कैलाली । राष्ट्रिय अपाङ्ग महासंघ नेपालको विवाद सतहमा आएको छ । महासंघका केन्द्रीय अध्यक्ष देवीदत्त आचार्यले सुदूरपश्चिम प्रदेश समितिमा हस्तक्षेप बढाएपछि महासं विवादित बनेको हो ।
राष्ट्रिय अपांग महासंघ नेपाल, सुदूरपश्चिम प्रदेशले केन्द्रीय अध्यक्ष आचार्यद्वारा प्रदेश समितिको वैधानिकतामाथि प्रश्न उठाउँदै बैंक खाता बन्द गराएपछि आक्रोशित समूहले प्रदेश समितिको कार्यालयमा तालाबन्दी गरेका छन् ।
विभिन्न ११ बुँदे माग राख्दै राष्ट्रिय अपाङ्ग महासंघ सुदूरपश्चिम प्रदेश कार्यालयमा तालाबन्दी गरिएको छ । केन्द्रीय अध्यक्षले प्रदेश समितिसँग सहकार्य नगरेरै मनोमानी रुपमा कार्यक्रम गर्ने गरेको भन्दै सुदूरपश्चिम प्रदेश कार्यालयमा तालबन्दी गरिएको हो ।
प्रदेश कार्यालयलाई कुनै जानकारी नगरी कार्यक्रम गर्ने र आर्थिक अपारदर्शीता गरेको आरोप लगाउँदै गलत कार्य विरुद्ध तालाबन्दी गरिएको प्रदेश कार्यसमिति सदस्य लक्ष्मण बिकले बताए ।
केन्द्रीय अध्यक्षले देशभरका प्रदेश समितिलाई भेदभाव गरेको, प्रदेशमा कार्यक्रम गर्दा आफूखुसी गर्ने र सुदूरपश्चिम प्रदेशले गरेको साधारण सभालाई पनि अध्यक्षले पूर्वाग्रही ढंगले मान्यता नदिएको उनीहरुको आरोप छ । प्रदेश महासंघका अनुसार असार १३ गते प्रदेश अधिवेशनबाट वैधानिक रूपमा नयाँ कार्यसमिति गठन भइसकेको अवस्थामा अध्यक्ष आचार्यले व्यक्तिगत मनोमानीका आधारमा ‘अवैधानिक’ भन्दै भदौ ५ गते केन्द्रबाट पत्राचार गरी प्रदेश कार्यालयका सबै बैंक खाता रोक्का गराएको दावी गरिएको छ ।
अध्यक्ष आचार्यले कार्यक्रमको रकम कर्मचारीको व्यक्तिगत खातामा पठाउने, राजनीतिक पूर्वाग्रहका आधारमा प्रदेश पदाधिकारी निलम्बन गर्ने, निर्णय प्रक्रियामा अनावश्यक हस्तक्षेप गर्ने र अध्यक्षको स्वार्थअनुसार प्रतिनिधि छनोट गर्ने जस्ता गतिविधि गर्दै आएको आरोप लगाइएको छ ।
वैधानिक समिति हुँदापनि कार्य सञ्चालन अवरुद्ध पारिएको भन्दै, खाता नखुलुञ्जेल र काम गर्ने वातावरण नबनेसम्म सुदूरपश्चिम प्रदेश महासंघ कार्यालयमा तालाबन्दी जारी राख्ने उनीहरुको भनाइ छ ।
केन्द्रको राजनीतिक हस्तक्षेपका कारण तालाबन्दी भएको र खाता बन्दका कारण संस्थाका सम्पुर्ण काम ठप्प भएको प्रदेश महासंघका पूर्वअध्यक्ष बताउँछन् ।
प्रदेशको नीति कानूनसमेत बनेको अवस्थामा केन्द्रले राजनीतिक प्रभावमा पारेर आफूहरुलाई हटाउने, कारबाही गर्ने र आफ्ना मान्छे ल्याउने काम गरिरहेको उनीहरुले आरोप लगाएका छन् ।
