काठमाडौं । निकै अर्थपूर्ण मानिएको रास्वपा केन्द्रीय समिति बैठक आइतबार पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्यो । सभापति रवि लामिछानेको नेतृत्वमा बसेको बैठकले विवेकशील साझाबाट समाहित भएका नेताहरुलाई केन्द्रीय समितिमा मनोनित गर्ने, उम्मेदवार चयन कमाण्डरदेखि पदाधिकारी संख्या समेत बढाएको छ भने कुलमान पक्षको दबाबका कारण संघीयतालाई स्वीकार गर्ने सहमति रास्वपामा जुटेको छ ।
रवि, बालेन र कुलमान एकताले बलियो बनेको रास्वपामा शक्ति व्यवस्थापन चुनौती बनिरहेको छ । बालेन र कुलमान समूहको व्यवस्थापन र जिम्मेवारीका विषयमा नेताहरु बीच सहमति हुन नसक्नु त्यसको प्रमुख कारण हो ।
तीन नेताको एकताले कार्यकर्ता पंक्तिमा विश्वास जताउन सकिरहेको छैन् भने अन्योलताको माहोल पनि बनिरहेको छ । तर आइतवारको छलफल र बैठकपछि भने रास्वपामा रवि, बालेन र कुलमान पक्ष करिब–करिब सहमतिको नजिक पुगेको छ । यसअघि ७ बुँदे सहमति बाहेकको अन्य कुनै विश्वासिलो सम्झौताको आधार नदेखिएको यो एकतामा अन्नतः समाधानको बाटोमा गएको हो ।
संघीयतामा रास्वपा
संघीयताको सवालमा रास्वपाको स्पष्ट नीति थिएन । तर आइतवार एकतामा आएका सबै पक्षसँग संघीयता स्वीकार गर्नेमा रास्वपाभित्र सहमति भएको छ । विशेषगरी कुलमान पक्षका नेताहरुको दबाबमा रास्वपा यो निर्णयमा पुगेको हो ।
कुलमान र रवि पक्षका नेताहरुबीच शनिवार र आइतवार भएको वार्तापछि रास्वपा यो एजेण्डामा सहमत हुँद सहमति नजिक पुगेको बताइन्छ । यो बाहेक आइतबार बसेको रास्वपाको केन्द्रीय समिति बैठकले मंसिर १४ गते रास्वपामा समाहित भएका नेताको व्यवस्थापन गरेको छ । विवेकशील साझाबाट आएका ७ जना नेताहरुलाई केन्द्रीय समितिमा मनोनित गरेको छ ।
यो बाहेक आइतबार बसेको रास्वपाको केन्द्रीय समिति बैठकले मंसिर १४ गते रास्वपामा समाहित भएका नेताको व्यवस्थापन गरेको छ ।
विवेकशील साझाबाट आएका ७ जना नेताहरुलाई केन्द्रीय समितिमा मनोनित गरेको छ । जसमा समिक्षा बास्कोटा, प्रकाशचन्द्र परियार, सुरज प्रधान, नवराज थापा, आशुतोष प्रधान, धनेज थापा र रञ्जु दर्शना रहेका छन् । यी मध्येका अघिकांश नेता रास्वपाको समानुपातिको सूचिमा समाबेश भएका छन् ।
चार जना पदाधिकारी थप
उज्यालो नेपाल पार्टी र बालेन शाह समुहलाई पार्टीमा भुमिका दिन रास्वपाले विधान नै संशोधन गरेर चार जना पदाधिकारी थप्ने निर्णय गरेको छ । रास्वपाले थप्न लागेको पदाधिकारीमा उपसभापति, महामन्त्री, सहमहामन्त्री र सहप्रवक्ता गरी चार जना हुनेछन् ।
यो सँगै रास्वपामा तीन जना उपसभापति, दुई जना महामन्त्री हुने भएका छन् । सहमहामन्त्री र सहप्रवक्ताको भूमिका समेत बढ्ने भएको छ । रास्वपामा अहिले दुई सहप्रवक्ता छन् ।
उपसभापतिमा कुलमान घिसिङसंग संम्झौता नै गरेको हुँदा महामन्त्रीमा बालेन समुह वा जेनजी अभियन्ता हुनसक्ने आंकलन सुरु भएको छ । जेनजीकै भनाइलाई आधार मान्ने हो भने सुदन गुरुङ रास्वपाको महामन्त्री बन्नेसम्मको आन्तरिक गृहकार्य भइरहेको बताइन्छ । यद्यपी अहिलेसम्म यो विषय गोप्य नै छ ।
स्वर्णीम र कबिन्द्र दुई उपसमितिका कमाण्डर
रास्वपाले फागुन २१ को प्रतिनिधिसभा चुनावलाई लक्षित गर्दै उपसभापति डा. स्वर्णीम वाग्ले र महामन्त्री कविन्द्र बुर्लाकोटीलाई महत्वपूर्ण जिम्मेवारी दिएको छ । उपसभापति वाग्लेलाई उम्मेदवार सिफारिस गर्ने कमाण्डर बनाएको हो ।
वाग्लेको कमाण्डरमा हुने ७ सदस्यीय उम्मेदवार सिफारिस उपसमितिले प्रतिनिधिसभा उम्मेदवार छनोट गर्नेछ । महामन्त्री बुर्लाकोटीलाई पार्टी एकता र समायोजनलाई निष्कर्षमा पु¥याउन कमाण्डर तोकेको हो । उनी सहित बालेन र कुलमान पक्षका नेताहरुले पनि नेताहरुको व्यवस्थापन गर्नेछन् ।
