काठमाडौँ । आगामी निर्वाचनका लागि नयाँ शक्तिहरुले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपालाई नै केन्द्रबिन्दू बनाएका छन् । झण्डै एक वर्षसम्म कारागारमा रहेका रवि लामिछाने रिहा भएपछि नै थालिएको एकता अभियानले काठमाडौं महानगरका मेयर बालेन शाह र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङलाई नै रास्वपा प्रवेश गराएका छन् । रविले सुरुमा बालेनसँग एकता गरे । यसपछि अन्तिम समयमा आएर उज्यालो नेपाल पार्टीलाई पनि रविले रास्वपामा समाहित गराएका छन् । यो सहमतिभित्र बालेन रास्वपाबाट भावी प्रधानमन्त्रीका रुपमा अघि बढेका छन् । र, कुलमान घिसिङ पार्टीमा दोस्रो वरियतासहित रास्वपमा सामेल भएका छन् ।
आउँदो निर्वाचनमा बालेन–कुलमान र रवि लामिछानेसहितको यो वैकल्पिक शत्तिले बहुमतसहितको सरकार निर्माण गर्ने योजना अघि सारिएको छ । उनीहरुले जनता र कार्यकर्तालाईसमेत स्पष्ट रुपमै सरकार निर्माणको आश्वसन देखाएका छन् । तर निर्वाचन मत परिणामले अग्रिम भागठबण्डा र शक्तिको बाँडफाँटलाई न्याय दिन्छ वा दिँदैन भन्ने आंकलन अहिले नै गर्न सकिने अवस्था छैन ।
रवि–बालेन बोण्डिङ कस्तो ?
एकताको चर्चा चल्दै गर्दा फरक चरित्र र विशेस्ताका रवि–बालेनबीच सहमति नजुट्ने आंकलन व्यापक रुपमा भए । यद्यपि निरन्तर प्रयास र छलफलपछि उनीहरुले एकतालाई अन्तिम रुप दिए । एकता लगत्तै बालेनले स्टाटस नै लेखरे रास्वपाप्रति अपनत्वको संकेत गरे । उनले पार्टीको चुनाव चिन्ह घण्टीनै राखेर फेसबुकमा शुभप्रभात लेखेका थिए । यसपछि कुलान पनि रास्वपामा समाहित हुँदा प्रमुख साँक्षी बालेन नै बनेका थिए । कुलमान रास्वपा प्रवेशपछि बालेनले पुनः मुख्य तीन जनाको तस्बीर राखेर ‘म नेपाल हाँसेको हेर्न चाहन्छु’ भन्दै स्टाटस लेखरे पुनः रास्वपाप्रतिको अपनत्व र स्वीकारोक्ति देखाएका छन् ।
उता रवि लामिछानेले पनि बालेनलाई नै भावी प्रधानमन्त्रीका रुपमा पार्टीले अघि सारको विषयलाई पटक–पटक दोहो¥याउँदै आएका छन् । रवि बालेन पनि परिवर्तनको वाहक रहेको र उनैले नयाँ पुस्तालाई राजनीतिक चेतना फैलाएको भन्दै प्रशंसामा लागेका छन् । बालेनले महानगरप्रमुख रहेर काम गर्दा परिवर्तनको झिल्को बालेको तर अब एकतापछि राँको नै बाल्ने भनेर बालेनसँगको एकतालाई रविले उत्साहप्रद टिप्पणी गरेका छन् ।
बालेन समर्पित रविको यो टिप्पणी र बालेनको रास्वपाप्रतिको स्वकारोक्तिले रवि–बालेन ‘बोण्डिङ’ मिल्दै गएको देखिन्छ । यदी यही सहकार्य र सह–अस्तित्वले निरन्तरता पाए रवि–बालेनकै एकताका कारण रास्वपालाई जनसमर्थन मिल्ने प्रष्ट छ ।
समानुपातिकका नाम सच्याउने प्रतिबद्धता
रास्वपाले आगामी निर्वाचनका लागि समानुपातिकमार्फत सांसद बन्ने सूची तयार गर्दा नाता र दातालाई नै प्राथमिकता दिएको आरोप खेपेको छ । पुराना दलहरुमा हावी हुने यस्तो प्रकृतिका विकृतिमाथि खरो प्रश्न उठाउँदै आएको रास्वपाले नै पनि आफ्नो समानुपातिक उम्मेदवारहरुमा नाता र दातालाई नै समेटेपछि प्रश्न उठ्नु स्वभाविक थियो । तर यो सूचीप्रति गल्तिबोध गरेको रास्वपाले नामावली सच्याउने प्रतिबद्धता जनाएको छ । रास्वपा सभापति रविले नै आफन्तवाद र आर्थिक विषयबाट प्रेरित भएर उम्मेदवार सिफारिस नभएको तर यदी त्यस्तो भएमा पुनरविचार गर्ने प्रतिबद्धता जनाएका छन् ।
यता कुलमान घिसिङले पनि समानुपातिक सांसदको सिफारिसमा आफ्नो नामसँग जोडिएर विभिन्न टिका टिप्पणी गरिएको भन्दै प्रष्टिकरण दिएका छन् । कुलमानमाथि समानुपातिक सांसद सिफारिस गर्दा आफन्तको नाम पठाएको आरोप लागेको थियो । यसपछि उनले सामाजिक संजालमा स्टाटस लेख्दै भनेका छन्, ‘म सार्वजनिक जीवनमा प्रवेश गरेदेखि नै नातावाद, कृपावाद र स्वार्थको राजनीतिविरुद्ध निरन्तर उभिँदै आएको छु । त्यही इमानदार यात्रालाई कमजोर पार्ने उद्देश्यले तथ्य नबुझी फैलाइने यस्ता नियोजित हल्ला र आरोपहरू दुःखद छन् । राजनीतिमा असहमति हुन सक्छ, तर झूट र भ्रम फैलाएर कसैको बदनाम गराउने प्रयास आपत्तिजनक छ। साथै, बन्दसूचीमा देखिएका प्राविधिक त्रुटिहरू निर्वाचन आयोगले तोकेको समयावधिभित्र सच्याइने प्रतिबद्धता समेत व्यक्त गर्दछु ।’
यसरी रास्वपाले आलोचनापछि आफन्त र अन्य आर्थिक विषयसँग जोडिएका पात्रको नाम फिर्ता लिने प्रतिबद्धता जनाइसकेको छ । यद्यपि बन्द सूचीमा समावेश भइसकेको नाम पुनः फिर्ता गर्न मिल्छ वा मिल्दैन ? यो भने कानूनी विषय बनेको छ ।
