News 24 Television
किन्तु, परन्तु भनेर निर्वाचनबाट पन्छिने अवस्था छैन : रामप्रसाद भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनबाट किन्तु परन्तु भनेर पछि हट्ने अवस्था नरहेको बताए ।

मंगलवार सरकारसँग निर्वाचन आयोगले गरेको छलफलका क्रममा बोल्दै उनले यस्तो बताए। उनले कसैको कारणले निर्वाचन बिथोलियो भनेर अरुलाई आक्षेप लगाएर मुक्त हुने अवस्था नरहेको भन्दै निर्वाचन गराउन सबै लाग्नुपर्ने बताए। आगामी फागुन २१ गतेका लागि सरकारले तोकेको निर्वाचन विकल्पबिहिन निर्वाचन भएको दाबी गरे । हरेक क्षेत्र, तह र तप्काबाट गहन रुपमा लिएर निर्वाचन सम्पन्न गर्नुपर्ने दायित्व रहेको बताए ।

 सामाजिक सञ्जाललाई कति हदसम्म प्रचारप्रसार गर्न दिने, नकारात्मक प्रचारप्रसार गर्दा कसरी नियन्त्रण गर्ने भन्ने बारेमा सरकारले सोच्न जरुरी रहेको बताए।एआई प्रविधिको दुरुपयोगबारे पनि सरकारले गहन रुपमा छलफल गर्न जरुरी रहेको बताए ।
 
उनले भने, ‘शुरुमै हामीले सोसल मिडियालाई कति हदसम्म जान दिने र सोसल मिडियाले कतिसम्म प्रचार गर्न पाउने, सोसल मिडियाले कुनैपनि उम्मेदवारको विरुद्धमा कतिसम्म प्रचार गर्न दिने यदी त्यस्तो नकारात्मक प्रचारप्रसार गर्दा त्यसलाई कसरी नियन्त्रण गर्ने भन्ने लगायत बारेमा सरकारले सोच्न जरुरी छ । यो विषय अझ जटिल छ । अहिले एआई प्रविधि जुन आएको छ, झन ठूलो जटिलता थपेको छ । यसलाई नियन्त्रण गर्ने उपाय त्यही किसिमको प्राविधिक व्यक्तिहरुलाई समेटेर अघि बढ्न नसके ति विषयहरु जटिल हुन्छन् । निर्वाचन आयोगले निर्वाचनामैत्री वातावरण श्रृष्टि गरेर निर्वाचनको वातावरण बनाउने हो । निर्वाचनका लागि निष्ठाका साथ प्रवेश गर्ने हो । 

कुनै पक्षबाट त्यसमा विरोधाभाष आयो र विरुद्धमा कुनै प्रतिक्रिया भयो भने त्यसलाई नियन्त्रण गर्ने काम निर्वाचन आयोग, सरकार, राजनीतिक दल, मतदाता, नागरिक समाजका अगुवा सबैको भुमिका हुन्छ । निर्वाचनमा कुनै किन्तु, परन्तु भनेर पछि हट्यो भने मेरो होइन, उसको कारणले निर्वाचन बिथोलियो भनेर अरुलाई आक्षेप लगाएर मुक्त हुने अवस्था हुँदैन । यो गर्नैपर्ने विकल्पविहिन निर्वाचन हो । यसलाई हरेक क्षेत्र, तह र तप्काबाट गहन रुपमा लिनुपर्छ ।’

उहाँले मतदाता नामावली उल्लासपूर्ण वातावरणमा सम्पन्न भएको र पुसको १५ गतेसम्म अन्तिम मतदाता नामावली प्रकाशन गर्ने बताए। सबै राजनीतिक दलहरुसमेत प्रतिष्पर्धामा सहभागी हुनका लागि निर्वाचनको लक्षित दायरामा प्रवेश गरेर निर्वाचनमा जाने बताइसकेकाले निर्वाचनको वातावरण बनिसकेको बताए । मुलुक निर्वाचनमय भइसकेको दाबी गरे । समयमै निर्वाचन हुने र निर्वाचनको विकल्प नभएको बताए। 

 

प्रकाशित मिति: मंगलबार, पुस १, २०८२  १७:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update