काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सञ्जाल र शहरबजारमा होहल्ला गर्ने, इतिहास र निष्ठाविहीनहरूले देश कब्जा गरिसकेको भ्रम फैल्याएको टिप्पणी गरेका छन् ।
रुकुमपूर्वदेखि काठमाडौंसम्म यात्रामा आएका केशव रावलको सम्मानसहितको यात्रा समापन कार्यक्रममा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् । दशकौँको संघर्ष, त्याग र तपस्याबाट स्थापित पार्टीहरू अब आवश्यक छैनन् भन्ने भाष्य निर्माण गर्न खोजिएको उनको भनाइ छ ।
उनले सामाजिक सञ्जालमार्फत हल्ला गर्नेहरूलाई नै मुक्तिदाता जस्तो गरी प्रस्तुत गर्दा नागरिकमा भ्रम पार्न खोजिएको भए पनि आवस्तविकता त्यस्तो नभएको बताए ।
प्रचण्डले भने, ‘सामाजिक सञ्जाल र्हेयो भने, शहरबजारका मान्छेका होहल्ला र्हेयो भने त विचारविहीन, इतिहासविहीन, त्याग तपस्या बलिदान र निष्ठाविहीनहरूले नेपाल पूरै कब्जा गरिसके भनेजस्तो छ । पार्टीहरू त सिद्धिसके भन्ने छ । जसले दशकौँ लडाईं गरेर त्याग र तपस्या विचार र निष्ठाका कीर्तिमान राखेका बदमास र यिनको अब काम छैन भन्याजस्तो । सोसल मिडियाबाट होहल्ला गर्नेहरू नै मुक्तिदाता हुन् भनेर बजार र मोबाइल हेर्नेको हातहातमा त्यस्तै हो कि भन्ने भ्रम पर्ने गरेको छ । तपाईले पैदल यात्रा गरेर सबै ठाउँका र सबै पार्टीका समर्थकहरुको भावना बुझ्दा त्यस्तो होइन है भन्ने बुझियो । अहिले पनि नेपाली कम्युनिष्ट पार्टी र हाम्रो एकतअ प्रक्रियाप्रति सकारात्मक भाव छ भनेर तपाईले जुन कुरा राख्नुभयो यसले पनि बलियो सन्देश नै प्रवाह गर्नुभयो ।’
उनले रावलको पैदल यात्राले पार्टीका नेता तथा कार्यकर्ताहरुमा समेत एकताको सन्देश प्रवाह भएको दाबी गरे ।
