News 24 Television
चुनावमा जानैपर्ने बाध्यताबीच काँग्रेस–एमाले–नेकपाबीच तालमेल तयारी

काठमाडौँ । नेपाली राजनीतिमा पछिल्लो जेनजी धक्कापछि तितरबितर भएका प्रमुख पुराना दलहरू पुनः निर्वाचनका लागि एकै ठाउँ उभिने देखिएका छन् । नयाँ शक्तिको रुपमा रास्वपाको केन्द्रीयतामा बालेन, कुलमान लगायतका लोकप्रियतावादी समूहहरु एकजुट हुँदा पुराना दलहरु आफ्नो अस्तित्व रक्षाका लागि जुट्ने तयारीमा देखिएका छन् । अनेक तिक्तता, वैमनश्यता र घोचपेचका बीच पनि परेको बेला मिल्न सक्ने प्रमुख पुराना दल काँग्रेस, एमाले, साविक माओवादी केन्द्र (हाल नेकपा)बीच आगामी प्रतिनिधिसभा चुनावका लागि गठनबन्धन तथा तालमेलको चर्चा भइरहेको छ । यो केवल चर्चामा मात्र सीमित छैन, प्रमुख शत्रुसरह व्यवहार गरिरहेका एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक प्रचण्डबीच अकस्मात भेटवार्ता हुनुले नयाँ तरङ्ग समेत सृजना गरिदिएको छ । 

आइतबार बिहान ओली र प्रचण्डबीच ललितपुरको च्यासलमा करिब आधा घण्टा ‘वान टु वान’ भेटवार्ता भयो । प्रचण्डको भारत भ्रमणअघि भएको यस भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । उनीहरूबीच पछिल्लो राजनीतिक परिस्थिति, राष्ट्रिय सभा निर्वाचन र चुनावको वातावरण बनाउने विषयमा छलफल भएको बताइएको छ । प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यका अनुसार यस भेटमा चुनावी सहकार्यको ठोस टुङ्गो नलागे पनि समसामयिक राजनीतिक मुद्दाहरूमा केन्द्रित रहेर कुराकानी भएको हो । विभिन्न कम्युनिस्ट घटकहरूको प्रवासी संगठनको एकता सभालाई सम्बोधन गर्न प्रचण्ड आइबारै साँझ नयाँ दिल्ली जाँदैछन् । 

प्रचण्ड–ओलीको भेटले आगामी निर्वाचनमा नयाँ राजनीतिक शक्तिहरूले दिन सक्ने चुनौती सामना गर्न पुराना दलहरूबीच आन्तरिक छलफल र सहकार्यको प्रयास सुरु भएको अर्थमा बुझिएको छ । यसअघि ओलीले काँग्रेस सभापति शेरबहादुर देउवालाई पटकपटक भेटेर एकै ठाउँ उभिनेबारे छलफल गरिसकेका छन् । पछिल्लो समय एमाले नेताहरुले काँग्रेस–एमाले मात्र हैन, नेकपालाई समेत साथमा लिएर आवश्यक गठबन्धन वा तालमेल गर्न सकिने बताइरहेका छन् । फागुन २१ का लागि निर्धारित प्रतिनिधिसभा चुनावमा महागठबन्धन गरेर काँग्रेस र एमालेलाई ७०–७० सिट र बाँकी २५ सिट नेकपालाई दिन सकिने एमाले उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले बताएका छन् । यद्यपि चुनावी तालमेल भएमा भागबण्डा र नतिजाको सम्भावना योभन्दा फरक हुन सक्छ । 

एमाले उपमहासचिव लेखराज भट्टले पनि आगामी फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा कांग्रेस, एमाले र नेकपाबीच चुनावी तालमेल हुन सक्ने संकेत गरेका छन् । आइतबार गृहजिल्ला कैलाली पुगेका भट्टले धनगढी विमानस्थलमा सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै संविधानको रक्षा गर्त र गणतन्त्रलाई सुदृढ बनाउन परिवर्तनकारी शक्तिहरू एक भएर जानुपर्नेमा जोड दिए । भट्टका अनुसार वैकल्पिक शक्तिहरू (रास्वपा, बालेन र उज्यालो नेपाल) एक ठाउँमा उभिएपछि सिर्जना भएको नयाँ राजनीतिक दबाबका बीच ठूला दलहरूबीच सम्पर्क र संवाद बाक्लिएको छ । राजनीतिमा कुनै पनि सम्भावनालाई नकार्न नसकिने भन्दै उनले काँग्रेस–एमाले–नेकपाको शीर्ष नेतृत्व तहमा सहकार्यका लागि गम्भीर छलफल भइरहेको दाबी गरे । 

यद्यपि एमाले नेताहरुले फागुन २१ मा चुनाव हुन नसक्ने बताउँदै आएका छन् । एक त चुनावको विश्वासिलो वातावरण बन्न नसकेको एमाले नेताहरुको आरोप छ भने अर्कोतिर संसद पुनःस्थापनाको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । यिनै दुई कारणले निर्धारित मितिमै चुनाव हुनेमा अन्यौल कायमै छ ।

एमाले र काँग्रेसबाहेक प्रायः सबै दल चुनावमा जान हौसिएका छन् । प्रमुख दुई दलले भने संसद पुनःस्थापनालाई प्राथमिकतामा राखेका छन् । अदालतले संसद पुनःस्थापनाको आदेश दिइहालेमा यी दुई दललाई पुनः शक्तिमा फर्किन बल पुग्नेछ । यद्यपि युवाहरुको बलिदानमार्फत सत्तापलट भएकाले अदालतले निर्वाचनकै बाटो खोलिदिने सम्भावना बलियो छ । त्यही भएर बाध्यताले निर्वाचनमा जानुपरे प्रमुख तीन दल चुनावी गठबन्धन र तालमेल गर्नेतर्फ अघि बढिसकेका छन् । 
 

प्रकाशित मिति: आइतबार, पुस २०, २०८२  २०:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update