काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले शनिवार शक्ति प्रदर्शन गर्ने भएको छ । बागमती प्रदेशस्तरीय शक्ति प्रदर्शन गर्न लागेको नेकपाले विशाल जनमास उतार्ने भनेको छ भने देशका अन्य प्रदेशमा शक्ति प्रदर्शन गरिसकेको नेकपाले बागमतीमा कस्तो रणनीति अख्तियार गर्ला ? यो चासोमा छ । तर, नेकपाको शक्ति प्रदर्शनमा नेताहरुले नयाँ विषयमा प्रवेश नगरेको भन्दै आलोचना भने भइरहेको छ ।
नेपाली कम्युनिस्ट पार्टीले बागमती प्रदेश, सम्पर्क समन्वय प्रदेश र विशेष प्रदेशको संयुक्त आयोजनामा हुन लागेको सन्देश सभा भव्य बनाउने दाबी गरिएको छ ।
नेताहरुले मकवानपुरको हेटौडा र अन्य गरि बागमतीमै तीन कार्यक्रम गर्ने भनेपनि अन्ततः विशाल सभाको आयोजना गर्ने भन्दै मकवानपुरमा आयोजना गरेको कार्यक्रम नै स्थगित गरेर काठमाडौंको भृकुटीमण्डपमा सभा आयोजना गर्दैछन् । जसमा तत्कालीन माओवादी केन्द्र बागमती प्रदेश अध्यक्ष समेत रहेका नेता सरल सहयात्रीले सभामा आउन अपिल गरेका छन् ।
नेकपाले काठमाडौंमा आयोजना हुने सभालाई प्रचण्ड, माधव नेपालसहितका शीर्ष नेताहरुले सम्बोधन गर्ने भनेका छन भने नेकपाले फागुन २१ का लागि तोकिएको निर्वाचन समेत समयमै सम्पन्न हुनुपर्ने भन्दै आएको छ ।
काठमाडौंमा केहिदिन पहिले एमालेले गरेको शक्ति प्रदर्शनलाई समेत चुनौती दिनुपर्ने बाध्यतामा परेको नेकपाले भृकुटीमण्डपको सभालाई धेरै सहभागीतामा लैजानुपर्ने बाध्यता समेत देखिन्छ । तर, सहभागीता कस्तो रहला ? यो चासोको विषय बनेको छ ।
सन्देशमा नेताहरुको झर्को लाग्दा भाषण
नेकपाले देशका विभिन्न प्रदेशमा एकता सन्देश सभा गरिसकेको छ । तर, सभामा नेताहरुले दिने भाषण भने नयाँपना आउन सकेको देखिन्न । उनीहरुले जेनजी आन्दोलन, त्यसको व्याख्या, संसद विघटन र एकताबाहेकका कुरामा नयाँ सन्देश दिन सकेका छैनन् ।
सभामा मानिसलाई बोलाइसकेपछि दिने सन्देशले जनता आफै जागरुक बन्नुपर्नेमा के यस्तो सन्देश सभाले सकारात्मक ऊर्जा दिएको छ ? प्रश्न उठिरहेका छन् । संसद विघटनपश्वात नेपाल विशाल संकटमा छ ।
निर्वाचन तोकिएको समयमै हुन नसकेमा यसका विभिन्न प्रभाव देखिन थाल्नेछन् । तर, नेताहरुले आफू र आफ्नो पार्टी केन्द्रीत विषयबाहेकमा टिप्पणी र भाषणमा नयाँपना दिन सकेको देखिन्न । मुलुक गम्भीर संकटमा रहेको बेला राजनीतिक दलका नेताहरुले दिने सन्देश कस्तो हुने ? उनीहरुले दिएको सन्देशले जनताको जीवनमा कसरी फेरबदल ल्याउन सक्छ ? यस्ता विषयमा नेताहरुले ध्यान दिन नसक्दा भाषण, सन्देश सभा जस्ता विषय निरस बन्ने गरेका छन् ।
उसोतः विभिन्न प्रदेशमा जम्मा भएका सर्वसाधारण पनि नेताहरुको सन्देश सभाको भाषणले खास नयाँपना पाउने गरि जान सकेका छैनन् । यस्तोमा नेताहरुले दीर्घकालीन समाधान, देश संकटमा पर्नुका कारणसहित समाधान जस्ता विषयमा जोड दिनुपर्नेमा यस्तो हुन नसक्दा समस्या र प्रश्नहरु जिवितै रहन पुगेका छन् ।
सभाको औचित्य
राजनीतिक दल वा अन्य जो कोहिले आयोजना गर्ने यस्ता सभा कहिलेसम्म रहलान ? विशाल जनसहभागीता सशरिर उपस्थित भएर भाषण सुन्ने र गर्ने परम्परा कहिलेसम्म रहला ? प्रविधिको विकाससंगै प्रश्नहरु उब्जिएका छन् । प्रविधिको विकासले मानिसहरु यस्ता सभा सम्मेलनमा ध्यान दिन छाडेका छन भने प्रविधिमै रम्न थालेका छन् ।
हुनतः डिस्कर्डमा भएको छलफलले नै केपी ओली नेतृत्वको सरकार २७ घण्टामै ढालेको नेपालको उदाहरण आफैमा गम्भीर विषय हो । यस्तोमा अब भर्चअल सभाहरु हुने र ती सभाहरु नै निर्णायक बन्ने खतरा बढ्न थालेको छ ।
राजनीतिक दलहरुले आयोजना गर्ने यस्ता सभा महंगामात्रै नभई भौतिक रुपमै उपस्थित हुने परम्परा जटिल बन्दै गएको छ भने सभा आयोजना गर्नेले अनेक आरोप समेत खेप्नु परिरहेको छ ।
मासु भात बाँडेको आरोपदेखि पेट्रोल बाँडेको आरोपले सभामा सहभागी हुनेहरुमा समेत मनोबल गिर्ने खतरा बढिरहेको बेला प्रविधिमैत्री बन्दै गोप्य सभाहरु अब भर्चुअल माध्यममै हुने अवस्था बन्दै गएको छ ।
यो ट्रेन्ड विश्वव्यापी रुपमा नै बढिरहेको छ भने सशरिर हुने सभाको औचित्यमाथि समेत प्रश्न उठ्दै आएको छ । यसैमा यस्ता सभामा भाषण गर्ने र सन्देश दिन चाहनेले बहकिने, जथाभावी बोलिदिने, घण्टौ समय खर्चिने जस्ता पट्यारलाग्दा विषयले पनि प्रविधिको प्रयोग र त्यहिबाट धारणा निर्माणको संकेतहतु बढ्न थालेका छन् ।
