News 24 Television
ठूला दलमा त्रास किन ? कांग्रेस–एमाले तालमेलको सम्भावना किन बढ्दैछ ?

काठमाडौं । नेकपा एमालेले ११ औं महाधिवेशन सम्पन्न गरेपछि मदन–आश्रितको नाममा महाधिवेशनको सन्देश र राजनीतिक निकास नामक कार्यक्रम आयोजना ग¥यो । 

एमालेले यो कार्यक्रममा वक्ताको रुपमा बोलाएका पात्र, नेता र राखेको विचारबाट राजनीतिमा अब कांग्रेस एमालेको सहकार्य नजिक रहेको सन्देश प्रवाह गरिरहेको छ । रुखबाहेक चिन्हमा भोट हाल्ने वातावरण बनाउन दिन्नौं भन्ने कांग्रेस नेताहरु के गर्लान ? एमालेले किन यसरी सहकार्यको बाटोमा जान थाल्यो ? यो चासोको विषय बनेको छ । 

एमाले राजनीतिक रुपमा आफुलाई बलियो संगठन, लाखौं कार्यकर्ता र बलियो नेतृत्व भएको पार्टीको रुपमा दाबी गर्छ । तर, जेनजी आन्दोलनपछि एमाले तर्सिएको छ । सहकार्यको ढोका शक्तिको हिसाबसंग नजिक ल्याउने प्रयास गरिरहेको छ । यसले पनि एमालेको त्रसित मानिसकता, फागुन २१को चुनाव र एमाले शीर्ष नेताहरुको टिप्पणीलाई रोचक मोडमा पु¥याएको देखिन्छ । एमाले विचार दृष्टीकोणका आधारमा वामपन्थी दल हो । 

वामपन्थी दलले स्वभाविक सहकार्य वामपन्थीसंग नै गर्ने प्रचलन हुन्छ । तर, नेपालको हकमा भने यस्तो देखिन्न । विगतमा प्रचण्डले वामपन्थी नामको दलको नेतृत्व गरेपनि कांग्रेससंग चुनावी तालमेल गरेका छन् । यस्तो स्थितिमा पनि आफुलाई बलियो शक्ति दाबी गर्ने एमालेले कांग्रेससंगको सहकार्य गर्नेमा धेरैलाई विश्वास नलाग्ने स्थिति थियो । तर, जेनजी आन्दोलनपछि फेरिएको राजनीतिमा भने एमाले त्रासमा देखिन्छ । कांग्रेस एमालेसंगको सहकार्यलाई छिटो अनुमोदन गर्नुपर्नेमा देखिन्छ । 

एमाले उपाध्यक्षले मुखै फोरेर यस्तो जिकिर गरेपछि केहिलाई शंका पनि लागेको देखिन्छ । तर, एमालेले आयोजना गरेको कार्यक्रममा कांग्रेस नेता मीन विस्वकर्मालाई निमन्त्रणा दिनु तर, वामपन्थी दलका नेताहरुलाई वास्ता नगर्नुले नै यसको प्रष्ट संकेत गरिसकेको छ । 

एमालेको मञ्चमा पुगेका कांग्रेस नेता मीन विश्वकर्मा र एमाले अध्यक्ष केपी ओलीको आक्रोश, आरोप र तनाव भने एकै शक्तिप्रति लक्षित देखिन्छ । 

उसोतः दुई ठूला शक्तिजस्तै अर्को तेश्रो ठूलो शक्ति नेपाली कम्युनिस्ट पार्टी पनि आत्तिएको देखिन्छ । आक्रोश र कुण्ठा उस्तै र उही देखिन्छन् । 

नेताहरुले दिने अभिव्यक्तिको सार एकै शक्ति केन्द्रित भएपनि उनीहरुको मिलाप अंकगणितको निर्भरतामा हुने देखिन्छ । तर, कांग्रेस र एमालेको सहकार्य नयाँ शीराबाट शुरु भई कता पुग्ला ? 

आफू दुई दलमात्रै प्रतिष्पर्धी ठान्ने नेताहरुले कसरी चुनावी तालमेल गर्लान ? अझं, रुखबाहेकमा मत नै हाल्ने स्थिति नहुने दाबी गर्ने कांग्रेस नेताहरु के गर्लान ? तमाम प्रश्नको जगमा नेपालको राजनीति उभिएको छ । तर, यसका अन्य पाटा–पक्षहरु जबरजस्त आउन थालेपनि यसको समीक्षा भने निर्वाचनबाटै हुने देखिन्छ ।

प्रकाशित मिति: बुधबार, पुस १६, २०८२  ०९:००
प्रतिक्रिया दिनुहोस्
Weather Update