News 24 Television
राष्ट्र निर्माण दल नेपालको घोषणा, चुनाव चिन्ह पानीको बोतल

काठमाडौँ । समिम मियाँ अन्सारीको अध्यक्षतामा राष्ट्र निर्माण दल नेपाल घोषणा गरिएको छ । शुक्रबार काठमाडौंको सभागृहमा एक कार्यक्रमको आयोजना गरी मुस्लिम आयोगका पूर्वअध्यक्ष समेत रहेका अन्सारीको अध्यक्षतामा राष्ट्र निर्माण दल घोषणा गरिएको हो ।

पार्टीको औपचारिक घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष अन्सारीले राष्ट्र निर्माण दल नेपालले जनताको हित र देशको विकासलाई प्राथमिकता राखेर अघि बढ्ने बताए । 

अन्य राजनीतिक दलहरूले जनतालाई आश्वासन मात्रै देखाउने गरेको भन्दै उनले जनताका सपना साकार गर्न राष्ट्र निर्माण दलको जन्म भएको बताए । 

अध्यक्ष अन्सारीले व्यक्तिगत स्वार्थ वा फाइदाका लागि पार्टी गठन नगरिएको स्पष्ट पार्दै सबै समुदायलाई समेटेर राष्ट्र निर्माण गर्ने पार्टीको लक्ष्य रहेको बताए । 

उनले भने – ‘राष्ट्र निमार्ण दल नेपाल कुनै एकल जातीय पार्टी होइन । यस पार्टीले सबै भूगोल र समूदायको आवाज बोल्ने छ ।’ अन्तर्राष्ट्रिय सम्बन्ध सबैसँग मित्रवत व्यवहार कायम राख्ने र विशेषगरी दुई छिमेकी राष्ट्र चिन र भारतसँगको सम्बन्धलाई थप मजबुत बनाउने अध्यक्ष अन्सारीको भनाइ छ । 

naya-dal-1767419773.jpg
पार्टी विचारलाई मनन गरी आउने चुनावमा जनताले साथ दिने विश्वास व्यक्त गर्दै अध्यक्ष अन्सारीले भने – ‘जनताका साथ र सहयोग रह्यो भने पार्टीले केन्द्रमा निर्णायक भूमिका खेल्नेछ ।’

साथै उनले आगामी निर्वाचनमा विचार मिल्ने दलहरूसँग चुनावी गठबन्धनको लागि ढोका खुल्ला रहेको बताए । उनले गोलो घेराभित्र पानीको बोतल चुनाव चिन्ह लिएर राष्ट्र निर्माण दल नेपाल चुनावमा होमिएको बताए । घोषणा सभामा संविधानसभा सदस्य एवम् पुर्वराज्यमन्त्री मोहम्मद जाकिर हुसैन, गुरुदेव राम, खगेन्द्र ढकाल, सुमन खड्गी, दीपेन्द्र चौधरी, अकबर खान, अफरोज मन्सुरलगायत विभिन्न जिल्लाबाट आएका नेता कार्यकर्ताको उल्लेखनीय सहभागिता थियो ।

प्रकाशित मिति: शनिबार, पुस १९, २०८२  ११:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update