काठमाडौं । आगामी फागुन २१ का लागि तय भएको प्रतिनिधिसभाको चुनावमा प्यूठानबाट अखिल क्रान्तिकारीका पूर्वउपाध्यक्ष तथा नेपाली कम्युनिस्ट पार्टीका नेता मिलन एमसी प्रत्यक्षतर्फ सिफारिस भएका छन् ।
नेकपा प्यूठानले एमसीसहित प्रत्यक्षतर्फ खुल्लाबाट एमसीसहित ७ जनाको नाम सिफारिस गरेको छ । जसमा लिलामणि पोखरेल, कृष्णध्वज खड्का, भोजविक्रम बुढा मगर, उमाराम पौडेल, अर्जुन कुमार कक्षपती र प्रेम बहादुर विश्वकर्मालाई उम्मेदवारका लागि सिफारिस गरिएको नेकपा प्युठानले जनाएको छ । यीमध्येबाट एकजनालाई फागुन २१ को निर्वाचनमा उम्मेदवार बनाइने बताइएको छ।
त्यस्तै समानुपातिकतर्फ पार्टीले ९ जनाको नाम सिफारिस गरेको छ। समानुपातिक उम्मेदवारमा सरस्वती न्यौपाने, उमा शर्मा, माया विक, इमानसिंह भारती, खेम सुनार, हेमन्त खाम्चामगर, ओविराम विक, मोहन परियार र फत्तेमान परियार रहेका छन्।
एमसी अखिल क्रान्तिकारीको उपाध्यक्षबाट बिदा भएका थिए । उमेरहदका कारण एमसी अध्यक्षको दौडबाट बाहिरिएका हुन् । स्थानीय स्तरमै सक्रिय एमसी प्रतिनिधिसभाका लागि उम्मेदवार सिफारिस भएपछि तत्कालीन माओवादी केन्द्रका सचिव पोखरेलसंगदेखि अन्य नेताहरुसंग प्रतिष्पर्धा गर्नुपर्ने अवस्था बनेको छ।
