काठमाडौँ । नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिताको प्रमुख आतिथ्यतामा त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह हुने भएको छ ।
विश्वविद्यालयद्वारा आज आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार यही पुस १० गते दशरथ रङ्गशालामा हुने समारोहमा नोबेल पुरस्कार विजेता काजिता प्रमुख अतिथिका रूपमा सहभागी हुने छन् । काजिताले सन् २०१५ को भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार प्राप्त गरेका थिए । त्रिवि उपकुलपति प्रा.डा. दीपक अर्यालले नोबेल पुरस्कार विजेताको सहभागिताले विश्वविद्यालयको अन्तरराष्ट्रिय गरिमा बढ्ने बताए ।
सम्मेलनमा यसपटकको दीक्षान्त समारोहमा कुल १६ हजार ३०० भन्दा बढी विद्यार्थी र तिनका अभिभावकसहित ४१ हजार सहभागी हुनेछन् । विश्वविद्यालयबाट स्नातक, अधिस्नातक, स्नातकोत्तर, दर्शनाचार्य र विद्यावारिधि तहसमेत गरी ८९ हजार १९१ विद्यार्थी उत्तीर्ण भएका थिए । यसमध्ये १६ हजार ३८० विद्यार्थीले दीक्षान्त समारोहमा सहभागिताका लागि निवेदन दिएका थिए ।

दीक्षान्त समारोहको अध्यक्षता प्रधानमन्त्री एवं विश्वविद्यालयकी कुलपति सुशीला कार्कीले गर्ने जानकारी पनि कार्यक्रममा दिइयो । त्यसैगरी शिक्षामन्त्री एवं सहकुलपति महावीर पुन दीक्षान्त समारोहको विशेष अतिथिका रूपमा र ५२ जना त्रिवि सभासदहरु दीक्षान्त पोशाक (गाउन)सहित उपस्थित हुनेछन् ।
कार्यक्रममा विभिन्न सङ्काय तथा तहको परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने ११ जना छात्रा तथा १४ जना छात्रले पदकसमेत पाउनेछन् । त्रिविबाट यसपटक मानविकीका १४ हजार ८५१ व्यवस्थापनका ४३ हजार ६१०, कानुन संकाय दुई हजार ३३५ र शिक्षातर्फ १६ हजार ४६७ जना उत्तीर्ण भएका थिए ।


