News 24 Television
चुनाव नभए मुलुकको राजनीतिक कोर्ष फेरिने, के छ दल र सरकारको तयारी ?

काठमाडौं । फागुन २१ मै निर्वाचन होला ? शंका चलिरहेकै बेला केहि नेताहरुले बैशाखमा निर्वाचन गर्नुपर्ने भनिरहेका छन् । जबकी अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति नै फागुन २१ मा निर्वाचन सम्पन्न गराउन भन्दै दिइएको छ ।

यसरी कार्कीले पाएको नियुक्तिमै समय तोकिनुले फागुन २१ मा निर्वाचन हुन नसकेमा अन्तरिम सरकार गठन अवैध हुने र संसद पुनस्र्थापना हुने निश्चित हुनेछ । 

जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारले फागुन २१ को डेडलाइनमै निर्वाचन सम्पन्न गराउनुपर्नेछ । निर्वाचन सम्पन्न गराउन सरकारले अनेक तयारी गरिरहेको भनेपनि राजनीतिक दलका नेताहरुले फागुनमा निर्वाचन नहुने दाबी गर्दै आएका छन्। 

सुरक्षा निकायले पनि निर्वाचन चुनौतीपूर्ण हुने र जेनजी र राजनीतिक दलबीचको झडप नै समस्या हुने भनिरहेको छ । यस्तोमा सरकारले कसरी निर्वाचन गराउँछ भन्ने चासो चलिरहेको बेला नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले फागुन २१ मा निर्वाचन हुन नसकेमा अन्तरिम सरकारको औचित्य नै सकिने भनेका छन् । 

दलहरुले नै फागुन २१ मा निर्वाचन हुनैपर्ने भनिरहेका बेला सरकारले समयमै निर्वाचन सम्पन्न गराउन सक्ला ? शंकाहरु देखिन्छन् । कांग्रेसको केहि पक्ष र एमाले निर्वाचनको पक्षमा उभिन मानिरहेको छैन भने सर्वोच्च अदालतमा समेत मुद्दा विचाराधिन अवस्थामा छ । यस्तो स्थितिमा सरकारले भने निर्वाचनलाई नै केन्द्रमा राख्नुपर्ने बाध्यता छ । 

निर्वाचनको सुरक्षादेखि अन्य विषयमा सार्वजनिक रुपमै प्रश्न उठेका छन्। सुरक्षा निकायले पनि सुरक्षा चुनौती जेनजी र राजनीतिक दलबीच नै हुने भनेको बेला सरकारले निर्वाचनको वातावरणलाई निष्पक्ष र भयरहित बनाउनु प्रमुख दायित्व हुन्छ । यस्तोमा सरकारले पनि निर्वाचनमा सबै सुरक्षा मिलाउने दाबी भने गरिरहेको छ । 

सरकारले निर्वाचन गराउने दाबी गरिरहेपनि शंका र दलहरुको चाहना नभएको देखिदा समस्या भने देखिन्छ । तर, अन्तरिम सरकारले फागुन २१ मा निर्वाचन सम्पन्न गराउन नसक्ने स्थिति बनेमा भने मुलुक अर्को कोर्षमा जाने संकेत बलिया बन्दै गएका छन् ।

के छ आयोगको तयारी ?

आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको दिन सवारी आवागमनमा रोक नलगाउने गरी निर्वाचन आयोग तयारीमा जुटेको छ । मंगलवार आयोगमा आयोजित छलफलमा बोल्दै निर्वाचन आयुक्त सगुन शमशेर जबराले विगतका निर्वाचनहरुमा दलहरुले अनावश्यक व्यक्ति ओसारपोसार गर्ने आशंकाका कारण सवारी आवागमनमा रोक लगाउने गरिए पनि यो पटक यातायात बन्द नगरिकनै निर्वाचनको तयारीमा आयोग जुटेको बताए ।

विश्वका कतिपय मुलुकहरूमा यातायात बन्द गरेर निर्वाचन नहुने अभ्यास रहेको भन्दै नेपालमा पनि सोहीअनुसार अघि बढ्ने तयारी भइरहेको उनीहरुको तर्क रहेको छ ।

 

प्रकाशित मिति: बिहीबार, पुस ३, २०८२  ०९:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update