काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा (माओवादी) ले सरकारविरुद्ध आन्दोलन शुरु गरेको छ ।
शुक्रवारबाट काठमाडौंमा आन्दोलन शुरु भएको घोषणा गरेको हो । उनीहरुले सरकारविरोधी नाराबाजी गरेर विरोध जनाएका छन् । सर्वपक्षिय सरकार गठन हुनुपर्ने उनीहरुको माग छ ।
आन्दोलन घोषणा गर्दै महासचिव चन्दले अन्तरिम सुशीला कार्की सरकारलाई कठपुतलीको संज्ञा दिँदै उनीहरुको मनोभ्रम ध्वस्त पार्न आफूहरु तयार रहेको बताउनु भयो । शुक्रवारबाट माओवादीले आन्दोलनको कार्यक्रम शुरु गरेको र यो निरन्तर जारी रहने बताए ।
चन्दले सुशीला कार्की नेतृत्वको वर्तमान सरकारले आफ्नो पार्टीलाई युद्धमा धकेल्ने प्रयास गरिरहेका भन्दै आपत्ति समेत जनाए । उनले पार्टीको कपिलवस्तु र अर्घाखाँचीमा रहेको श्रम शिविरहरुमा प्रहरीहरुले अपरेशन गरेर सरकारले आफ्नो पार्टीलाई निर्वाचनमा नभई युद्धमा होम्ने चेष्टा गरिरहेको भन्दै आक्रोश व्यक्त गरे । उनले सो ठाउँमा रहेका प्रहरी तत्काल फिर्ता बोलाउने काम नगरे सरकारविरुद्ध कडा संघर्षमा होमिने चेतावनी समेत दिए ।
