काठमाडौँ । अन्तरिम सरकारका कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले राजनीतिक दलहरुसँगको छलफल सकारात्मक र फलदायी रहेको बताएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरुसँगको भेटका क्रममा राप्रपा कार्यालय पुगेका मन्त्री सिन्हाले आउने प्रतिनिधिसभा निर्वाचनलाई कसरी प्रभावकारी, धाँदलीरहित र स्वतन्त्र एवं सहज बनाउने भन्नेबारे छलफल भएको बताए । उनले निर्वाचन गराउनैपर्ने र त्यसका लागि आवश्यक सहयोग गर्न आफूहरु तयार रहेको प्रतिबद्धता राप्रपाले जनाएको बताए । आगामी दिनमा आवश्यक सुझाव दिँदै जानेबारे छलफल भएको पनि उनले बताए ।
उनले भने, ‘आउने निर्वाचनलाई कसरी प्रभावकारी बनाउने, धाँदलीरहित, स्वतन्त्र र सहज रुपमा कसरी गर्न सकिन्छ भन्नेबारेमा छलफल भएको छ । चुनावी तयारी, समयबारे कुराकानी भएको छ । चुनाव हुन्छ भन्ने आश्वासन आएको छ । चुनावका लागि आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभएको छ । अन्य सुधारका लागि सुझाव पनि दिँदै जाने कुराहरु भन्नुभएको छ । छलफल सकारात्मक र फलदायी रह्यो ।’
सरकारद्वारा गठित राजनीतिक संवाद समितिको तर्फबाट कानूनमन्त्री अनिलकुमार सिन्हा, सञ्चारमन्त्री खरेलसहित प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख सल्लाहकार अजयभद्र खनाल निर्वाचनको वातावरण बनाइदिन आग्रह गर्दै राजनीतिक दलहरुको कार्यालयमा धाइरहेका छन् । बुधबार नै रास्वपाकाे कार्यालयमा समेत उनीहरू पुगेका छन् । मंगलबार काँग्रेस, एमाले, नेकपा लगायत प्रमुख दलकाे कार्यालयमा पुगेका थिए ।
