महोत्तरी । पछिल्लो समय विशेषगरी तराई मधेश क्षेत्रमा सडक दुर्घटना बढ्दै गएको छ ।। नेपालमा सवारी दुर्घटनामा मृत्यु भएकाहरुमध्ये २१ प्रतिशत मधेश प्रदेशका रहेका छन् । दुर्घटनाको यस्तो भयावह तथ्यांक हुँदाहुँदै पनि न्यूनिकरणका लागि भइरहेका प्रयासहरु खासै प्रभावकारी बन्ने सकेका छैनन् ।
नेपालमा हरेक वर्ष सडक दुर्घटनामा थुपै्र मानिसले ज्यान गुमाउने गरेका छन् भने दर्जनौँको संख्यामा घाइते हुने गरेका छन् । गुणस्तीय सडक नहुनु र सडक निर्माणका क्रममा भएका भ्रष्टाचार लगायतका थुप्रै कारण सडक दुर्घटना बढिरहेको गुनासो नागरिकको छ ।
चालु आर्थिक वर्षको मंसिरसम्ममा देशभरिमा १३ हजार ८८० दुर्घटनामा १०४२ को मृत्यु भएको छ । जसमा मधेश प्रदेशमा मात्रै २२० जाको मृत्यु भएको छ । मधेश प्रदेशमा आर्थिक वर्ष ०८१\०८२ मा साउनदेखि मंसिर महिनासम्ममा २६७१ दुर्घटनामा १९१ जनाको मृत्यु भएको थियो भने ४५७६ जना घाइते भएका थिए ।
त्यसैगरी चालु आर्थिक वर्षको मंसिरसम्ममा ३४८४ दुर्घटनामा २२० जनाको मृत्यु भएको छ भने ५६८५ जना घाइते भएको तथ्याँक रहेको छ । चालु आर्थिक वर्षको मंसिरसम्ममा देशमा सवारी दुर्घटनामा मृत्यु भएकाहरु मध्ये २१ प्रतिशत मधेश प्रदेशका ८ जिल्लाका १७ देखि ३० वर्षका युवाहरु रहेका छन् ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाले महोत्तरी जिल्लाको बर्दिबासमा आयोजित एक कार्यक्रममा सडक दुर्घटनामा युवाहरु बढी परिरहेको जनाएको छ । युवामा सचेतना ल्याउन सके दुर्घटना कम हुने स्थानीयको भनाइ छ ।
तिव्र गति तथा सडकको दुरावस्थाको कारणले दुर्घटना बढनुका साथसाथै युवाहरुले लागुपदार्थ सेवन गरि सवारी चलाउनले पनि दुर्घटना बढेको स्थानीय बताउँछन् । स्थानियले गरेका गुनासोहरुलाई गम्भिरतापूर्वक लिएको मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामका प्रमुख गोविन्द थपलियाले बताए ।
मधेश प्रदेशका अन्य जिल्लामा देखिएको घटनाहरु बारे बताउदै महोत्तरी जिल्लाभरि मात्रै पछिलो ६ महिनामा अघिल्लो वर्षभन्दा बढ़ी दुर्घटना भएको उनले बताए ।
मधेश प्रदेशको तथ्यांक अनुसार सडक दुर्घटनामा परि १६ वर्ष देखी ४० वर्ष सम्मका बढ़ी घाइते हुने र ज्यान जाने गरेको छ ।
दुर्घटना रोक्न नियमित चेक, मापसे चेकजाँच, विभिन्न विद्यालय तथा क्याम्पसमा विद्यार्थीहरुलाई सडक सुरक्षासम्बन्धी सचेतना कक्षा, विभिन्न ठाउँहरुमा स्टिकर तथा पर्चा, पम्पलेट टाँस्ने र सवारी चालकहरुलाई सचेतनालगायतका कार्यक्रमहरु बढाउनु पर्ने सुझाव स्थानीयले दिएका छन् ।
