काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने नख्खु कारागारबाट मुक्त भएलगत्तै राजनीतिक भेटवार्तालाई तीव्र बनाएका छन्। सहकारी ठगी प्रकरणमा लामो समय हिरासतमा रहेका लामिछाने यही पुस ४ गते रिहा भएका थिए। रिहाइपछि उनले राजनीतिक सक्रियता बढाएका हुन्। आन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कर्कीसँग भेट गरिसकेका लामिछानेले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहसँग पनि करिब पाँच घण्टा ‘वान–टु–वान’ वार्ता गरेका छन्। यस भेटवार्ताले नेपाली राजनीतिमा नयाँ तरंग ल्याएको छ।
काठमाडौँको कमलपोखरीस्थित रास्वपा नेता असीम शाहको निवासमा साँझ ६ बजेदेखि सुरु भएको वार्ता राति साढे १ बजेसम्म चलेको थियो। वार्तामा रवि लामिछानेसहित रास्वपाका उपसभापति डीपी अर्याल र केन्द्रीय सदस्य असीम शाह सहभागी थिए भने बालेन शाहका तर्फबाट उनका सल्लाहकार कुमार बेन सहभागी थिए।
त्यस्तै जेन–जी अगुवा सुदन गुरुङ पनि बैठकमा सहभागी थिए । करिब छ घण्टा चलेको बैठकमध्ये झन्डै पाँच घण्टा रवि र बालेनबीच एक्लाएक्लै संवाद भएको थियो। सो अवधिमा अन्य सहभागीहरू छुट्टै बसेका थिए। सुरुवातमा रवि र बालेनबीच व्यक्तिगत विषयमा कुराकानी भएको बताइएको छ। केही दिनअघि मात्र बाबु गुमाएका बालेन र करिब २ सय ६० दिन कारागार बसाइपछि बाहिर आएका रविबीच भावनात्मक संवाद भएको थियो। त्यसपछि देशको समसामयिक राजनीतिक अवस्थाबारे छलफल भएको जनाइएको छ।
दुई दिनमा बालेन र रविबीच दोस्रो पटक भएको छलफलमा बालेनलाई प्रधानमन्त्री बनाउने गरी चुनावमा जाने प्रस्ताव गरिएको दाबी गरिएको छ । भेटवार्तामा वैकल्पिक राजनीतिलाई संस्थागत गर्दै मुलुकको परिवर्तनका लागि आगामी निर्वाचन मात्र नभई दीर्घकालीन रूपमा सहकार्य गर्दै अघि बढ्ने विषयमा पनि छलफल भएको बताइएको छ। दुवै नेता नयाँ शक्तिहरूको एकताका लागि सकारात्मक र एजेन्डामा दुवै एकैठाउँमा भएपनि शक्ति सन्तुलन र संगठनात्मक बाँडफाँट मिल्न बाँकी छ । बैठकपछि प्रतिक्रिया दिँदै रास्वपा नेता असीम शाहले सबैको आशा र अपेक्षाअनुसार देश निर्माणका लागि मिलेर अघि बढ्नुपर्ने भावनाका साथ वार्ता भएको बताए।
वार्ता सकिएपछि रवि लामिछाने र बालेन शाह एउटै गाडीमा बाहिरिएका थिए। कारागारबाट मुक्त भएपछि लामिछानेले जेनजी आन्दोलनमा घाइते भएका र शहीद परिवारहरूसँग पनि भेटघाट गरेका थिए। यस कदमलाई उनले युवा आन्दोलनसँग जोड्दै आफ्नो राजनीतिक आधार मजबुत बनाउने रणनीतिका रूपमा हेरिएको छ।
यी भेटघाटहरूले नयाँ गठबन्धनको सम्भावना उजागर गरेको छन्, जहाँ युवा र नयाँ नेताहरूको एकता हुन सक्ने देखिन्छ। यसले आगामी चुनावमा लामिछानेको राजनीतिक उपस्थितिलाई बलियो बनाउन सक्ने भए पनि उनका मुद्दा अझै अदालतमा विचाराधीन छन्।
लामिछानेको पछिल्लो सक्रियताले नेपाली राजनीतिमा नयाँ मोड ल्याउन सक्ने आँकलन गरिएको छ। जेनजी आन्दोलनको ऊर्जा र स्वतन्त्र नेताहरूसँगको सम्भावित सहकार्यले परम्परागत दलहरूलाई चुनौती दिन सक्छ। तर, यो पहलले युवामा देखिएको असन्तोषलाई कत्तिको प्रभावकारी रूपमा सम्बोधन गर्न सक्छ भन्ने विषय महत्वपूर्ण रहनेछ ।
