News 24 Television
ओलीका विश्वासपात्रले हारे, माओवादी पृष्ठभूमिका नेताले जिते

काठमाडौं । तत्कालिन नेकपाबाट एमालेतिर लागेका माओवादी पृष्ठभूमीका दुई प्रभावशाली नेताहरु पदाधिकारीमा निर्वाचित भएका छन् । एमालेमा रहेर पनि खासै चर्चामा नआउने गरेका नेता रामबहादुर थापा बादल र सुदूरपश्चिमका अर्का नेता लेखराज भट्ट एमालेको ११ औं महाधिवेशनबाट राम्रो मतका साथ निर्वाचित भएका छन् । 

नेकपा एमालेको ११ औं महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल छुट्टाछुट्टै प्यानल बनाएर प्रतिष्पर्धामा उत्रिएका थिए । 

गत भदौमा ललितपुरको गोदावरीमा सम्पन्न विधान अधिवेशनबाट उमेर हदको प्रावधान हटाएर ओलीले तेस्रो पटक निर्विरोध अध्यक्ष बन्न योजनामा थिए । दशौं महाधिवेशनमा भीम रावल ओलीको बाधक भएझै मंसिर २७ गतेदेखि शुरु भएको ११ औं महाधिवेशनमा ईश्वर पोखरेल प्रतिष्पर्धी बन्न पुगे । 

दशौं महाधिवेशनमा रावल एक्लो प्रतिष्पर्धीजस्तो देखिए पनि ईश्वर प्यानलगत रुपमा नै मैदानमा खडा भएका थिए । 

पार्टी राजनीतिमा पुनरागमन गर्ने पूर्व राष्ट्रपति विद्या भण्डारीको चाहनालाई ओलीले निषेध गरेपछि बन्दै गरेको फरक गुट ११ औं महाधिवेशनसम्म आइपुग्दा ईश्वर प्यानलको रुपमा खडा भएको थियो । 

जेनजी आन्दोलनपछि एमालेमा पुनर्गठन र रुपान्तरणको बहस चर्किए पनि माओवादी पृष्ठभूमिका दुई प्रभावशाली नेताहरु रामबहादुर थापा बादल र लेखराज भट्ट ओलीकै बचाउमै लागे । ओलीको रक्षामा खुला रुपमा लागेर एमालेको ११ औं महाधिवेशनमा पनि ओलीकै प्यानलमा रहेर मैदानमा उत्रिएका उनीहरु पदाधिकारीमा सानदार मतले निर्वाचित भएका छन् । 

गुरु बरालको पराजय, बादलको जित 

ओली समूहबाट उपाध्यक्षमा रहेका बादल १५ सय १६ मत ल्याएर निर्वाचित भएका हुन् । पृथ्वी सुब्बा गुरुङले पदाधिकारीमा सर्वाधिक मत ल्याउँदा उपाध्यक्षकै अर्का प्रत्यासी विष्णु पौडेलले १६ सय ७५ मत प्राप्त गरे । 

५ उपाध्यक्षका लागि भएको निर्वाचनमा ११ जना प्रतिष्पर्धामा उत्रिएका थिए । ओली प्यानलकै गुरु बराल पराजित भए भने रघुजी पन्तले १२ सय ५८ मत प्राप्त गरि मुश्किलले निर्वाचित बन्न पुगे । बराल राष्ट्रियसभामा पनि गोल थुत्दा पुराजित हुन पुगेका थिए । 

उपमहासचिवमा लेखराजको छलाङ, विष्णु रिमालको हार

माओवादी पृष्ठभूमिकै अर्का नेता लेखराज भट्ट राम्रा मत ल्याएर उपमहाचिवमा निर्वाचित भएका छन् । ओलीकै दाहिने हात मानिने विष्णु रिमालले उपमहासचिवमा हार ब्यहोर्दा भट्ट ७ प्रतिष्पर्धी मध्ये सबै भन्दा बढी मत ल्याएर निर्वाचित भए । 

भट्टले १४ सय ५२ मत प्राप्त गरे । ओलीका विश्वासपात्र रिमाल उपमहासचिव पदमा मात्र होइन, केन्द्रीय सदस्य पदमा समेत पराजित भए । तर माओवादी पृष्ठभूमिका भट्टले केन्द्रीय सदस्यमा पनि ८ सय ७ मत ल्याएर निर्वाचित भएका छन् । 

भट्टलाई एमालेको चितवनमा भएको दशौं राष्ट्रिय महाधिवेशनबाट सचिवमा निर्वाचित गरिएको थियो । उपाध्यक्षमा निर्वाचित रामबहादुर थापा बादल र उपमहाचिवमा निर्वाचित तीन प्रतिष्पर्धी भन्दा बढी मतले विजयी भएका भट्टले एमालेमा सर्वस्वीकार्य भएको सन्देश दिएका छन् । 

प्रकाशित मिति: शुक्रबार, पुस ४, २०८२  ०९:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update