News 24 Television
संस्थापनको निर्णयमा शेखर समूहको लाहाछाप

काठमाडौं । नेपाली कांग्रेस भित्र विशेष महाधिवेशनको एजेण्डा बोकेर अगाडि बढेका गगन थापा पक्षलाई डा. शेखर कोइराला पक्षले साथ नदिने देखिएको छ । 

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक केन्द्रीय समितिको म्याद थप्ने सहित महाधिवेशनको लागि नयाँ मिति समेत तय भइसकेको स्थितिमा बिषेश महाधिवेशनमा जानुको कुनै औचित्य नहुने भन्दै दुवै पक्षलाई मिलाएर अगाडी लैजाने गरी वातावरण बनाउने शेखर पक्षले निश्कर्ष निकालेको छ । 

 
भदौमा २३ को जेनजी आन्दोलनपछि एकाएक यूटर्न हुँदै नेपाली कांग्रेसको संस्थापन पक्षसँग नजिक भएका डा. शेखर कोइरालाले पार्टीको संस्थापन पक्षको निर्णयमा लाहा छाप लगाएका छन् । पूर्व निर्धारित समयमा नियमित महाधिवेशन हुन नसकेपछि पार्टीको विधान अनुसार नै ४० प्रतिशत बढी सदस्यको माग अनुसार विशेष महाधिवेशनमा जानुपर्ने भनी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा आवाज उठाइरहँदा कोइरालाले बैशाखमा नियमित महाधिवेशन गर्ने संस्थापनको प्रस्तावलाई स्वीकार गरेका हुन् ।

कांग्रेस कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बैशाख २८ देखि ३१ गते काठमाडौंमा १५ औं महाधिवेशन गर्ने भनी राखेको प्रस्ताव शुक्रबार केन्द्रीय कार्य सम्पादन समतिको बैठकबाट बहुमतले स्वीकृत भएको थियो । गगन थापा विधानतः पुसभित्रै विशेष महाधिवेशन गर्नुपर्ने पक्षमै छन् । तर इतर पक्ष भनिएका कोइराला समूहले नै अहिले गगनको आलोचना गरिरहेका छन् । 

गगनले आफूले भनेको मात्रै हुनुपर्ने हठ त्याग्नुपर्ने भन्दै शेखर पक्षका नेताहरुले संस्थापनको पक्षमा बहस गरिरहेका छन् । उनीहरुले विशेष महाधिवेशन नहुने भन्दै नियमित महाधिवेशन गर्ने र दुवै पक्षलाई मिलाएर अगाडि बढ्ने रणनीति अघि सारेका छन् । 

पुस २७ गतेदेखि विशेष महाधिवेशन गर्ने भनी भृकुटी मण्डपको हल नै बुकिङ गरेपछि कार्यबाहक सभापति खड्काले शुक्रबार कार्य सम्पादन समितिको बैठक डाकेर केन्द्रीय समितिको म्याद थप गर्दै बैशाखमा नियमित महाधिवेशन गर्ने निर्णय गरेका हुन् । 

५ जनाको फरक मत बाहेक बहुमत सदस्यको निर्णय गरेकाले अब विशेष महाधिवेशनको औचित्य सकिएको संस्थापन पक्षका नेताहरुको तर्क छ । 

कांग्रेस संस्थापन पक्षका साथै इतर पक्ष भनिएका शेखर समूहले समेत विशेष महाधिवेशनको औचित्य सकिएको बताइरहँदा गगन थापा समूह भने अझै पनि विशेष महाधिवेशन जसरी पनि गराइ छाड्ने अडानमा छन् ।  

कांग्रेस भित्र कोइराला पक्षले पनि विशेष महाधिवेशन नहुने र नियमित महाधिवेशनमै जाने निश्कर्षमा पुगेपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पक्ष एक्लिएका छन् । 

उनीहरुले उठाएको विशेष महाधिवेशनको मुद्धाको बिषयमा देउवा र शेखर पक्षले पार्टी फुटाल्ने मुद्धा भएको व्याख्या गर्दै विशेष महाधिवेशन हुनै नसक्ने दाबी गरिरहेका छन् । यो अवस्थामा गगन समूहले कस्तो आँट देखाउँछन्, केही समय पर्खिनुपर्नेछ । 

प्रकाशित मिति: आइतबार, पुस २०, २०८२  ०९:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update