News 24 Television
रवि, वालेन र कुलमान परास्त गर्न ओली, देउवा र प्रचण्ड मिल्लान् ?

काठमाडौं । पछिल्लो तीन दशक कांग्रेस, एमाले र तत्कालिन माओवादी राष्ट्रिय राजनीतिमा हावी भए । तर तीन दशकमा यी दलहरुले जनताको भरोसामाथि कुठाराघात गरे । त्यसैको प्रतिफल  भदौँ २३ र २४ मा जेनजी विद्रोह भयो । त्यही आन्दोलनले दुई ठूला दल सम्मिलित सरकारलाई नै सत्ताच्यूत गरिदियो ।

अहिले विघटित प्रतिनिधिसभाको चौंथो दल रास्वपा वैकल्पिकको शक्ति केन्द्र बन्ने बाटोमा छ । रवि, वालेन र कुलमानको मिलनले नयाँ पार्टीहरु हौसिएका छन् । अब पुराना तथा मुलधारका राजनीतिक दल कांग्र्रेस, एमाले र नेकपाको चुनावी रणनीति के होला ? 

नेपाली राजननीतिमा फागुन २१ मा हुने प्रतिनिधिसभा चुनावमा नयाँ र पुराना दलबीच  प्रतिष्पर्धा हुने देखिएको छ । ७९ सालको निर्वाचनबाट अप्रत्याशित रुपमा उदाएको रास्वपा वालेन शाह र कुलमान घिसिङको आगमनले आगामी निर्वाचनबाट देशकै ठूलो शक्ति  बन्ने दाबी गरिरहेको छ । 

सेलिब्रिटी एवम् चर्चित अनुहारका पात्रहरुबीचको एकताले  रास्वपा सर्वशक्तिमान बन्ने आंकलन भइरहँदा पुराना भनिएका मुलधारका शक्ति नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टी छुट्टाछुट्टै चुनावी मोर्चामा होमिन्छन् वा विगतको निर्वाचनमा जस्तो महागठबन्धन बन्छ भन्ने अहिले नै भन्न सकिने अवस्था छैन । 

पपुलिस्टले भरीएको रास्वपा आगामी चुनावमा मुलुककै प्रमुख पार्टी बन्नेसम्मका विश्लेषण हुन थालेका छन् । अर्कातिर दशौं लाख संगठित सदस्य रहेको सांगठनिक रुपमा मजबुद पुराना दलहरु पनि नयाँ एकता  र रणनीतिको खोजीमा छन् । 

कांग्रेस–एमाले चुनावी सहकार्य हुनसक्ने

भदौँ २३ र २४ को जेनजी आन्दोलनले सत्ताच्युत हुन पुगेका विघटित प्रतिनिधिसभाका प्रमुख सहयात्री दल नेपाली कांग्रेस र नेकपा एमाले विच आगामी चुनावमा सहकार्य हुनसक्ने विश्लेषण सुरु भएका छन् । 

नयाँहरुको एकताले राजनीतिक अस्तित्व जोगाउन पनि एकताको विन्दु रोज्न सक्ने चर्चा सुरु भएका हुन् । एक्लाएक्लै चुनाव लडेर पराजय हुने सम्भावना बढ्दा केपी शर्मा ओली र शेरबहादुर देउवा विच चुनावी एकता हुनसक्ने सम्भावना बढ्दै गएको छ । 

यी दुई नेताको सम्बन्ध पनि पछिल्लो समय सुमधुर नै छ । नेताहरु पनि चुनावी तालमेल हुनसक्ने खालको प्रतिक्रिया दिन थालेका छन् । कांग्रेस एमाले दुबै शक्तिको संयुक्त आन्दोलनबाट लोकतन्त्र पुर्नस्थापना गर्न सक्ने भन्दै एमाले नेताहरुले दुई दलबीचको मोर्चाबन्दी अपरिहार्य भएको बताएका छन् । 

एमाले र नेकपा एकताको सम्भावना कति ?

२०७२ सालको संविधान पश्चात् ०७४ मा भएको पहिलो संसदीय चुनावमा नेपाली राजनीतिका ठुला कम्युनिष्ट दल एमाले र तत्कालिन माओवादी विच एकता भएको थियो । एकता मार्फत नेकपा पार्टी नाममा चुनावमा जाँदा झण्डै दुई तिहाई हाराहारी जनमत सहित एकल सरकार बनेको थियो । जसको नेतृत्व केपी शर्मा ओलीले गरेका थिए । 

ठूला कम्युनिस्ट पार्टीहरुको एकता र सरकारको स्थायीत्वको नारा अघिल्लो निर्वाचनमा ती दलले जनतामाझ लगाएका थिए । परिणाम पनि सोही अनुसार नै आयो । तर त्यो एकता लामो समय टिक्न सकेन । 

२ बर्षमै छिन्नभिन्न भयो । जेनजी आन्दोलनपछि अन्य कम्युनिस्ट घटकहरुबीच एकता र ध्रुवीकरण तीब्र हँुदा पनि एमालेसँगको सम्बन्ध सुध्रिएको छैन । तर विगतका परिघटनाहरु हेर्दा राजनीतिमा असम्भव भन्ने केही देखिदैन । त्यसैले यतिबेला परिस्थिति भिन्न बन्दा पुनः एकता नहोला भन्न सकिदैन । 

नयाँ दलहरुले बैकल्पिक शक्ति निर्माण गर्दा पुष्पकमल दाहाल प्रचण्ड संयोजक रहेको दल नेपाली क्युनिष्ट पार्टी र नेकपा एमाले नेताहरु अन्तरिक छलफलमा जुट्न थालेको चर्चा सुरु भएका छन् । यद्यपी नेपाली कम्युनिस्ट पार्टीका नेता राजेन्द्र पाण्डे भने एकताका लागि पहिला एमाले अध्यक्ष ओली सुध्रिनुपर्ने बताउँछन् ।

कांग्रेस, एमाले र नेकपा सहकार्य होला ? 

रवि, वालेन र कुलमान एकतापछि परम्परागत शक्ति विचको चुनावी सहकार्यको चर्चा पनि राजनीतिक बृतमा चल्न थालेको छ । राजनीतिक अस्तित्व रक्षाका लागि पनि ओली, प्रचण्ड र देउवा चुनावी सहकार्य गर्ने सम्मका सम्भावना औंल्याउन थालिएको छ । तर कम्युनिस्ट पार्टीसँगको सहकार्यले पार्टीले ठूलो नोक्सानी ब्यहोरेको भन्दै कांग्रेस भित्र बहस मात्रै चुलिएन, आफ्नै पार्टीका उम्मेदवारलाई हराउँन अन्तरघाटहरु भएका थिए । त्यसैले यसपाली ठूला तीन शक्तिहरु एकै ठाउँमा उभिने सम्भावना भने सहज देखिदैन ।

 

प्रकाशित मिति: बुधबार, पुस १६, २०८२  ०८:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update