News 24 Television
पूर्णबहादुर देखाएर देउवाको राजनीतिक छुराः गगन घायल, शेखर अलमल !

काठमाडौं । नेपाली कांग्रेसले तोकिएको समयमै १५ औं महाधिवेशन गर्ला ? शंका र संसय बढ्न थालेका छन् । तोकिएको समयमा नै महाधिवेशन हुने नदेखिएपछि महामन्त्री गगन थापाले महाधिवेशन कसरी गर्ने भन्नेमा समेत नयाँ प्रस्ताव गरेका छन् । यतिमात्रै नभई कार्यबाहक दिएर बस्ने भनेका सभापति शेरबहादुर देउवाको सक्रियताले समेत प्रश्न उठाइदिएको छ । 

कांग्रेस महाधिवेशनको सम्मुखमै पुग्दा समेत पर्याप्त तयारी भएको देखिन्न । यस्तो अवस्था बनेपछि कांग्रेस महामन्त्री गगन थापाले नयाँ प्रस्तावदेखि क्रियाशिल सदस्यता विवादमा समेत नयाँ योजना र कारबाहीको प्रस्ताव अघि सारेको बताएका छन् । 

कांग्रेस महाधिवेशनमा जानैपर्ने बाध्यता छ । तर, केहि समय तन्काउनका निम्ति कांग्रेसले नै बाटो खोलिसकेको छ । कांग्रेस कार्यसमितिको समयावधी माघ मसान्तसम्म थप गरिएकाले पनि देउवाले सहजै माघ अन्तिमसम्म धकेल्न सक्छन् । यतिमात्रै नभई देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई दिएको कार्यबाहकमा समेत प्रश्न उठ्न थालेका छन् । कांग्रेस महामन्त्री गगन थापाले नै यसमा संस्थागत रुपमै सार्वजनिक प्रश्न गरेका हुन् । 

कांग्रेसमा चलिरहेको यस्तो राजनीतिक परिदृश्य किन सक्रिय बन्यो ? यसका निम्ति संसद पुनस्र्थापनाको पक्षमा सर्वोच्चमा परेको रिटले समेत काम गरेको छ । 

देउवाको दाउमा कांग्रेस बन्धक !

कांग्रेस सभापति शेरबहादुर देउवाको प्रधानमन्त्री बन्ने दाउका कारण नै कांग्रेस बन्धक बन्न खतरा देखिन थालेको छ । उसोतः कांग्रेस महाधिवेशन केहि समय सर्ने दाबी कांग्रेस संस्थापन इतरपक्षबाटै हुन नथालेका भने होइनन् । 

कांग्रेसमा यस्तो हावा सर्वोच्चमा संसद पुनस्र्थापना र त्यसपछिको प्रधानमन्त्री पद नै देखिन्छ । यस्तो स्थितिमा संसदीय दलको नेता चयन भइसकेका देउवाले देशको एक पटक नेतृत्व गर्ने रहर पाल्नाले समेत कांग्रेस महाधिवेशन अड्किन पुगेको छ । देउवा आफू सभापति बन्न पाउने छैनन् । 

यस्तोमा उनले अब पार्टी सत्ता नेतृत्वको राजनीति शुरु गरेका छन् । जसमा शेखर कोइरालाले महाधिवेशन धकेलिन सक्ने भनेका छन भने गगनले सभापतिको उम्मेदवार बन्ने सार्वजनिक घोषणा गरिसकेका छन् ।

यसमा शेखर–गगन एउटै टिमका नेताहरु परेपछि देउवाले यस्तै छिद्रमा पसेर खेल्न थालेका छन् । जसले पनि कांग्रेस महाधिवेशन लम्बेतान बन्ने खतरा बढ्दै गएको छ ।

देउवाको छायाँमा पूर्णबहादुरको सत्ता

देउवा सिंगापुरमा उपचार गरेर नफर्किएसम्म कांग्रेस बैठक बस्यो । ऐतिहासिक लामो समय बसेको बैठकले निर्णय भने लिनै सकेन् । तर, देउवाले कार्यबाहक तोकेका पूर्णबहादुर खड्काले समय व्यतित गर्नेबाहेक केहि गर्न सकेनन् । अहिले पनि खड्का नै कार्यबाहक छन् । तर, पार्टी देउवाले चलाइरहेका छन् । निवासबाटै सक्रिय रहेका उनले राजनीतिक भेटघाटदेखि निर्णय प्रक्रियामा हस्तक्षेप गरिरहेकाले कांग्रेसमा देउवाको छायामा खड्का फसिसकेको चर्चा र आरोप बाक्लो बन्न थालेको छ ।

प्रकाशित मिति: बिहीबार, पुस १०, २०८२  ०९:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update