News 24 Television
राष्ट्रियसभा निर्वाचनपछि गठबन्धनको ढोका खुल्ने

काठमाडौं । पुराना राजनीतिक दलहरूको विकल्प खोज्दै उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा पछिल्लो समय बालेन शाह र कुलमान घिसिङ जस्ता चर्चित पात्रहरुबीचको सामिप्यताले नेपाली राजनीतिमा नयाँ तरङ्ग पैदा गरिदिएको छ । 

वैकल्पिक शक्तिहरूको यो प्रभावले वर्षौँदेखि सत्ता र शक्तिमा रहेका नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र जस्ता ठूला दलहरूलाई रक्षात्मक अवस्थामा पु¥याइदिएको विश्लेषण भइरहेको छ । 

यही दबाबका बीच मुलुकका दुई ठूला प्रतिस्पर्धी दल एमाले र कांग्रेस गठबन्धनको चर्चा उत्कर्षमा छ । यद्यपि, दुवै पक्षका नेताहरूले यसबारे औपचारिक निर्णय राष्ट्रिय सभाको निर्वाचनपछि मात्र हुने सङ्केत गरेका छन् ।

पुराना दलहरूको कार्यशैलीप्रति असन्तुष्ट मतलाई समेट्दै अघि बढेको राष्ट्रिय स्वतन्त्र पार्टीमा स्वतन्त्र ऊर्जा बोकेका बालेन शाह र विद्युत प्राधिकरणको कुशल ब्यवस्थापन भनी जनस्तरमा चर्चा कमाएमा कुलमान घिसिङ जस्ता पात्रहरूको प्रवेशले पुराना दलहरूको जग हल्लाई दिएको छ । 

संसद पुर्नस्थापनाको मुद्दा बोकेर होमिएका दलहरूलाई पछिल्लो राजनीतिक गतिविधि र शक्ति सन्तुलनले नयाँ रणनीति बनाउन बाध्य पारेको छ । 

विशेषगरी नेकपा एमालेले आन्तरिक रूपमा निर्वाचनको तयारी तीव्र पारेको छ । फागुनमा निर्वाचन गर्ने वातावरण नभएको दाबी गरेपनि एमालेले निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारहरूको बन्दसूची बुझाउन बाध्य भयो । 

पुस २० गतेभित्रै प्रतिनिधि सभा सदस्यका लागि सम्भावित उम्मेदवारहरूको नामावली सिफारिस गरी केन्द्रमा पठाउन जिल्ला र प्रदेश कमिटीलाई एमालेले निर्देशन दिइसकेको छ । महाधिवेशनको घनचक्करमा रुपलिएको  नेपाली कांग्रेसभित्र पनि चुनावी सरगर्मी बढेको छ । 

जिल्ला तहबाट उम्मेदवारको नामावली सङ्कलन गर्ने काम कांग्रेसले जारी राखेको छ । वैकल्पिक शक्तिहरू एकै ठाउँमा आउँदा पुराना भोट बैंक असुरक्षित हुने देखेपछि कांग्रेस र एमाले बीच नै चुनावी तालमेल हुने चर्चा राजनीतिक वृत्तमा मात्र होइन, एमाले नेताहरुले नै संकेत दिइसकेका छन् । तर, राष्ट्रियसभाको निर्वाचनपछि मात्रै तालमेलको ढोका खोलिने एमाले अध्यक्ष केपी शर्मा ओली निकट मानिने नेता भानुभक्त ढकाल बताउँछन् । 

राष्ट्रिय सभाको निर्वाचनमा कुनै पनि दलको एकल बहुमत नआउने निश्चित छ । यही गणितीय बाध्यतालाई देखाउँदै एमाले, मधेस केन्द्रित दल र साना कम्युनिष्ट घटकहरूसँग कांग्रेसले पनि संवाद जारी राखेको छ । 

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महत अहिलेको अवस्थामा कांग्रेस राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन गरेर अगाडी बढ्ने मनसायमा रहे पनि आम निर्वाचनका सन्दर्भमा कुनै छलफल नभएको बताउँछन् । महत पनि राष्ट्रिय सभा निर्वाचन पछि मात्रै यस बिषयमा छलफल हुन सक्ने संकेत गर्छन् । 

मुलुकमा देखिएको राजनीतिक अस्थिरता र संविधान माथि उठ्न सक्ने चुनौतीलाई सम्बोधन गर्न ठूला दलहरू एकै ठाउँमा उभिनुपर्ने बाध्यता एकातिर छ भने अर्कोतिर सैद्धान्तिक भिन्नता भएका कांग्रेस–एमाले मिल्दा कार्यकर्ता तहमा जाने नकारात्मक सन्देशको डर पनि उत्तिकै छ ।

संविधानको रक्षाको एजेण्डामा एक भए पनि निर्वाचनमा भने मित्रवत प्रतिस्पर्धा गर्नु नै ठिक कतिपय नेताहरुको बुझाइ छ ।  

एमाले र कांग्रेसका शीर्ष नेताहरूबीच औपचारिक संवाद नभए पनि दोस्रो तहका नेताहरूबीच अनौपचारिक छलफल भइरहेका छन् । विशेषगरी राष्ट्रिय सभा निर्वाचनमा हुने सहकार्यलाई आधार मानेर आगामी आम निर्वाचनमा लोकतान्त्रिक र संविधानको रक्षा हुनु पर्ने माग राखेका शक्तिहरूको निर्वाचनमा हुन सक्ने गठबन्धनलाई नकार्न नसक्ने दुवै तर्फका नेताहरु बताउँछन् । 

वैकल्पिक शक्तिहरूको बढ्दो दबाबले अन्ततः दुई ठुला राजनीतिक पाटी कांग्रेस एमालेले चुनावी गठबन्धन गर्नु पर्ने बहसले आगामी दिनमा अझै मूर्त रूप लिनेछ । 

प्रकाशित मिति: बिहीबार, पुस १७, २०८२  ०८:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update