काठमाडौं । जेनजी आन्दोलनपछि राष्ट्रपति रामचन्द्र पौडेलको भूमिकालाई नेपाली कांग्रेस लगायतका सबै दलले निकै प्रशंसा गरे । प्रतिनिधि सभा विघटन गरेरै भए पनि देश जोगाएको प्रतिक्रिया दिएका प्रमुख दलहरु नै फागुनमा तय गरिएको चुनावबाट भाग्ने योजनामा छन् । जेनजी आन्दोलनबाट सत्ताच्यूत प्रमुख २ दल कांग्रेस र एमाले मात्र होइन, विभिन्न पार्टीमा ध्रुवीकरण भएका नेताहरु पनि चुनावबाट टाढिँदै गएका छन् ।
नेपालीमा एउटा चर्चित उखान छ ‘मुखमा रामराम बगलीमा छुरा’ । यहि उक्तिको शिरोधार्य गर्दैछन् यतिबेला नेपाली राजनीतिका पुराना खेलाडीहरु । युवा पुस्ताको आन्दोलनपछिको राजनीतिक परिस्थितिमा ताजा जनादेशको विकल्प नभएको बताइरहेका छन् । निर्वाचनको विकल्प नभएको भन्दै निर्वाचनमा जाने औपचारिक निर्णय नै गरेका राजनीतिक दलहरु भित्रभित्रै निर्वाचनबाट भाग्ने कसरतमै छन् ।
एकतर्फ सरकारले नै निर्वाचनको वातावरण नबनाएको आरोप लगाउने अर्कोतर्फ पार्टी कार्यकर्तादेखि आम नागरिकलाई फागुमा निर्वाचन हुन सक्दैन भन्ने अभिब्यक्ति दिने काम नेताहरुले गरि नै रहेका छन् । विभिन्न दलका नेताहरुले कसैले नविन समझदारी, कसैले सर्वपक्षीय सरकार त कसैले सुरक्षा चिन्ता ब्यक्त गरिरहेका भेटिन्छन् । निर्वाचनको वतावरण नबनाएको आरोपका बीच दुई मन्त्रीसहितको उच्चस्तरीय राजनीतिक संवाद समितिले राजनीतिक दलहरुको दैलो दैलोमै पुगेर छलफल समेत गर्यो । तर उक्त संवादमा सहभागी भएका नेताहरुले निराशाजनक अभिब्यक्ति मात्र दिएन, नयाँ विकल्प समेत सुझाए ।
मुलुनलाई निकास दिनका लागि राप्रपा नेता गुरुङले नविन समझदारी राजनीतिक दलहरुकाबीचमा मात्र होइन, राजासहित नै खोज्नुपर्ने बताए । जेनजी आन्दोलनपछि गठित अन्तरिम सरकारले निर्वाचन मिति घोषणा गरेपछि माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दलहरु ध्रुवीकरण र एकता प्रक्रिया अघि बढाउँदै नयाँ पार्टी र नयाँ चुनाव चिन्ह लिएर देशब्यापी पनि होमिए । निर्धारित मितिमै चुनाव हुनुपर्छ भन्ने गरे पनि उनीहरुलाई नयाँ दलहरुको डर उत्तिकै छ । त्यसैले निर्वाचन, निष्पक्ष, भयरहित, शान्तिपूर्ण हुनेमा आशंका ब्यक्त गरिरहेका छन् ।
केपी ओलीपछि प्रधानमन्त्रीको पर्खाइमा रहेको नेपाली कांग्रेसको सपना पनि जेनजी आन्दोलनले तुहाइदियो । लोकतन्त्रको सच्चा पहरेदार भन्ने कांग्रेसले औपचारिक रुपमा निर्वाचनमा भाग लिने निर्णय गरे पनि विघिटत संसदमा सांसदहरुलाई अघि सारेर संसद पुर्नस्थापना गर्ने लाइनमा छ । त्यसैले पछिल्लो समय जेनजी अगुवाहरु नै निर्वाचन नचाहेको भनेर तर्किने अवस्थामा छन् ।
जेनजी आन्दोलनले प्रधानमन्त्रीबाटै च्यूत भएका एमाले अध्यक्ष केपी शर्मा ओलीले त युवापुस्ताको आन्दोलनलाई प्रतिगमन नै भनिरहेका छन् । आफू निर्वाचनको विरोधी नभएको तर प्रतिगमनको मात्र विरोधी भएको भन्दै जनतालाई दिग्भ्रमित पार्न ओली सक्रिय छन् ।
अहिलेको सरकारले चुनाव गराउनै नसक्ने बताइरहेका ओलीले अन्तरिम सरकारलाई हाहा र हुुहुको सरकार भनिरहेका छन् । एमाले संसद विघटनविरुद्ध सर्वोच्च अदालत नै पुगेको छ । त्यसैले अहिले निर्वाचन हुँदैन भन्ने ओलीसहित एमाले नेताहरुको एउटै रटान छ ।
सरकार नै असंवैधानिक ढंगले बनेको भन्दै एमालेले औपचारिक रुपमै संसद पुर्नस्थापनाको पक्षमा आन्दोलनको निर्णय नै गरेको थियो । जेनजी आन्दोलनले सबैभन्दा बढी बदनाम कमाएको ओलीले नै हो । त्यसैले ओली जेजनी आन्दोलनपछि गठित अन्तरिम सरकारले घोषणा गरेको निर्वाचन नहोस् भन्ने योजनामै छन् ।
राष्ट्रपति पौडेलको छायाँमा समझदारीको नाटक
जेनजी आन्दोलन खासगरी सुशासनको पक्षमा थियो । त्यसैले भ्रष्टाचारको बाहक भनेकै प्रमुख तीन राजनीतिक दल हुन् भन्ने परेको छ । नव युवाहरुलाई विश्वासमा लिन ती तीन दल तयार छैनन् । निर्वाचन नै नहुने अवस्थामा राजनीतिक संकट झनै भयावह हुने भन्दै पछिल्लो समय राष्ट्रपति रामचन्द्र पौडेलले नै पहलकद्मी लिए । र, प्रमुख तीन दलका शीर्ष नेतालाई शितल निवास डाकेर छलफल गराए ।
जतिबेला तीनै दलका शीर्ष नेताले फागुन २१ को निर्वाचन सफल बनाउने समझदारी नै गरे । तर राष्ट्रपति पौडेलका सामु गरेको प्रतिवता केवल देखाउने दाँत मात्रै हो भन्ने दलका नेताहरुको गतिविधि र अभिब्यक्तिहरुले पुष्टि गरिरहेका छन् । अझ पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका वैकल्पिक भनिएका शक्तिहरुबीच एकताको छलफल तीब्र छ । यो अवस्थामा बढारिने खतरा मोल्न पुराना दलहरु तयार नभएको राजनीतिक विश्लेषकहरुको भनाई छ ।
