काठमाडौं । जेनजी आन्दोलनपछिको राजनीति फेरि २०६४ को जस्तै स्थितिमा त पुग्दैन ? धेरैले अनेक प्रश्न गर्न थालेका छन् । जेनजी आन्दोलनपछिको राजनीतिक एकता, ध्रुबिकरण र अनेक प्रयासका कारण पुराना स्थापित राजनीतिक दलहरु समेत गठबन्धनदेखि एकताको प्रयासमा जुट्न थालेका छन्। राष्ट्रियसभाको चुनावबाटै गठबन्धनमा होमिने प्रयासमा रहेका दलरु कसरी अघि बढ्लान ? यो चर्चा र चासोको विषय बनेको छ ।
जेनजी आन्दोलनअघि सत्तालाई म्यूजिकल चेयर बनाउदै आएका एमाले, कांग्रेस र तत्कालीन माओवादी केन्द्र संकटमा देखिन्छन् । जेनजी आन्दोलनपछि राजनीतिक स्थिति नै फेरिएको छ । स्वतन्त्रमा मेयर जितेका हर्क साम्पाङले पूर्वदेखि पश्चिममा राजनीतिक अभ्यास गरिरहेका छन भने वैकल्पिक राजनीतिको केन्द्र बन्ने संघर्षमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह, ऊर्जामन्त्री कुलमान घिसिङलाई मिसाएर आफू ठुलो बन्ने दाबी गर्न थालेको छ ।
सामाजिक सञ्जालको लोकप्रियतालाई थप स्थान दिदै अघि बढेको रास्वपाले समानुपातिक निर्वाचनमा देखाएको रवैयाबाट मानिसहरुमा आलोचना केहि बढेपनि उनीहरुले भावी प्रधानमन्त्रीको उम्मेदवार नै प्रोजेक्सन गर्न खोजेका छन् ।
यतिमात्रै नभई पुराना राजनीतिक दलहरुले पनि आफुलाई रुपान्तरण र परिवर्तनको सम्बाहक बन्छु भन्नेमा विश्वास दिलाउन नसक्दा अबको राजनीति फरक र रोचक मोडमा पुग्ने आंकलन गर्न थालिएको छ। जसमा केहि दृश्यहरु यस्ता हुनसक्छन् ।
१. कांग्रेस–एमालेको सहकार्य
कांग्रेस एमालेले जेनजी आन्दोलन अघिको सत्ता गठबन्धनलाई नै निरन्तरता दिने स्थिति बन्ने देखिन्छ । कांग्रेसमा संस्थापन इतरपक्षको दबाब झेल्दै सभापति शेरबहादुर देउवाले चालिरहेको कदमका कारण स्थिति कस्तो बन्छ भन्ने स्थिति क्लिएर नदेखिएको बेला कांग्रेसको विवाद थप उत्कर्षमा पुगेको छ ।
महाधिवेशनको विवादले कांग्रेस नै सग्लो रहन्छ रहन्न भन्ने स्थिति बनेको बेला कांग्रेस एमालेको गठवन्धनका प्रयास कति सम्भव हुन्छन भन्ने प्रश्न चलेपनि दुई दलका नेताहरुबीच सम्वाद भने जारी देखिन्छ ।
२. एमाले–नेकपा सहकार्य
नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीचको सहकार्यको सम्भावना समेत बढ्दै गएको छ । कांग्रेस आन्तरिक विवादका कारण एकढिक्का हुन नसक्ने स्थितिमा दुई दलको सहकार्य हुने सम्भावना देखिन्छ । जुन राष्ट्रियसभाको चुनाव हुँदै फागुन २१ को चुनावसम्म पुग्नसक्छ ।
अझं, केहिले त एकता नै हुनसक्नेतर्फ समेत भन्न थालेका छन् । वैकल्पिक शक्तिको प्रयास चलिरहेको बेला संकटमा रहेका पुराना दलहरुले सहकार्यको बाटो यसरी नै अघि बढाउने सम्भावना प्रवल देखिन्छ ।
३. नेकपा–कांग्रेस सहकार्य
प्रचण्ड माधव नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीले कांग्रेससंगको सहकार्यमा बढि जोड दिन थालेको देखिन्छ । चुनावमा समेत संगै गएकाले एमालेसंगभन्दा कांग्रेससंग सहज हुने नेताहरुले भन्न थालेका छन् ।
सम्वाद समेत कांग्रेस र नेकपाका नेताहरुबीच चलिरहेको छ । तर, कांग्रेसको आ्न्तरिक विवाद शिखरमा पुगिरहेकाले कांग्रेससंगको सहकार्य त्यति सहज भने हुने ठानिएको छैन् ।
४. मधेसवादी दल र राप्रपा
मधेसवादी दलहरुले पनि अनेकखाले सहकार्य गर्ने गरेका छन् । दुई कित्तामा उभिएका मधेसवादी दलहरुले राष्ट्रियसभा चुनावलाई आफ्नो पक्षमा पार्न सानो हिस्सा लिएर तीन ठूला दलमध्ये जुनसुकै दलसंग सहकार्य गर्न सक्ने अवस्था छ भने राप्रपाले पहिलेदेखि नै सहकार्य गर्दै आएको एमालेलाई नै रोज्न सक्ने अवस्था छ । तर, पछिल्लो समय राप्रपामा एमालेसंगको सहकार्यलाई राजतन्त्रसंग जोडेर हेर्ने जमात समेत ठूलो रहेकाले शंका छ । यद्यपी कमल थापादेखि राजेन्द्र लिङ्देनले समेत एमालेसंग सहकार्य गरेको दृष्टान्त रहेकाले एमालेसंग उनीहरुको सहज सहकार्य हुने सम्भावना देखिन्छ ।
