News 24 Television
ओलीसँग भिड्न ‘ईश्वर टिम’ तयार, को–को छन् प्रतिस्पर्धामा ?

काठमाडौँ । नेकपा एमालेको महाधिवेशनमा मुख्यतः पार्टीको नयाँ नेतृत्वको लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरले नै भिड्ने निश्चित भएको छ । ईश्वरले ओलीलाई टक्कर दिँदै अध्यक्षमा उम्मेदवारी दिने अन्तिम तयारी थालेका छन् । त्यस्तै ओली पनि अध्यक्षमा तेहरिने मनस्थितिमै छन् । ओलीले तेस्रो पटक अध्यक्ष बन्ने आफ्नो आकांक्षालाई पूरा गर्नकै लागि नेताहरुको असन्तुष्टिबीच आईतबार केन्द्रीय कमिटि बैठकमार्फत विधान नै संशोधन गर्ने प्रस्ताव अघि सारे । जुन प्रस्ताव जारी पार्टीको एघारौँ महाधिवेशनको बन्दसत्रबाट पारित भएको छ । यो निर्णयले एमालेको पार्टी संरचनालाई पुनः १०औँ महाधिवेशनकै स्थितिमा पु¥याएको छ । 

ओलीको यो चाललाई असन्तुष्ट नेताहरुको व्यवस्थापन र ईश्वरलाई रोक्ने रणनीतिकै रुपमा लिइँदै आएको छ । तर ईश्वर पनि ओलीलाई सहजै अध्यक्ष छाड्ने मनस्थितिमा छैनन् । ईश्वर पक्षले पनि महाधिवेशनमा आफ्नो प्यानल नै बनाएर निर्वाचनमा होमिने तयारी गरेको छ । जसअनुसार नै ओलीलाई काउण्टर दिन ईश्वरले आफ्नो टिम खडा गरेको छन् । यो टिमका उम्मेदवारहरुको नाम लगभग टुंगिसकेको छ ।  

ईश्वरको टिममा को–को ? 

सोमबार बिहान थापागाउँमा बसेको ईश्वर पोखरेल समूहको बैठकले ओलीविरुद्धको टिम तय गरेको छ । जसमा अध्यक्षका लागि ईश्वर पोखरेल प्रतिस्पर्धामा उत्रिँदैछन् । यस्तैगरी उपाध्यक्षमा गोकर्ण विष्ट, परशुराम मेघी गुरुङ, विन्दा पाण्डे र अरुण नेपाल उम्मेदवार बन्ने पक्का भएको छ । यस्तै महासचिवमा सुरेन्द्र पाण्डेको नाम तय भएको छ । यस्तै उपमहासचिव पदमा योगेश भट्टराई तथा बैजनाथ चौधरीको नाम तय भएका छन् । 

त्यस्तैगरी सचिवमा रचना खड्का, विनोद ढकाल, कर्ण थापा, ठाकुर गैरे, इन्द्रलाल सापकोटा, पुरुषोत्तम पौडेल लगायतको नाम लगभग टुंगिएको छ । यसका साथै सचिव पदकै सूचीमा कृष्णगोपाल श्रेष्ठ र गोकुल बास्कोटाको नाम पनि राखिएको छ । उता अध्यक्ष केपी शर्मा ओली पक्षले पनि टिम निर्माणलाई तीव्रता दिइरहेको छ । यद्यपि ओली पक्षमा पदका आकांक्षी धेरै हुँदा टिम निर्माणमा सकस परिरहेको छ । 
 

प्रकाशित मिति: सोमबार, मंसिर २९, २०८२  २०:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update