काठमाडौं । संसदीय ब्यवस्थाको विरोध गर्दै आएका नेत्रविक्रम चन्द विप्लव आगामी निर्वाचनमा होमिने तयारीमा छन् । पहिलो पटक नेकपा माओवादी नामको दल निर्वाचन आयोगमा दर्ता गरेर चुनावमा होमिने तयारी गरेका उनले आफ्नो चुनाव चिन्हको प्रचारात्मक अभियानसमेत चलाइसकेका छन् । यसअघि मोहन वैद्यसँग अलग भई एकीकृत जनक्रान्तिको नारा अघि सार्दै आन्दोनलमा होमिएका बेला पनि उनले सत्तामा सहभागिताको माग राखेका थिए । अहिले पुनः जेनजी आन्दोलनपछि गठित अन्तरिम सरकारको विरोध गर्दै सर्वपक्षीय सरकार गठनको माग तेर्साएका छन् ।
सशस्त्र जनयुद्ध हुँदै शान्ति प्रक्रियामा आएपछि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादी धारको मुल पार्टीबाट ६९ सालमा मोहन वैद्यसँगै अलग भएका नेत्रविक्रम चन्द विप्लव अन्ततः संसदीय बाटोबाटै अघि बढ्ने तरखरमा छन् । प्रचण्डसँग अलग भएपछि वैद्यले पनि क्रान्तिको बाटो नमातेको भन्दै उनी छुट्टै पार्टी गठन गरी भूमिगत राजनीतिको अभ्यास गरेका थिए । उक्त संघर्षको क्रममा ११ जनाले ज्यान गुमाए ।
तत्कालिन केपी ओली सरकारको पालामा तीन बुँदे सहमति गरी पुनः शान्तिपूर्ण राजनीतिमा फर्किएका विप्लवले त्यसपछिका संसदीय निर्वाचनहरु उपयोग गर्ने विषयमा पार्टीभित्रै विवाद चर्किएपछि धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश ओली समूह अलग भएको थियो ।
आफूलाई सरकारको नेतृत्व गर्ने हुटहुटी भएको सार्वजनिक अभिब्यक्ति दिँदै आएका विप्लव अहिले निर्वाचन आयोगमा दल दर्ता नै गरेर निर्वाचनमा होमिने तयारीमा छन् । जेनजी आन्दोलनपछि राजनीतिक ध्रुवीकरणका क्रममा माओवादी नामका कुनै पनि पार्टी नरहेपछि आफैले त्यागेको माओवादी नाम नै राखेर दल दर्ता गराएका छन् ।
सत्तामा जसरी पनि पुग्ने उत्कट चाहना राखेका विप्लवले प्रचण्ड लगायतका दलहरुसँगको एकता प्रक्रिया सफल नभएपछि एक्लै निर्वाचनमा जाने निर्णयमा पुगेका हुन् । तर एक्लै चुनावमा होमिएर सत्ता प्राप्त हुने नदेखेपछि फेरि उनले सर्वपक्षीय सरकारको तुरुप फालेका छन् । देशलाई अग्रगामी निकासतर्फ लैजानका लागि सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई विस्थापन गरि सर्वपक्षीय सरकार गठन गर्नुपर्ने र अन्तरिम सरकारको नेतृत्व आफ्नो पार्टीलाई दिनुपर्ने बताएका छन् ।
निर्वाचनमा सहभागी हुन दल दर्ता गरेका विप्लवले प्रचण्डसँगको एकता सफल नभएपछि प्रचण्ड–माधवसँगको एकतामा नगएका जनार्दन शर्मा र घनश्याम भुसालसँग सहकार्यदेखि पार्टी एकताको लागि सहमति गरेका थिए ।
उक्त सहमतिको मसी सुक्न नपाउँदै जनार्दनले बाबुराम भट्टराई र रास्वपा छाडेका सन्तोष परियारसँग एकता गरि कम्युनिस्ट विचारलाई तिलाञ्जली दिएपछि घनश्याम र विप्लव आ–आफ्नै बाटो लागे । तर एक्ला एक्लै हिँडेर जनताले नपत्याउने देखेपछि विप्लवले फेरि पनि आन्दोलनको चेतावनी दिएर सत्तामा पुग्ने पासा फालेका छन् । कार्की नेतृत्वको सरकार खारेजीसहित १३ सुत्रीय माग अघि सारेका उनले १० दिनभित्र माग पूरा नभए आन्दोलन चर्काउने चेतावनी दिएका छन् ।
संसदीय ब्यवस्थाको चर्को विरोध गर्दै सशक्त आन्दोलन चर्काएका बेलामा पनि विप्लवले सत्ता साझेदारीको नीति अघि सारेका थिए । उनको एकीकृत जनक्रान्तिको कार्यदिशा सुरक्षा निकाय, कर्मचारी र राष्ट्रवादी शक्तिहरु मिलेर जाने भन्ने थियो । अझ जनमत संग्रहबाट वैज्ञानिक समाजवादमा जान सकिने तर्क समेत विप्लव अघि सारेका थिए ।
संसदीय राजनीतिको आलोचना गर्दै आएका विप्लवमा जुनसुकै बाटोबाट पनि सत्तामा पुग्ने प्रचण्ड प्रवृत्ति देखिएको छ । क्रान्तिकारी नेताको पहिचान बनाएका विप्लवलाई ‘गुलाफको फूल’ नै सत्ताको भ¥याङ बन्ला कि फेरि पनि बम बारुदकै साथ भरथेग खोज्नुपर्ने हो, प्रतिक्षाको विषय बनेको छ ।
