News 24 Television
सिन्धुपाल्चोकको दुर्गम तेम्बाथानमा विद्यार्थीलाई कक्षाकोठामा ल्याउन छात्रावास

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगलगाउँपालिका–३ स्थित दुर्गम तेम्बाथानमा छात्रावास सञ्चालन भएपछि गोठालो जीवनका कारण पढाइबाट टाढिँदै आएका बालबालिका फेरि विद्यालय फर्किएका छन् । योसंगै चौरी र भेडापालन गर्ने परिवारका बालबालिकाले अब नियमित रूपमा कक्षामा सहभागी हुन पाउने भएका हुन् । 

सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ अन्तर्गत पर्ने तेम्बाथान जुगल हिमालको फेदीमा रहेको दुर्गम गाउँ हो । तेम्बाथान, दिपु र तेगा बाहेक जुगल हिमालको माथिल्लो भेगमा अन्य कुनै मानव बस्ती छैन । यही क्षेत्रका बालबालिकाले अध्ययन गर्ने तेम्बाथान आधारभूत विद्यालयमा छात्रावासको व्यवस्था भएपछि गोठालो जीवनका कारण पढाइबाट वञ्चित हुँदै आएका बालबालिकाले नियमित रूपमा विद्यालय जान पाउन थालेका छन् ।

यहाँका स्थानीयको मुख्य आम्दानीको स्रोत चौरी र भेडापालन हो । अभिभावकहरू सिजनअनुसार चौरी र भेडा लिएर दुई हजारदेखि चार हजार पाँच सय मिटर उचाइसम्म गोठ सार्दै जाने गर्छन् । साना बालबालिकालाई घरमा एक्लै छाड्न नसकिने भएकाले उनीहरूलाई साथमै गोठ लैजानुपथ्र्यो, जसका कारण बालबालिकाको पढाइ कम्तीमा तीन महिना छुट्ने गर्दथ्यो । 

कक्षा ४ मा अध्ययनरत पेमडोल्मा शेर्पा पनि यस्तै समस्याको सामना गर्दै आएकी विद्यार्थी हुन् । उनी बाबुआमासँग गोठ जाँदा धेरै महिना विद्यालय जान पाउदैन थिइन् । अहिले छात्रावासमा बसेर नियमित पढ्न पाउँदा उनी खुसी छिन् । 

जुगल गाउँपालिकाले तेम्बाथान आधारभूत विद्यालयमा छात्रावासको व्यवस्था गरेपछि यो समस्या समाधान भएको हो । गाउँपालिकाका अध्यक्ष रेशम स्याङ्बोका अनुसार चौरी गोठालो परिवारका बालबालिकालाई लक्षित गर्दै वार्षिक पाँचलाख रुपैयाँ अनुदान छुट्याएर छात्रावास सञ्चालन गरिएको हो । 

यो योजनाले पहिले स्याहार–सुसारको अभावले अभिभावकहरू बालबालिकालाई गोठ लैजान बाध्य हुने गरेकोमा अहिले भने स्वेच्छाले छात्रावासमा भर्ना गराइरहेका छन् । हाल २७ जना बालबालिका नियमित पढाइमा जोडिएका छन् । 

छात्रावास सञ्चालन भएपछि साङ्रगुलिङ, दिपु जस्ता विकट बस्तीका बालबालिकाको लागी  खोला बढ्दा विद्यालय आउन नसक्ने समस्याको पनि समाधान भएको छ । हाल विद्यालयमा कुल भर्ना संख्या ९२ पुगेको छ । विद्यालयले खाना, बसोबास र शिक्षाको व्यवस्था गरेपछि अभिभावकहरू बालबालिकालाई गोठमा लैजान छाडेका छन् । 

तेम्बाथान आधारभूत विद्यालयकी निमित्त प्रधानाध्यापक सन्तोष कुमार शाहका अनुसार छात्रावासमा बस्ने बालबालिका पढाइप्रति निकै उत्साहित छन् । 

तेम्बाथान जिल्ला कै दुर्गम गाउँमध्ये एक हो, जहाँ अझैसम्म सहज सडक पहुँच छैन । छात्रावासले आधारभूत शिक्षा त उपलब्ध गराएको छ, तर यस क्षेत्रमा माध्यमिक विद्यालय नहुँदा अर्को चुनौती देखिएको छ । आर्थिक रूपमा कमजोर परिवारका बालबालिकाले माध्यमिक तहको शिक्षा लिन कठिनाइ भोगिरहेका छन् ।

यस समस्यालाई मध्यनजर गर्दै गाउँपालिकाले चनौटेमा रहेको रत्न राज्य माध्यमिक विद्यालयमा होस्टलको व्यवस्था गरेको जनाएको छ । यद्यपि, धेरै बालबालिका गाउमा रहेको विद्यालयबाट ८ कक्षा पुरा गरेपछि विभिन्न गुम्बा तथा धार्मिक विद्यालयतर्फ जाने गरेको स्थानीय बताउँछन् ।

प्रकाशित मिति: बुधबार, पुस ९, २०८२  ०९:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update