कैलाली । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो निर्वाचन क्षेत्रका मतदाताहरुसँग् भेटघाटलाई तीव्रता दिइरहेका छन् ।
भेटघाटमा उनले विकास निर्माणका आयोजनाहरुको रेखदेख, अनुगमन र निरीक्षण गरिरहेका छन् । विकास निर्माणदेखि पछिल्लो राजनितिक घटनाक्रमका विषयमा पनि मुख्यमन्त्री शाहले निर्वाचन क्षेत्रका मतदाता र शुभेच्छुकहरुसँग अन्तरक्रिया गरिरहेका छन् ।
कैलाली क्षेत्र न.२ को प्रदेश सभा (क) बाट प्रत्यक्ष निर्वाचित भएका मुख्यमन्त्री शाहले आफ्नो निर्वाचन क्षेत्रमा उल्लेखनीय वजेट वितरण गरेका छन् ।
मुख्यमन्त्री शाहले केही दिन पहिले एकै दिन झण्डै १ अर्व बराबरका आयोजनाहरुको शिलान्यास गरेर नयाँ रेकर्ड नै कायम गरेका थिए । कैलाली निर्वाचन क्षेत्र न.२ का मतदातहरुसंगको भेटघाटमा मुख्यमन्त्री शाहले जेन जी आन्दोलन पश्चात मुलकमा निर्माण भएको परिस्थितीलाई नेपाली कांग्रेसले नजिकबाट नियालिरहेको बताए ।
अहिलेको असहज परिस्थितिको नेतृत्व लिन सक्ने पार्टीको रुपमा कांग्रेस र नेताको रुपमा शेरबहादुर देउवा प्रमाणित भएको पनि उनको भनाइ छ ।
स्वास्थ्य उपचार गरेर आफ्नो निर्वाचन क्षेत्रमा पुगेका मुख्यमन्त्री शाहले नेपाली कांग्रेसको महाधिवेशनको लागी सबै कांग्रेसजनहरु तयार हुनु पर्ने बताएका छन । मुख्यमन्त्री शाहले नेपाली कांग्रेस भित्र मत मतान्तर रहेतापनि बैचारिक धरातलमै रहेको बताए ।
भदौ २३ र २४ गते भएको जेन जी आन्दोलनले क्षतिग्रस्त भएका प्रदेश सरकारका संचनाहरुको पुनः निर्माण लगभग सकिएको र जनताहरुलाई सेवा दिने विषयमा सरकार र सेवा कार्यालयहरु लयमा फर्किसकेको मुख्यमन्त्री शाहले जानकारी दिए । सुदूरपश्चिम प्रदेश सरकार जनताको सेवा प्रवाहमा कटिबद्ध रहेको मुख्यमन्त्री शाहको दाबी छ ।
यसअघि मुख्यमन्त्री शाहले सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुको भ्रमण गरेका थिए । असहज स्वास्थ्य परिस्थितिका बाबजुत पनि मुख्यमन्त्री भेटघाटको रफ्तार बढाइरहेका छन् ।
