेतृत्वमा टाँसिरहन खोजेका ओली लगायत ७० वर्ष कटेका नेताहरुका लागि ती तीन नेताको त्याग उदाहरण हो । ओली नेतृत्वमा रहुन्जेल आफूविरुद्ध बोल्ने वा चुनौती दिनेहरुलाई पाखा लगाउँदै आएका छन् ।
पछिल्लोपटक विद्या भण्डारीको पक्षमा लविङ गरेका र विद्यालाई पार्टीमा ठाउँ नदिइएपछि आफै अध्यक्षका लागि ओलीविरुद्ध भिड्न तम्सिएका ईश्वर पोखरेललाई पाखा लगाउने काम भइरहेको छ । १०औँ महाधिवेशनबाट वरिष्ठ उपाध्यक्ष बनाइएका पोखरेलको पद नै विधान संशोधनबाट हटाइएको छ ।
आईतवार बिहान बसेको केन्द्रिय कमिटी बैठकले वरिष्ठ उपाध्यक्ष पद हटाएको हो । पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्रप्रसाद गौतमका अनुसार महाधिवेशनको बन्द सत्रबाट अध्यक्ष १ जना, उपाध्यक्ष ५ जना, महासचिव १, उपमहासचिव ३, सचिव ९, स्थायी कमिटी ३३, पोलिटब्युरो ९९ समेत गरी ३०१ सदस्यीय केन्द्रिय कमिटीको संरचना बन्ने चयन गरिनेछ ।
एमालेले १०औँ महाधिवेशनकै कमिटीअनुसार पार्टी संरचना निर्माण गर्ने भएको छ । गत भदौमा भएको दोस्रो विधान महाधिवेशनले पदाधिकारी संख्या १९ बाट घटाएर १५ कायम गर्ने र वरिष्ठ उपाध्यक्ष नराखी ३ जना मात्र उपाध्यक्ष रहने तथा स्थायी कमिटीको व्यवस्था खारेज गरी केन्द्रीय कमिटीको संख्या २५१ जनामात्र रहने प्रावधान राखेको थियो । शनिबारसम्म पनि उक्त प्रावधान यसपटक संशोधन नगर्ने बताइएको थियो । तर आइतबार बिहानै अचानक पदाधिकारी संख्या बढाउने लगायतका निर्णय लियो पार्टीकी सचिव पद्मा अर्यालका अनुसार अध्यक्ष केपी शर्मा ओलीले अध्यक्षता गरिरहनुभएका बन्दसत्रको हलबाट १९ पदाधिकारी र ३०१ जनाको केन्द्रिय कमिटी चयन गरिन लागेको हो ।
त्यसैगरी केन्दीय कमिटीको एक तिहाई सदस्यलाई समावेश गरेर पार्टीको पोलिटब्युरो निर्माण गरिने तथा पोलिटब्युरो सदस्यको एक तिहाईबाट स्थायी कमिटी निर्माण गरिने समेत अर्यालले जानकारी दिइन् । उनका अनुसार पार्टीले महाधिवेशनमा झन्डै ५ प्रतिशत कोटा युवाहरुका लागि छुट्याएको छ । युवालाई छुट्याएको क्लस्टरअनुसार भूगोल र गैरभूगोल गरी हरेक प्रदेशबाट एक–एक जना रहेका छन् । यसैगरी खुलातर्फ २ जना, जनजाति आदिवासीतर्फ २ जना, मधेसीतर्फ २ जना, दलिततर्फ एक गरी १५ जना कोटा छुट्याइएको हो ।
मतदानमार्फत नेतृत्व चयन हुने भएकाले ओली वा ईश्वरमध्ये कसको बहुमत आउला, यो नतिजाले नै देखाउनेछ । नेतृत्व हस्तान्तरणमा ओली नझुके पनि जेनजी आन्दोलनपछि एमालेमा युवाहरुका लागि कोटा छुट्याइनु सकारात्मक प्रभाव हो । जेनजीहरुले युवा पुस्ताको राजनीतिमा सक्रियता र बुढो पुस्ताको बिदाइको माग गरेसँगै केही नेताहरुले भने स्वेच्छाले पद हस्तान्तरण गरिनुलाई पनि सकारात्मक रुपमा लिइएको छ ।
