काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक कलह अब पार्टी फुटकै संकेततर्फ उन्मुख भएको आशंक गर्न थालिएको छ । नियमित महाधिवेशन हुने आधार नदेखिएको दाबी गर्दै महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा समूह विशेष महाधिवेशनको तयारीमा जुटेको छ ।
सोहीअनुसार राजधानीको भृकुटीमण्डपमा हलसमेत बुक भइसकेको छ । तर संस्थापन पक्षले क्रियाशील सदस्यता टुंग्याउने जिम्मेवारी महामन्त्रीकै भएको भन्दै विशेष महाधिवेशनको प्रस्तावलाई जिम्मेवारीबाट उम्किने खेल भनेको छ । निर्वाचनअघि महाधिवेशन असम्भव भएको देउवा पक्षको अडान कायमै छ ।
नेपाली कांग्रेसभित्र सार्वजनिक भएको कार्यतालिका अनुसार पुस २६ गतेदेखि १५ औँ नियमित महाधिवेशन हुन नसक्ने भन्दै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा समूह विशेष महाधिवेशनको तयारीमा जुटेका छन् ।
उनीहरूले पुस २७ र २८ गते काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशन सम्पन्न गर्ने गरी हल समेत बुक गरिसकेका छन् । महामन्त्री गगन थापा हाल विशेष महाधिवेशनमा पेश गरिने राजनीतिक प्रस्ताव लेखनमा खटिएका छन् भने अर्का महामन्त्री विश्वप्रकाश शर्मा सभापति शेरबहादुर देउवासँग अन्तिम संवादको कसरतमा छन् ।
विधान अनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेमा विशेष महाधिवेशन बोलाउनै पर्ने बाध्यकारी व्यवस्था भित्र टेकेर ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको विशेष महाधिवेशनको हस्ताक्षर बुझाएको यो समूह सार्वजनिक कार्यतालिका अनुसार नियमित महाधिवेशन हुन सक्ने निश्कर्ष सहित अगाडि बढेको हो ।
पार्टीका पदाधिकारी कसैले पनि विधान मिच्न नपाउने र बहुसंख्यक प्रतिनिधिहरुले केन्द्रीय कार्यालयमा बुझाएको हस्ताक्षरलाई लत्याउनु लोकतान्त्रिक चरित्र विपरीत हुने कांग्रेस नेता अजयबाबु शिवाकोटी बताउँछन् ।
महामन्त्रीद्वयको आक्रामक ‘मुभ’
विशेष महाधिवेशनको पक्षमा महामन्त्रीहरूको समूह मिति नै तोकेर अगाडी बढ्दा संस्थापन पक्ष भने कार्यतालिका परिमार्जन गरेरै भए पनि नियमित महाधिवेशन नै गर्नुपर्ने अडानमा छ ।
नियमित महाधिवेशन गर्ने गरी केन्द्रीय समितिले ल्याएको कार्यतालिका अनुसार बुधवार वडा र बिहिवार पालिका अधिवशेन हुनुपथ्र्यो । तर, यी दुवै हुन नसकेपछि महाधिवेशन हुँदैन भन्ने निष्कर्षमा पुगेका महामन्त्रीद्वय अब कांग्रेसको विधानको धारा १७ को २ अनुसार विशेष महाधिवेशन गर्ने तयारीमा जुटेका हुन् । अब महामन्त्रीद्वयकै हस्ताक्षरमा विशेष महाधिवेशन आह्वान हुने र महाधिवेशनको अध्यक्षता गर्न सभापति शेरबहादुर देउवालाई पत्र पनि महामन्त्रीद्वयले नै पठाउने तयारी भइरहेको छ ।
विधानअनुसार केन्द्रीय कार्यालय महामन्त्री मातहत रहने र केन्द्रीय कार्यालयले विशेष महाधिवेशन आयोजना गर्न सक्ने प्रावधान छ । त्यसो त विशेष महाधिवेशन पक्षधरले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई पुस २८ भित्रै विशेष महाधिवेशनका लागि मिति र स्थान तोक्न दबाब दिएको थियो । तर खड्काले अडान लिन सकेनन् । यता, सभापति देउवाले सञ्चारकर्मीसमक्ष विशेष महाधिवेशन हुँदैन भनेपछि महाधिवेशन पक्षधर बिच्किएका हुन् ।
१४ आँै महाधिवेशनका ४ हजार ७ सय ४३ महाधिवेशन प्रतिनिधिमध्ये ५४ प्रतिशतले गत असोज २९ गते नै विशेष महाधिवेशनको माग गर्दै कार्यवाहक सभापति खड्कासमक्ष हस्ताक्षर बुझाएका थिए । यद्यपी संस्थापन पक्षले यसलाई गम्भिरतापूर्वक लिएन । त्यस्तै डेढ महिना लामो केन्द्रीय समिति बैठकले पनि कुनै निचोड निकाल्न सकेन ।
विशेष महाधिवेशनको वैधानिकता ?
देउवा पक्षधर नेताहरु निर्वाचन अघि विशेष महाधिवेशनको पक्षमा छैनन् । कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले नै चुनाव नजिकै आइसकेकाले विशेष महाधिवेशन नहुने बताइसकेका छन् ।
विशेष महाधिवेशन भइहालेमा देउवा पक्षधर नेताहरु सहभागि नहुन पनि सक्छन् । यदी यही किचलोका बीच विशेष महाधिवेशन भइहाले यसको वैधानिकतामा समेत प्रश्न उठ्न सक्छ । महाधिवेशन प्रतिनिधिले हस्ताक्षर बुझाएको ३ महिनाभित्र महाधिवेशन गर्नु पर्ने प्रावधानलाई टेक्दै गगन पक्षले महाधिवेशन आह्वान गरेपनि यही बीचमा नियमित महाधिवेशनको तालिका सार्वजनिक भएको उल्लेख गर्दै संस्थापन पक्षले यसको औचित्य नभएको दाबी पेश गर्न सक्छ ।
त्यस्तै गगन पक्षले विशेष महाधिवेशन आयोजना गरेको खण्डमा केन्द्रीय समितिमा बहुमतको संख्या रहेका संस्थापन पक्षले गगन पक्षलाई कारबाही समेत गर्न सक्छ । यसमा क्रियाशील सदस्यताको विवाद टुङ्ग्याउने जिम्मेवारी महामन्त्रीहरूकै कार्यक्षेत्रभित्र पर्ने र सो कार्य सम्पन्न नगरी महाधिवेशन भएन भन्नु आफैँमा विरोधाभासपूर्ण भएको देउवा पक्षको तर्क छ ।
आम निर्वाचन नजिकिँदै गरेको अवस्थामा पार्टीलाई आन्तरिक कलहमा फसाउनुभन्दा निर्वाचन लगत्तै नयाँ कार्यतालिका ल्याएर अघि बढ्नु बुद्धिमानी हुने प्रवक्ता डा. महत बताउँछन् ।
गगन पक्षको तर्क
गगन पक्षले भने केन्द्रीय कार्यालयमा विशेष महाधिवेशनको प्रस्ताव दर्ता भइसकेकाले अब पछि हट्ने ठाउँ नरहेको प्रष्ट पारेको छ । शुक्रबारभित्रै पत्रकार सम्मेलन गरेर विशेष महाधिवेशनको औपचारिक घोषणा गर्ने उनीहरूको तयारी छ ।
विगतमा २०५१ सालमा तत्कालीन महामन्त्री गिरिजाप्रसाद कोइरालाले डाकेको भेला र पछि शेरबहादुर देउवा आफैँले पार्टी फुटाउँदा डाकेको भेला जस्तै यो भेला नभएको भन्दै महामन्त्री पक्षले यो पटकको भेला विधानको रक्षाका लागि भएको दाबी गरेको छ । विधान मिच्ने र कार्यतालिका लत्याउने काम पार्टी भित्र भएको भन्दै त्यसलाई सच्याउन विशेष महाधिवेशनको बिकल्प नभएको उनीहरुको भनाइ छ ।
एकातर्फ गगन पक्षको पुस २७ गतेको विशेष महाधिवेशनको तयारी र अर्कातर्फ निर्वाचन पछिको नियमित महाधिवेशनको अडान दुवै पक्ष टसमस नहुने स्थिति बन्दा कांग्रेस यतिबेला संकटमा फसेको छ । यदि दुवै पक्षबीच संवादबाट सहमति नजुट्ने हो भने मुलुककै सबैभन्दा पुरानो प्रजातान्त्रिक पार्टी अर्को विभाजनको सँघारमा सम्भावना देखिएको छ ।
