काठमाडौं । विघटित प्रतिनिधिसभाको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले संगठन विस्तारलाई तीब्रता दिइरहेको छ । देशभरका सातवटै प्रदेशमा पार्टी प्रवेश कार्यक्रममा रास्वपा नेताहरु व्यस्त छन् । आगामी चुनावमा मुलधारको राजनीतिक दल बन्ने तयारी रास्वपाले गरिरहेको छ ।
रास्वपाले पार्टी एकतादेखि चर्चित अनुहारलाई घण्टीघरमा स्वागत गरिरहेको छ । बुधबार पत्रकार राजिव खत्रीलाई पनि रास्वपाले स्वागत गरेको छ । आलोचकहरु भने भाइरल म्यानको पार्टी भन्दै रास्वपाको उछितो काढ्ने गर्छन् । २०७९ मंसिर ४ को आमचुनावमा २० सिट सहित मुलुकको चौथो ठुलो शक्तिका रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा बैकल्पिक राजनीतिको केन्द्र बन्ने दाउमा छ ।
मुलुधारको राजनीति भन्दा बाहिर रहेका दल र चेत बोकेकाहरुलाई एकट्ठा गर्दै प्रमुख दल बन्ने महत्वकांक्षी योजना रास्वपामा देखिएको छ । त्यसको पुष्टि विवेकशिल साझा रास्वपामा विलय देखि पुर्व–एआइजी विश्व पोखरेल र चर्चित पत्रकार राजिव खत्री पार्टी प्रवेशले गर्छ ।
बुधबार चर्र्चित पत्रकार खत्रीले दुई दशक लामो पत्रकाररितालाई विट मार्दै रास्वपा प्रवेश गरेका हुन् । पार्टी केन्द्रीय कार्यालय चमतीमा उनलाई भब्य स्वागत गरियो । मंगलबार मात्रै न्युज २४ टेलिभिजनबाट विदाई गरिएका खत्री प्रश्न गर्ने पेशाबाट अब जवाफ दिने ठाउँमा पुग्दैछन् ।
यता, रास्वपाका आलोचकहरुले भाइरलम्यानको पार्टी भनेर कटाक्ष पनि गर्ने गरेका छन् । तर रास्वपा नेताहरु भने यस्तो स्वीकार्दैनन् ।
पार्टी प्रवेशको लाइनमा नायक प्रदिप देखि युट्युवर भोजराजसम्म
सहकारी घोटाला प्रकरणको फन्दामा परेका रास्वपा सभापति रवि लामिछाने नख्खु कारागारमा छन् । पुर्पक्षका लागि कारागारमा रहेका रविलाई भेट्न नेता, कलाकार देखि पुर्वप्रशासकको लर्काे लागिरहेको छ । मंगलबार मात्रै नेपाली सिने क्षेत्रका नायक प्रदिप खड्काले नख्खु पुगेर भेट गरे ।
भेटपछि उनले दिएको अभिब्यक्तिले उनी रास्वपा प्रवेश गर्न आतुर छन् भन्ने देखिएको छ । पत्रकारको प्रश्नमा संचारमन्त्री बन्न योग्य रहेको जवाफ दिएका प्रदिपले ढिलो चाँडो रास्वपा प्रवेश गर्ने संकेत गरेका छन् ।
उता, नेपाली सामाजिक संजालका चर्चित अनुहार मध्येका एक तथा युट्युवर भोजराज थापा पनि लगन कुरेर बसेको चर्चा भइरहेको छ । सार्वजनिक रुपमा उनले दिने अभिब्यक्तिले पनि उनी रास्वपा प्रवेश गर्न तत्पर रहेको अथ्र्याउछ ।
रवि, बालेन र कुलमान मिलन के हुँदैछ ?
नेपाली राजनीतिमा बैकल्पिक शक्तिको एकता अनिवार्य बनेको रास्वपाको ठहर छ । त्यहि अनुसार रास्वपा नेताहरु संवादमा जुटिरहेका छन् । एकताका लागि वार्ता समिति नै बनाएर होमिएको रास्वपाले कुलमान घिसिङ संरक्षक रहेको उज्लालो नेपाल पार्टी र काठमाडौँ महानगरका मेयर बालेन शाहसंग समेत घनीभुत छलफल नगरेको होइन् तर सार्थकता पाउन सकेको छैन । रवि, कुलमान र बालेन एकता नजिक पुगेको चर्चा रास्वपा नेताहरुले नै गरेका थिए । तर फेरि तत्काल एकता टरेको बताइयो ।
उज्यालो नेपाल पार्टीले अहिले एकता संभव नरहेको धारणा सार्वजनिक गरेपछि एकता टरेको हो । तर नेताहरु हल्ला भन्दा पनि काम गरेर देखाउने दाबी गरिरहेका छन् । नेताहरुले पार्टी नै एकता नभएपनि चुनावी एकता गरेरै भएपनि पुराना राजनीतिक शक्ति पाखा लगाउने विश्लेषण गर्न थालेका छन् ।
कुलमानले समेत यसलाई पुष्टि हुनेगरी पटक पटक अभिव्यक्ति दिदैं आइरहेका छन् । तसर्थ चुनावसम्म यी तीन वैकल्पिक शक्ति एकै ठाउँमा उभिए आश्चर्य मान्नु पर्दैन ।
