कैलाली । कैलालीको अत्तरियामा रहेको दुग्ध विकास संस्थान (डीडीसी) र गोदावरी नगरपालिका – १ को वडा कार्यालयमा तालाबन्दी गरिएको छ ।
स्थानीयले डीडीसी अत्तरियाबाट धनगढी सार्न थालिएपछि अवरोध गर्दै डीडीसी र वडा कार्यालयमा तालाबन्दी गरेका हुन् । एकाएक डीडीडीमा जडान भएका उपकरण सार्न थालिएपछि लामो समयदेखि डीडीसी अत्तरियाबाट सार्न नहुने भन्दै आन्दोलन गरिरहेका स्थानीयले विरोधमा उत्रिएका हुन् ।
कैलालीको अत्तरियामा रहेको दुग्ध विकास संस्थान (डीडीसी) र गोदावरी नगरपालिका – १ को वडा कार्यालयमा स्थानीयले तालाबन्दी गरिदिएका छन् ।
एकाएक डीडीडीमा जडान भएका उपकरण अन्यत्र सार्न थालिएपछि स्थानीयले विरोध जनाउँदै सार्ने काम रोकेका हुन् । स्थानीयले डीडीसीको विस्तारका लागि आवश्यक जग्गा उपलब्ध गराउन र डीडीसीलाई अत्तरिया जानबाट रोक्न वडा कार्यालय र नगरपालिकाले बेवास्ता गरेको भन्दै वडा नम्बर १ को कार्यालयमा पनि तालाबन्दी गरेका हुन् ।
स्थानीयले डीडीसीका उपकरण सार्नका लागि ल्याइएका क्रेन र ट्रकलाई समेत फिर्ता पठाएका छन् । विगत एक वर्षदेखि डीडीसी अत्तरियाबाट सार्न नहुने माग गर्दै सङ्घर्षका कार्यक्रम गरिरहेको भए पनि अहिले आएर एकाएक आफूहरूलाई जानकारी नै नदिएर डीडीसी सार्न थालिएपछि विरोध गरेको स्थानीयको भनाइ छ ।
गत वर्ष पुस महिनामै डीडीसी धनगढी सार्ने प्रक्रिया अघि बढेको भन्दै स्थानीयले विरोध गरेका थिए । डीडीसीका लागि आवश्यक जग्गा गोदावरीमै उपलब्ध गराउनका लागि कार्यदलसमेत गठन गरिएको थियो ।
गोदावरी नगरपालिका–१ का वडाध्यक्षकै संयोजकत्वमा गठन गरिएको कार्यदललाई डीडीसीका लागि आवश्यक जग्गा उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो । वडाध्यक्ष गोपाल दत्त भट्ट भने डीडीसी सार्न नहुने आफूहरूको पनि चाहना रहेको भन्दै आन्दोलनमा ऐक्यबद्धता जनाएका छन् । आवश्यक जग्गा उपलब्ध गराउनको लागि कागजात पठाएको भए पनि कुनै प्रतिक्रिया नदिएर अहिले सार्ने खोजिएको वडाध्यक्ष भट्टको भनाई छ ।
गोदावरी नगरपालिकाले भने यसै क्षेत्रमा जग्गा उपलब्ध गराउने भन्दै बाहिर नजान आग्रह गर्दै आएको छ । दुग्ध विकास संस्थानले गोदावरी नगरपालिकामा भवन सहितको संरचना नपाएपछि सार्न खोजेको बताएको छ ।
