News 24 Television
अपाङ्ग महासंघ सुदूरपश्चिममा तालाबन्दी किन ? विवाद थप बल्झिदै !

कैलाली । अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सुनिश्चितताका लागि संगठित राष्ट्रिय अपाङ्ग महासंघ सुदुरपश्चिमको विवाद थप चर्किएको छ । अपाङ्गता भएका व्यक्तिहरूको हकहितका लागि स्थापित छाता संगठन राष्ट्रिय अपाङ्ग महासंघ नेपालका लागि आएको रकम हिनामिना भएको भन्दै विरोध उत्कर्षमा पुगेको हो । 

राष्ट्रिय अपाङ्ग महासंघ सुदूरपश्चिम प्रदेशको नेतृत्वको स्वेच्छाचारिता र आर्थिक अनियमितताका कारण गम्भीर विवादमा फसेको अपाङ्गता क्षेत्रमा काम गर्ने संघसंस्थाहरुले आरोप लगाएका छन् । सुदुरपश्चिम प्रदेश सामाजिक बिकास मन्त्रालयले राष्ट्रिय अपाङ्ग महासंघ सुदुरपश्चिमलाई १५ लाख बजेट दिएको र उक्त रकम काम नगरेर हिनामिना गरेको अपाङ्गता भएका ब्यक्तिहरुले आरोप लगाएका छन् । 

राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, सुदूरपश्चिम प्रदेशको बैंक खाता केन्द्रीय अध्यक्ष देबिदत्त आचार्यले समितिको वैधानिकतामाथि प्रश्न उठाउँदै बन्द गराएका थिए । खाता बन्द भएपनि प्रदेशभर अपाङ्ग भएका ब्यक्तिहरुको तथ्याड्ढ संकलन गर्ने भनेर आएको १० लाख रकम प्रक्रियागत रुपमा काम गरेर खर्च गरिएको पूर्वअध्यक्ष मानबहादुर साउँदले बताएका छन् । 

केन्द्रको परिपत्र नमानेको, प्रदेश समितिले आफूखुसी कार्यक्रम गर्ने र सुदूरपश्चिम प्रदेशले एकलौटी ढंगले साधारणसभा गर्दै अवैधानिक रूपमा नयाँ कार्यसमिति गठन गरेर अपाङ्गता क्षेत्रमा काम गर्ने थुप्रै संस्थाहरुलाई बाहिर राखेकोे आरोप चर्किएको छ । 

यता गैरकानुनी तरिकाले पुरानो कार्यसमितिले चेक काटेर रकम वितरण गरेको उजुरीपछि अहिले छानबिन समिति गठन गरेर काम अघि बढेको राष्ट्रिय अपाङ्ग महासंघ नेपालका अध्यक्ष देविदत्त आचार्यको भनाई छ । 

सुदुरपश्चिम प्रदेश सामाजिक बिकास मन्त्रालयले राष्ट्रिय अपाङ्ग महासंघ सुदुरपश्चिमसंग सम्झौता गरेर  १५ लाख बजेट बिनियोजन गरेको र अपाङ्ग महासंघलाई १० लाख ३ हजार रुपैया भुक्तानी भएको मन्त्रालयले जनाएको छ । 

अपाङ्ग महासंघ सुदूरपश्चिम अवैध ढंगले चलिरहेको भन्दै असन्तुष्ट पक्षले कार्यालयमा तालाबन्दी गरेको छ भने आर्थिक हिनामिनाको आरोपले अपाङ्गता भएका व्यक्तिहरुमाथि प्रत्यक्ष रुपमा समेत प्रभाव पर्न थालेको छ।

प्रकाशित मिति: शनिबार, पुस १२, २०८२  ०८:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update