News 24 Television
कानून मिच्ने कि महाधिवेशन गर्ने भन्नेमा देउवाको परीक्षा, पूर्णबहादुर नामको कार्यबाहक !

काठमाडौं । महाधिवेशन विवादमा फसेको कांग्रेसले नियमित महाधिवेशनको समय गुजार्न थालेपछि विशेष महाधिवेशनमा जानैपर्ने बाध्यता आइलाग्ने तर्क गर्न थालिएको छ । कांग्रेको पार्टी सत्ता कसले हत्याउने भन्ने लडाईका कारण देखिएको संकट विशेष महाधिवेशनमार्फत हल गर्नुपर्ने विषयले कांग्रेसको राजनीति तरङ्गित बन्न पुगेको छ । 

नेपाली कांग्रेस महाधिवेशनको चक्करमा फसेको छ । कांग्रेसमा नियमित महाधिवेशन हुन नसक्ने स्थिति बनिसक्दा इतर पक्षले दबाब सिर्जना गर्न थालेको छ । कांग्रेस महामन्त्री गगन थापाले विशेष महाधिवेशन अबको अनिवार्य सर्त बनेको भन्दै आक्रोश पोखेका छन् । 

गगन थापाले भनेजस्तै विशेष महाधिवेशनको स्थिति कस्तो बन्छ ? यो चासो बढिरहेको बेला कानूनका जानकारहरुले पनि कांग्रेसले अब नियमित महाधिवेशन गर्न नसक्दा विशेष महाधिवेशनमा जानुपर्ने बाध्यतालाई स्मरण गराउन थालेका छन् ।

विशेष महाधिवेशन पक्षधरहरुले शनिवार गरेको कानूनी परामर्श वैठकमा सहभागी कानून व्यवासायीहरुले पुस २८ गतेभित्र विशेष महाधिवेशन बोलाउनैपर्ने बाध्यता रहेको बताएका हुन् । 

नियमित महाधिवेशको कार्यतालिका प्रभावित हुने भएपछि विशेष महाधिवेशन पक्षधरहरुले कानूनी परामर्श गरेका हुन् । काँग्रेसको विधानको १७ (२) लाई टेकेर ५४ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरुले विशेष कारण खुलाएर विशेष महाविधेशनको माग गरेकोले विशेष महाविधेशन गर्नैपर्ने बाध्यता कानून व्यवसायीहरुको तर्क छ ।

अर्का वरिष्ठ अधिवक्ता यदुनाथ खनालले पनि कांग्रेसको विधानमा स्पष्ट व्यवस्था रहेकोले व्याख्याको आवश्यकता नै नरहेको दाबी गरेका छन् । यस्तै, अधिवक्ता आरसी विमल पौडेलले विधानको स्प्रिड अनुसार कुनैपनि वाहानामा विशेष महाविधेशन रोक्न नसकिनेमा जोड दिएका छन् ।

नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिहरुले विशेष महाधिवेशनको माग राखेर गत कात्तिक २८ गते नेपाली कंँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षर बुझाएका थिए । तर नेपाली कांग्रेसको केन्द्रिय समितिको बैठकले पुस २७ देखी २९ गतेसम्म नियमित महाधिवेशन गर्ने निर्णय गरेपछि विशेष विशेष महाधिवेशनको मुद्दा ओझेलमा परेको थियो । 

नियमित महाधिवेशनको कार्यतालिका प्रभावित भएपछि विशेष महाधिवेशन पक्षधरहरु फेरि सक्रिय बनेका छन् । उनीहरुले नियमित महाधिवेशन हुन नसक्ने भएमा विशेष महाधिवेशन गर्नुपर्नेमा बताएका छन् । 

देउवा भने झन सक्रिय

कांग्रेस सभापति शेरबहादुर देउवाले विधानअनुसार महाधिवेशन गर्नुपर्ने भन्दै आएपनि अन्ततः उनी आफै बाधक बन्न पुगेका छन् । कार्यबाहक सभापतिको जिम्मेवारी पूर्णबहादुर खड्कालाई दिएका देउवाले पार्टी बैठकमा अध्यक्षता गर्नेबाहेकमा आफैले सक्रियता बढाइरहेका छन् । 

प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको बैठकमा सहभागी हुने विषय हुन वा अन्य दलका शीर्ष नेताहरुसंगको भेटवार्ता नै किन नहोस्, देउवाले सभापतिको काम आफैले गरिरहेका छन् । तर, कार्यबाहकको जिम्मेवारी पाएका खड्काले भने देउवाको सञ्चार सुत्र जस्तो काम गर्दै अघि बढेका छन् । यसले देउवाको सक्रियतामाथि प्रश्न उब्जाइदिएको छ भने कांग्रेसको आन्तरिक राजनीति पनि नराम्ररी प्रभावित बन्ने खतरा बढ्न थालेको छ ।

प्रकाशित मिति: आइतबार, पुस १३, २०८२  ०९:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update