काठमाडौं । क्रियाशील सदस्यता नविकरण प्रमुख जड बन्दा कांग्रेसको १५ औँ महाधिवेसन प्रभावित हुने देखिएको छ । कांग्रेस महाधिवेशन पुष २६ देखि २९ लाई तोकिएको छ । क्रियाशील सदस्यता विवादकै कारण निर्धारित कार्यतालिका प्रभावित भएपछि महाधिवेशनको कार्यतालिका हेरफेर गर्ने तयारी गरिएको छ । कार्यतालिका हेरफेर गरिएपनि महाधिवेशनको मिति सार्न नहुने पक्षमा संस्थापन इतर पक्षका नेताहरु देखिएका छन् ।
जेनजी आन्दोलनले सत्तात्यूत भएको विघटित प्रतिनिधिसभाको दोस्रो ठूलो दल नेकपा एमालेले महाधिवेशन सम्पन्न गरि केपी शर्मा ओलीलाई तेस्रो कार्यकालका लागि नेतृत्वमा अनुमोदन गरिसकेको छ । तर विघटित संसदको पहिलो ठूलो दल नेपाली कांग्रेस भने क्रियाशील सदस्यता नवीकरण लगायत प्राविधिक विवादको अल्झन्मा महाधिशन सार्ने तयारीमा छ ।
महिनौंसम्मको केन्द्रीय सम्पादन समिति बैठक र ठूलो रस्साकस्सीपछि कांग्रेस पुस २६ गतेदेखि १५ औं महाधिवेशन गर्ने निर्णयमा पुगेको थियो । तर निर्धारित समयमा महाधिवेशन गर्न नसकिने भन्दै तालिका हेरफेरको छलफल थालेको छ । बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा पुस २६ देखि शुरु गर्ने भनिएको महाधिवेसन हुन नसक्ने विफ्रिङ गरिएको छ ।
महाधिवेसन कार्यतालिका हेरफेर हुने संकेत गरेका महतले क्रियाशील सदस्यता नविकरणलाई मुख्य कारण मानेका छन् । तर महामन्त्री गगन थापा लगायत संस्थापन इतर पक्ष भने महाधिवेशन पछाडि धकेल्ने पक्षमा छैनन् । वडा र प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न गरेर महाधिवेशन गर्न सकिने प्रस्ताव थापाले बुधबारको केन्द्रीय समिति बैठकमा गरेका छन् ।
पूर्व निर्धारित कार्यतालिका अनुसार पुस १६ गते वडा अधिवेशन गर्नुपर्नेछ । वडा अधिवेशनपछि गाउँ तथा नगर अधिवेशन, क्षेत्रीय अधिवेशन, जिल्ला अधिवेशन हुँदै महाधिवेशनको तालिका तय गरिएको छ । तर क्रियाशील सदस्यताकै विवादका कारण निर्धारित मितिमा वडा अधिवेशन नै नहुने अवस्था छ ।
सभापति शेरबहादुर देउवा अर्थात् संस्थापन पक्षले पनि चाहेको यहि थियो की तोकिएको मितिमा महाधिवेसन नहोस् । परिस्थितिले त्यतैतर्फ डो¥याएपछि संस्थापन इतर पक्षका नेताहरु चिन्तित छन् ।
पुषमा महाधिवेसन सकेर फागुन २१ मा हुने भनिएको आम निर्वाचनामा नयाँ नेतृत्व सहित होमिने रणनीतिमा इतर पक्ष थियो । तर महाधिवेसन हुनेमै अन्योलता बढेपछि थप तनाव सिर्जना भएको छ । इतर पक्ष पूर्व निर्धारित समयमा महाधिवेशन हुन नसके माघको पहलिो साता भन्दा पछि धकेल्न नहुने पक्षमा छन् ।
बैठकमा माघ ११ मा हुन लागेको राष्ट्रिय सभा निर्वाचन र फागुन २१ को प्रतिनिधिसभा चुनावबारे छलफल भएको छ । खासगरी महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने उद्देश्यले शुरु भएको केन्द्रीय सम्पादन समितिको बैठकबाट पहिलो दिन निश्कर्षमा पुग्न नसकिएपछि विहीबार पुनः बैठक बस्नेछ ।
यसअघि महाधिवेशनकै विषयमा विवाद हुँदा केन्द्रीय कार्य सम्पादन समितिको बैठक एक महिना लामो समयसम्म बसेको थियो । सम्भवतः विहिबारको बैठकले शंशोधन सहितको महाधिवेसन कार्यतालिका आउनेतर्फ नेताहरुले संकेत गरेका छन् ।
मंगलबार मात्रै कांग्रेस सभापति शेरबहादुर देउवासहित प्रमुख तीन दलका शीर्ष नेताले फागुन २१ को निर्वाचन सफल बनाउने समझदारी गरेका कारण पनि कांग्रेस संस्थापन पक्षले निर्वाचन पछाडि महाधिवेशन धकेल्ने प्रयासमा छ । यस्तो अवस्थामा कांग्रेस महाधिवेसन बैशाख गर्ने गरि नयाँ तालिका आउने सम्भावना प्रवल बनेको छ । तर संस्थापन पक्षको प्रस्ताव इतर पक्षले अस्वीकार गरेमा भने यसअघि जस्तै बैठक लम्बिने निश्चित छ ।
