काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) रौतहट क्षेत्र नं. ३ ले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चार जनाको नाम प्रत्यक्षतर्फ उम्मेदवारका रूपमा सिफारिस गरेको छ।
पार्टीको क्षेत्रीय बैठकले युवा धार्मिक पर्यटन अभियन्ता पुनम यादवसहित धिरज पटेल, रामभरोषे राय यादव र विन्देश्वर यादवलाई प्रत्यक्षतर्फ उम्मेदवारका रूपमा सिफारिस गर्ने निर्णय गरेको हो ।
यसैगरी, समानुपातिक प्रणालीतर्फ बाहिद अन्सारी, कमल यादव, रिना साह, खजान्ति महतो, लालबाबु साह तथा नुर जहाँ खातुनको नाम सिफारिस गरिएको पार्टी स्रोतले जनाएको छ ।
धार्मिक आस्था र आधुनिक दृष्टिकोणको संयोजन बोकेकी पुनम यादव लामो समयदेखि राजनीति, संस्कृति र समाजसेवामा सक्रिय रहँदै आएकी छन् । आध्यात्मिक कार्यक्रम, रामकथा जस्ता सांस्कृतिक संवाददेखि धार्मिक तथा ग्रामीण पर्यटन प्रवर्द्धनसम्म उनको सक्रिय योगदान रहेको बताइन्छ ।
धार्मिक पर्यटनमार्फत मुलुकको आर्थिक विकास सम्भव हुने विश्वास राख्ने यादव पुरातात्त्विक सम्पदाको संरक्षण, सांस्कृतिक पर्व–उत्सवको प्रवर्द्धन तथा प्राकृतिक सौन्दर्यको संरक्षणमा निरन्तर सक्रिय रहँदै आएकी छन् ।
देश तथा विदेशमा राम्रो जनसम्पर्क स्थापित गर्न सफल युवा महिला नेतृ यादवको उम्मेदवारीले रौतहट– ३ मा राजनीतिक चासो थपिएको छ।
