रुपन्देही । बुद्ध जन्मस्थल लुम्बिनीमा तेस्रो नेपाल बर्ड फेयर हुने भएको छ । स्वदेशी तथा विदेशी चराविद्, विज्ञ, गणक र चरासँग सरोकार राख्ने सरोकारवालाई एकै ठाउँमा सहभागी बनाएर बर्ड फेयर गर्न लागिएको हो । पोखरा पन्छी समाजको आयोजना तथा ग्रीन युथ लुम्बिनीको सह–आयोजना उक्त बर्ड फेयर हुन लागेको आयोजकले मंगलबार लुम्बिनीमा पत्रकार सम्मेलन गरी जानकारी दिएका हुन् ।
बुद्ध जन्मस्थल लुम्बिनीमा माघ १२ र १३ गते तेस्रो नेपाल बर्ड फेयर हुने भएको छ । नेपाल बर्ड फेयरको उद्देश्य नेपालका चराप्रजाति, जैविक विविधता तथा महत्वपूर्ण आवास (सिमसार, वन आदि) को संरक्षणबारे जनचेतना विस्तार गर्नु रहेको नेपाल बर्ड फेयर कमिटीका संयोजक तथा पोखरा पंछी समाजका अध्यक्ष मनशान्त घिमिरेले बताए ।
यसका साथै विद्यार्थी, स्थानीय समुदाय, गाइड, अनुसन्धानकर्ता, सरकारी निकाय र संरक्षण संस्थाबीच ज्ञान–आदानप्रदान, सहकार्य र नेटवर्किङ मजबुत बनाउँदै पन्छी–पर्यटन तथा प्रकृति–आधारित दिगो पर्यटनको प्रवद्र्धन गर्नु कार्यक्रमको लक्ष्य रहेको घिमिरेले बताए ।
बर्ड फेयरमा चरा, तिनका बासस्थान साथै जैविक विविधता एबम् स्थानीय उत्पादनका स्टल प्रदर्शनी तथा बिभिन्न चराहरुका तस्बिर प्रदर्शनी गरिने आयोजकले जनाएको छ । साथै नेपालका पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका पन्छीविद, अनुसन्धानकर्ता, संरक्षणकर्मी तथा जैविक विविधता प्रेमीहरूको सहभागिता रहनेछ ।
साथै भारत, भुटान, श्रीलंका, ताइवान, फिलिपिन्स, सिंगापुर र हङकङबाट चरा संरक्षणमा क्रियाशील संघसंस्था तथा टूर लिडरहरूको समेत सहभागिता रहने आयोजकले जनाएको छ । चराविद्हरुले चरा चिन्ने तरिका र गणनाबारे सहभागीहरुलाई सिकाउनेछन् । चरा संरक्षणमा सबैले भूमिका खेल्नुपर्छ भन्ने सन्देश प्रहाव हुने स्थानीय क्लवको छ ।
लुम्बिनी र यस आसपास धेरै सिमसार क्षेत्र रहेकाले ती क्षेत्रको प्रवद्र्धन र चरा संरक्षणमा वर्ड फेयरले योगदान पुग्ने नगरपालिकाको विश्वास छ ।
कार्यक्रम पूर्व माघ ७ र ८ गते स्थानीय २५ देखि ३० विद्यालयहरुमा चरा, तिनीहरुको महत्व, तिनका वासस्थान, संकट हुनुका कारण, संरक्षण आवश्यकता र प्रयासहरुका वारेमा जानकारी दिइने छ । त्यसैगरि माघ ९ र १० गते लुम्बिनीमा रहेका स्थानीय ३० जना पथप्रर्दशकहरुलाई चराको पहिचान सम्बन्धी तालिम दिइने छ ।
कार्यक्रममा ७ प्रकारका विषयमा बर्ड सिम्पोसियम (सम्मेलन), ई–बर्ड फोरम, बर्ड ब्रेन फोरम, एशियन पानीचरा गणना फोरम, सारस फोरम, भल्चर फोरम हुनेछन् । दुई सय जनाको प्रस्तुति हुने कार्यक्रम करिब ३० हजार दर्शकले अवलोकन गर्ने अनुमान आयोजकको छ ।
