News 24 Television
ओली सरकार ढाल्ने जेनजी, सुशीलाको सरकार ढाल्ने प्रयासमा किन सक्रिय ?

काठमाडौं । जेनजी आन्दोलनपछि बनेको सरकारका लागि खतरा पनि जेनजी समूह, व्यक्ति र सरोकारवालाहरु नै बन्न खतरा देखिन थालेको छ । भदौ २३ र २४ को आन्दोलनमा नदेखिएका अनुहारदेखि आन्दोलनमा सहभागी नहुनेहरु पछिल्लो समय समूह नै बनाएर सरकारको बर्खास्ती माग्न उभिन थालेका छन् । तर, सरकारले भने जेनजी आन्दोलनको स्पिरिड नछाडेको भनिरहेको छ । 

भदौ २३ र २४ गतेको आन्दोलन–विध्वंशपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले अन्तरिम सरकारको नेतृत्व सम्हालिरहेकी छन् । सरकारको नेतृत्वमा रहेकी कार्कीले फागुन २१ मा चुनाव गराउने कार्यभार पाएपनि काम सम्पन्न होला ? यो प्रश्नको जवाफको तगारो त्यहि जेनजी समूह नै बन्ने खतरा देखिन थालेको छ । अनेकथरी जेनजी र समूहले सरकारमाथि दबाब दिइरहेका छन भने चुनाव गराउनकै निम्ति आन्दोलन नभएको भनिरहेका छन् । 

सरकारले जेनजी आन्दोलनको मर्मअनुसार काम नगरेको भन्दै आन्दोलन चलिरहेको छ । मिराज ढूंगाना पक्षले आन्दोलन गर्दै सरकारको बर्खास्तीको माग गरिरहेको छ । आन्दोलनले दिएको म्याण्डेट अनुसार सरकार नचलेको आरोप लगाइरहेको छ । यस्तो स्थितिमा सरकारले भने जेनजी आन्दोलनको मर्मलाई आत्मसाथ गर्दै काम गरिरहेको दाबी गर्न छाडेको छैन् ।

सरकारको ध्यान चुनावमा !

सरकारले भने फागुन २१ मा निर्वाचन सम्पन्न गराउने विषयलाई मूलमन्त्र बनाएको भनिरहेको छ । सरकारका मन्त्रीहरुले दलको कार्यालयमा पुग्ने र अनुगमनको नाममा चुनावको पक्षमा वकालत गर्ने काम गरिरहेका छन् । यता, जेनजी प्रतिनिधिहरुले भने सरकारले चुनावमा मात्रै ध्यान दिएको आरोप लगाइरहेका छन् । तर, ऊर्जामन्त्री कुलमान घिसिङले सुशासनको पक्षमा कुनै सम्झौता नगरेको भन्दै आन्दोलनमा उत्रिएका जेनजीलाई शान्त पार्ने प्रयास गरिरहेका छन् । 

सरकारले पाएको म्याण्डेट नै फागुन २१ मा निर्वाचन सम्पन्न गराउने हो । तर, जेजनी नामधारीहरुले सुशासनको विषयबाहेक अन्य असम्भव मागहरुमा बहस केन्द्रित पारेका छन् । जसमा संविधान संशोधनदेखि प्रत्यक्ष निर्वाचित कार्यकारिको विषयलाई उठाइरहेका छन् । के यो सम्भव छ ? 

प्रतिनिधिसभा नै नभएको बेला यो सम्भव देखिन्न । तर, जेनजीहरुको यो मागले कांग्रेस एमालेले मागिरहेको संसद पुनस्र्थापनालाई भने बल पुगिरहेको देखिन्छ । संसद एक दिन ब्यूतिएर संविधान संशोधनदेखि अन्य विषयमा काम गर्ने चर्चा समेत चलिरहेको छ । तर, यसको राजनीतिक ग्राउन्ड नै समाप्तप्राय बनेको बेला सरकार भर्सेस जेनजी बन्दा मुलुक अर्को संकटमा फस्नसक्ने खतरा समेत उत्तिकै देखिन्छ ।

प्रकाशित मिति: बिहीबार, पुस १०, २०८२  ०९:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update