News 24 Television
कांग्रेसमा महाधिवेशन भन्दा चुनावकै चटारो

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र नेतृत्वका लागि राजनीतिक मनोवैज्ञानिक युद्ध चुलिएको छ ।

पार्टी नयाँ नेतृत्वका लागि शेखर कोइराला, महामन्त्री गगन थापादेखि चन्द्र भण्डारीले उम्मेदवार बन्ने घोषणा गरे पनि कांग्रेस संस्थापन पक्षबाट औपचारिक उम्मेदवारको टुंगो लागेको छैन । यद्यपी कांग्रेस सभापति शेरबहादुर देउवाले वर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई नै आर्शिवचन दिएको भन्दै चर्चा चुलिएको छ ।

उता, चुनावी दबाब र विवादित सदस्यता प्रक्रियाले महाधिवेशनको तयारीमा ठूलो अवरोध पुर्याउँदै कांग्रेसलाई अनिश्चितताको खाडलमा पु¥याएको छ । 

कार्यवाहक सभापति पूर्णबहादुर खड्काको भूमिकालाई लिएर नेपाली कांग्रेसभित्र नयाँ राजनीतिक समीकरणको चर्चा चुलिएको छ । 

सभापति शेरबहादुर देउवाको समर्थनसहित १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने वा देउवाको साथ नपाए आफ्नै बलबुतामा प्रतिस्पर्धा गर्ने यी दुई विकल्पबीच खड्काको राजनीतिक रणनीति केन्द्रित रहँदै आएको थियो । 

पछिल्लो समय भने देउवाले खड्कालाई समर्थन गर्ने संकेत दिएको दाबी संस्थापन पक्षका नेताहरूले गर्न थालेका छन् । विगतमा पनि कार्यवाहक सभापतिले नै नेतृत्व लिएको नजिर नेपाली कांग्रेसमा छ । 

सभापतिका प्रमुख तीन दाबेदार !

देउवाले आफैं खड्कालाई सभापतिमा सघाउन आग्रह गरेको बताइन्छ । खड्काले औपचारिक उम्मेदवारी घोषणा नगरे पनि उनका समर्थकहरूले सामाजिक सञ्जालमार्फत प्रचार सुरु गरिसकेका छन् । 

संस्थापन पक्षका स्वाभाविक उम्मेदवारका रूपमा खड्काको नाम अघि आए पनि सबै पूर्व पदाधिकारी र प्रभावशाली नेताहरू उनको पक्षमा देखिदैनन् । 

कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, डा. शशांक कोइराला र गोपालमान श्रेष्ठलगायत नेताहरू खड्काप्रति सकारात्मक छैनन् । यही पृष्ठभूमिमा १५औँ महाधिवेशनका लागि शेखर कोइराला, गगन थापा र चन्द्र भण्डारीले अनौपचारिक रुपमा सभापतिको दाबेदारी प्रस्तुत गरेका छन् । 

संस्थापनको आधिकारिक उम्मेदवारको रुपमा वर्तमान कार्यवाहक सभापति खड्कालाई अघि बढाएमा संस्थापन र इतर पक्षको प्यानल के कसरी खडा हुन्छ अहिले नै भन्न मुश्किल छ । 

महाधिवेशनभन्दा चुनावतर्फ पार्टीको ध्यान

कांग्रेसले १५औँ महाधिवेशन पुस २६ देखि २९ गतेसम्म गर्ने औपचारिक निर्णय गरिसकेको छ । तर, पार्टीको ध्यान भने महाधिवेशनभन्दा आगामी निर्वाचनतर्फ केन्द्रित देखिन्छ । प्रतिनिधिसभा र राष्ट्रियसभाका उम्मेदवार सिफारिस गर्न केन्द्रीय समितिले निर्देशन दिएपछि क्षेत्रीय र जिल्ला समितिहरू धमाधम नाम सिफारिस गर्न व्यस्त छन् । 

यसले तोकिएको मितिमा महाधिवेशन हुन्छ कि हुँदैन भन्ने आशंका पार्टीभित्र बढाएको छ । मंसिर ६ गते बसेको केन्द्रीय समिति बैठकले निर्वाचनमा केन्द्रित हुने निर्णय गरेसँगै कांग्रेसका अधिकांश राजनीतिक गतिविधि चुनावमुखी बनेका नेताहरू बताउँछन् । 

महाधिवेशनका लागि एक महिनाभन्दा कम समय बाँकी रहँदा समेत आवश्यक तयारी पूरा नहुनुले तोकिएकै मितिमा महाधिवेशन हुने सम्भावना कमजोर देखिएको छ । अर्कोतर्फ निर्वाचन सर्ने सम्भावना भएमा काँग्रेसले पनि महाधिवेशन सार्ने अवस्था नबन्ला भन्न सकिदैन ।  

कार्यतालिका बिथोलियो, सदस्यता प्रक्रिया नै अन्योलमा 

कांग्रेसले पुस २६, २७ र २८ गते महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका बनाएको थियो । तर, क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरणसम्बन्धी विवादका कारण उक्त कार्यतालिका बिथोलिएको छ । 

क्रम संख्या नखुलेका फारम फिर्ता लिने र २४ घन्टाभित्र नयाँ पठाउने निर्णय क्रियाशील केन्द्रीय छानबिन समितिले पुस १ गते मात्रै सार्वजनिक गरेको थियो । महामन्त्री गगनकुमार थापाको संयोजकत्वमा गठित समितिले मंसिर २० गतेभित्रै यो प्रक्रिया टुंग्याउनुपर्ने भए पनि पुसको पहिलो सातासम्म फारम जिल्लामा पठाउने काम पूरा हुन सकेको छैन । 

यसअघि रातारात जिल्लामा पठाइएका फारम पुनः फिर्ता लिने निर्णयपछि जिल्लास्तरमा विवाद र अन्योल थपिएको छ । कार्यतालिकाअनुसार मंसिर मसान्तभित्र सम्पन्न हुनुपर्ने अधिकांश काम अझै अधुरै छन् । वडा, पालिका र क्षेत्रीय तहमा नयाँ क्रियाशील सदस्यताको प्रक्रिया नै अन्योलमा परेको छ । नेपाली जनसम्पर्क समितिले गर्नुपर्ने सदस्यता नवीकरण र नयाँ वितरणको काम पनि तोकिएको समयमै सम्पन्न हुन सकेको छैन ।

महाधिवेशन कि चुनाव ? नेतृत्वको द्विविधा

महाधिवेशनको तयारी कमजोर र चुनावको चटारो तीव्र बन्दै जाँदा कांग्रेस नेतृत्व द्विविधामा देखिएको छ । पुसमा महिनामै महाधिवेशन आह्वान गरेको कांग्रेस आगामी प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीका उम्मेदवारहरु सिफारिस गर्नमै ब्यस्त छ । कांग्रेसमा एकातिर नेतृत्व परिवर्तनको दबाब छ भने अर्कोतिर निर्वाचन व्यवस्थापनको चुनौती । यही द्वन्द्वले महाधिवेशन थप पर सर्ने कि सीमित सहमतिमै सम्पन्न हुने भन्ने प्रश्नलाई झन् गहिरो बनाएको छ । 

प्रकाशित मिति: बिहीबार, पुस ३, २०८२  ०९:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update