रुपन्देही । तेस्रो मुलुकका पर्यटक बढ्दा बुद्ध जन्मस्थल लुम्बिनी घुम्ने भारतीय र स्वदेशी पर्यटकको संख्यामा भने गिरावट आएको छ । लुम्बिनी विकास कोषका अनुसार सन् २०२४ भन्दा २०२५ मा ४.९५ प्रतिशतले भारतीय र स्वदेशी पर्यटक आगमन घटेको हो ।
बुद्ध जन्मस्थल लुम्बिनी घुम्ने पर्यटकको संख्या घटेको छ । लुम्बिनी विकास कोषको तथ्यांक अनुसार सन् २०२४ मा भन्दा २०२५ मा लुम्बिनी भ्रमण गर्ने पर्यटकको संख्या ५८ हजार १६ अर्थात् ४.९५ प्रतिशतले कमी भएको हो ।
कोषका अनुसार २०२४ मा ११ लाख ७२ हजार २८२ पर्यटक आएकोमा २०२५ मा ११ लाख १४ हजार २६६ पर्यटकले लुम्बिनी घुमेका छन् ।
यो तथ्यांक नेपाली, भारतीय र तेस्रो मुलुकका सहितको हो । कोषका अनुसार लुम्बिनी घुम्न आउने नेपाली र भारतीय पर्यटक घट्दा तेस्रो मुलुकका भने बढेका छन् ।
अघिल्लो वर्षभन्दा सन् २०२५ मा नेपाली ७.५१ र भारतीय १०.१४ प्रतिशतले घटेका छन् । तर तेस्रो मुलुकका पर्यटकको संख्या भने २६.५४ प्रतिशतले बृद्धि भएको छ ।
सन् २०२५ मा नेपाली ७ लाख २ हजार ९१० पर्यटकले लुम्बिनी घुमेका छन् । यस्तै, भारतीय २ लाख ७० हजार ३८७ र तेस्रो मुलुकबाट १ सय ४ देशका १ लाख ४० हजार ९६९ जना पर्यटकले लुम्बिनी भ्रमण गरेका छन् ।
सन् २०२४ मा भने नेपाली ७ लाख ५९ हजार ९९०, भारतीय ३ लाख ८८९ र तेस्रो मुलुकका १ लाख ११ हजार ४०३ पर्यटक लुम्बिनी आएका थिए ।
श्रेणीगत विश्लेषणले स्वदेशी, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय पर्यटक आगमनमा फरक–फरक प्रवृत्ति देखाएको छ । नेपाली र भारतीय घटेपनि तेस्रो मुलुकका बढ्दा गुणस्तरी पर्यटक बढेको कोषका सूचना अधिकारी बताउँछन् ।
नेपाली र भारतीय पर्यटक आगमन घटिरहँदा करिब ३० हजार तेस्रो मुलुकका पर्यटक थपिएका छन् । तेस्रो मुलुकका पर्यटकको वृद्धिले स्वदेशी तथा भारतीय पर्यटक घट्दाको असरलाई केही हदसम्म सन्तुलनमा ल्याएको छ भने लुम्बिनीप्रति अन्तर्राष्ट्रिय तीर्थयात्री तथा सांस्कृतिक पर्यटकहरुको आकर्षण बढ्दै गएको देखिएको छ ।
कोषले आगामी वर्ष पर्यटक बढाउन पूर्वाधार विकास, डिजिटलाइज, थप प्रचारप्रसार र धार्मिक तथा आध्यात्मिक गतिविधिलाई बढवा दिने जनाएको छ ।
सन् २०२५ मा लुम्बिनी आउने अन्तर्राष्ट्रिय पर्यटकहरुमा बौद्ध बहुल र पूर्वी एसियाली देशहरुको प्रभुत्व बढी देखिन्छ । कोषका अनुसार श्रीलंकाबाट सबैभन्दा बढी ३२ हजार २८७ पर्यटक लुम्बिनी आएका छन् । यस्तै, थाइल्याण्डबाट १९ हजार ८९१, म्यान्मारबाट १८ हजार ५२८ र चीनका १० हजार ७८९ पर्यटकले लुम्बिनी घुमेका छन् ।
शीर्ष स्रोत मुलुकहरुमा एसियाली देशहरुको वर्चस्वले विश्व बौद्ध तीर्थ पर्यटनमा लुम्बिनीको महत्व झल्काउँछ भने युरोपेली पर्यटकको उपस्थितिले यसलाई विश्व सम्पदा तथा सांस्कृतिक गन्तव्यका रुपमा बढ्दो मान्यता मिलिरहेको संकेत गर्छ । तर, पूर्व–पश्चिम राजमार्गको दूरावस्था, जेनजी आन्दोलन र अन्तर्राष्ट्रिय स्तरमा देखिएको राजनीतिक अस्थिरताले पनि यात्राको आत्मविश्वास घटाएको र वर्षभरि योजनाबद्ध भ्रमणमा अवरोध सिर्जना गरेकाले सन् २०२५ मा लुम्बिनीमा पर्यटक आगमन घटेको जानकारहरु बताउँछन् ।
