काठमाडौं । दुई चर्चित अनुहार रवि लामिछाने र बालेन्द्र शाह (वालेन)को मिलनले नेपाली राजनीति गर्माएको छ । चर्चामा रहेका अन्य अनुहार पनि नयाँ ध्रुवीकरणको खोजीमा छन् । बैकल्पिक शक्ति बनाउने प्रयासमा भएको युवाहरुको मिलनले पुराना राजनीतिक दलहरुलाई झस्काइदिएको छ ।
पुराना भनिएका मुख्य राजनीतिक दलहरुले पनि युवा पुस्तालाई नै अघि सार्ने रणनीतिमा छन् । यद्यपी कांग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टीका नेताहरुले रवि–बालेन मिलनबाट तरंगित हुनु नपर्ने बताउन थालेका छन् ।
आइतबार विहान रास्वपा सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह विच भएको ७ बुँदे सहमतिलाई बैकल्पिक राजनीतिक शक्ति ध्रूबीकरणको आइस ब्रेक दाबी गरिएको छ ।
रवि नेतृत्वको रास्वपा र बालेन समर्थक माझ खुसिको माहोल बन्दा परम्परागत तथा मुलधारका राजनीतिक शक्ति माथि ठुलै दबाब सिर्जना हुने विश्लेषण भइरहेका छन् । भदौँ २३ र २४ को जेनजी आन्दोलनले भ्रष्ट्राचार नियन्त्रण, सुशासन र शिर्ष नेतृत्वलाई विश्रामको एजेण्डा बोकेको थियो ।
त्यहि एजेण्डालाई स्थापित गर्नेगरी रास्वपा सभापति रवि लामिछानेले काठमाडौं महानगरका मेयर बालेन शाहको साथ पाएका छन् । बालेनलाई आफ्नो साथमा लिन रविले भावी प्रधानमन्त्री दिने सम्झौतामा हस्तक्षर नै गरेका छन् ।
यही सम्झौताकाबीच बालेन रास्वपाबाट फागुन २१ को प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा लड्ने भएका छन् । पछिल्लो समय युवा पंक्तिको ठूलो समर्थन बटुलेका बालेनको राजनीतिक दल र शक्ति नदेखिए पनि उनीप्रति युवा आकर्षण ब्याप्त छ । जसले गर्दा बालेनलाई प्रधानमन्त्रीको आश्वासन दिएर रविले बालेनलाई आफ्नो पार्टीमा भित्राएका छन् । यो सहमतिले पुराना राजनीतिक दलमा ठूलै भुकम्प पैदा गरिदिएको छ । तर ती दलका नेताहरु रवि–बालेन मिलनले केही फरक नपर्ने प्रतिक्रिया दिएका छन् ।
रवि र बालेन मिलनलाई परम्परागत राजनीतिक शक्तिहरुले सकरात्मक भने पनि आफूहरुका लागि चुनौतीपुर्ण रुपमा बुझेका छन् ।
जेनजी आन्दोलनबाट सत्ताच्यूत एमाले केहि गरम् देखिदा नेपाली कांग्रेस र माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतको डेढ दर्जन दल तथा समूह मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टी केहि नरम देखिएका छन् ।
जेनजी आन्दोलनलाई प्रतिगमनको संज्ञा दिँदै आएको एमालेले भने अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वमा एमाले नै मुलुकको बलियो राजनीतिक शक्ति बन्ने बताइरहेका छन् ।
यता, तत्कालिन एमालेको सत्ता सहयात्री दल नेपाली कांग्रेसमा महाधिवेसनको माहोलले छाएको छ । पुर्वनिर्धारित मितिमै निर्वाचन भएमा यहि पुष २६ देखि २८ मा १५ औँ महाधिवेसन हुनेछ । महाधिवेसनबाटै जेनजीको भावना अनुसारको नयाँ नेतृत्व ल्याउने कांग्रेसको तयारी हो । रुपान्तरणको कांग्रेस बनेर चुनावमा जाने तयारी गरेको कांग्रेसले रवि बालेन एकतालाई सकारात्मक नै लिने कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्की बताउँछन् ।
उता, विभिन्न १६ घटक मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) अन्तरिम सरकारले पाएको म्यान्डेट अनुसार फागुन २१ को निर्वाचनमा जान तयार छ ।
पुष्पकमल दाहाल प्रचण्ड संयोजक रहेको नेकपाले जेनजी आन्दोलन स्वीकार गर्दै ताजा जनादेशमा जान हतारो गरिरहेको छ । नेकपा नेताहरुले बालेन–रवि मिलनलाई विचार विनाको एकता भन्दै क्षणिक हुने बताएका छन् । युवाहरुमा परिवर्तन भोक देखिए पनि पपुलारिजम्को राजनीतिमा विश्वास नगर्ने नेकपा नेता राजेन्द्र पाण्डे बताउँछन् । पार्टी संगठन र विचारले चल्ने भन्दै आकाशमा हेरेर धरातल कहिले नापिन नसक्ने उनको विश्लेषण छ ।
जेनजी आन्दोलन पश्चात् नागरिकमा पुराना राजनीतिक दलप्रति अविश्वास बढ्दा नयाँ र बैकल्पिक भनीएका दलप्रति अपेक्षा बढ्दो छ । भदौँ २३ र २४ को जनेजी आन्दोलनबाट प्राप्त अभुतपुर्व उपलब्धीलाई संस्थागत गर्न जेनजीहरु लागि परेका छन् ।
उनीहरुको रोजाई नयाँ र बैकल्पिक शक्ति देखिन्छ । रवि र बालेनको एकतालाई सकरात्मक रुपमा लिँदै कुलमान घिसिङ, हर्क साम्पाङ र गोपी हमाललाई संगै लानुपर्ने तर्क जेनजी अगुवाहरुको छ ।
रवि–बालेन एकताले राष्ट्रिय राजनीतिमा नयाँ प्रतिष्पर्धा हुने सम्भावना बढ्दै गएको छ । एकातर्फ नयाँ शक्ति त अर्काेतर्फ परम्परागत शक्ति ।
नयाँ शक्ति जेनजीको बलमा चुनावी प्रतिष्पार्धामा होमिँदा मुलधारका राजनीतिक दल सांगठनिक र सहकार्यलाई शक्ति मानेका छन् । यस्तो अवस्थामा फागुन २१ को आम चुनावमा कुन शक्तिको पल्लाभारी हुने हो प्रतिष्ठाको विषय बनेको छ ।
