काठमाडौं । नेपाल तेस्रो पटक टी–२० विश्वकप खेल्ने तयारीमा छ । आगामी महिना जनवरी पहिलो सातादेखि भारत र श्रीलंकाको संयुक्त आयोजनमा सुरु हुन लागेको प्रतियोगितामा २० टोली सहभागि हुँदैछन् ।
नेपाल समुह सी मा छ । नेपाल रहेको समुहमा टेस्ट राष्ट्र इंग्ल्याण्ड, वेस्ट इन्डिज, बंगलादेश र अर्काे उदीयमान राष्ट्र इटाली रहेका छन् । विश्वकप अघि कम्तिमा तयारी खेल र सिरिज खेल्नुपर्ने हो । तर क्यानले २४ खेलाडीलाई प्रशिक्षणमा सामेल गर्नु बाहेक अन्य ध्यान दिएको छैन ।
भारत र श्रीलंकाको संयुक्त आयोजनामा फेब्रुअरी ७ देखि मार्च ८ सम्म हुन लागेको टि–२० पुरुष विश्वकपको काउनडाउन सुरु भइसकेको छ । प्रतियोगितामा सहभागि २० राष्ट्रले अन्तिम टोलीको टुंगो लगाइरहेका छन् ।
भारत, अष्टे«लिया र इंग्ल्याण्ड सहितका पावरहाउस राष्ट्रले अन्तिम टोलीको टुंगो लगाउँदा नेपाल क्रिकेट संघ क्यान भने मौन छ । २४ खेलाडी बन्द प्रशिक्षणमा राखेर तयारी गराइरहेको क्यानले विश्वकप सुरु हुन एक महिना बाँकी समय हुँदा पनि न कुनै गतिलो अभ्यासमा जोड दिएको छ न कुनै सिरिज नै घोषणा गरेको छ ।
यसले क्रिकेटको ठुलो मञ्च विश्वकपमा नेपालको प्रदर्शन कमजोर हुने आशंका बढेको छ । क्रिकेटका जानकारहरु विश्वकप अघि ठुला राष्ट्रसँग अभ्यास तथा सिरिज खेल्न सुझाव दिन्छन् ।
चतुरबहादुर चन्दको झुट !
नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले सार्वजनिक रुपमा विश्वकप खेल्नुअघि टियु क्रिकेट मैदानमा कुनै टेस्ट राष्ट्रसँग सिरिज हुनसक्ने दाबी गरेका थिए । तर विश्वकप मिति नजिकिदा समेत त्यस्तो कुनै सुरसार छैन् ।
क्यानले सन् २०२६ को बार्षिक क्यालेण्डर चाँही सार्वजनिक गरिसकेको छ । पूर्व तयारी स्वरुपको सिरिजबारे क्यानका सचिव पारस खड्काको पनि गोलमटोल जवाफ छ ।
मुलपान र टियू मैदानको तयारीले पुग्ला ?
यतिबेला २४ खेलाडीले क्यानको मुख्यालय माथिल्लो मुलपानी र त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान गरी दुई मैदानमा तयारी गरिरहेका छन् । तर नेपालले भारतमा विश्वप्रसिद्ध रंगशाला तथा पिचमा चारवटै खेल मुम्बईमा खेल्ने तालिका छ ।
यस्तो अवस्थामा क्यानले भारतीय क्रिकेट बोर्डसँग समन्वय गरी नेपाली टोलीलाई भारतीय भुमिमा अध्यास गराउन सके विश्वकपका लागि सहज हुनसक्छ । किनभने भारतीय पिचमा नेपाली टोलीले उतिधेरै खेल खेलेको छैन । त्यहाँको कन्डिसनलाई रिड गर्न पनि क्यानले यसतर्फ ध्यान दिनुपर्ने खेलप्रेमीहरुको सुझाव छ ।
विश्वपकको जर्सी सार्वजनिक
विश्वकपका लागि क्यानले अफिसियल जर्सी सार्वजनिक गरेको छ । जसमा प्लेयर जर्सि मुल्य ३४९९, रेप्लिका जर्सि मुल्य १५९९ र फ्यान जर्सि मुल्य ७९९ तोकेको छ ।
यसलाई विश्वकपको तयारीकै रुपमा लिन सकिन्छ । जर्सिको डिजाइन भने सन् २०१४ मा नेपालले पहिलो पटक टि–२० विश्वकप खेल्दा ताकै जस्तो देखिन्छ । नेपालले अछिल्लो पटक सन् २०२४ मा पनि टि–२० विश्वकप खेलेको थियो । एनपीएललाई भब्य रुपमा सम्पन्न गरेर प्रशंका बटुलेको क्यानले तेस्रोपटक विश्वकप खेल्न जाँदै गर्दा नेपाली टोलीलाई थप अभ्यास र अन्तर्राष्ट्रिय खेल खेलाउन आवश्यक छ ।
विशेषगरी त विश्वकपमा टेस्ट राष्ट्रसंग भिड्न जाँदै गर्दा त्यहि लेवलको तयारी पनि गर्नुपर्छ । केवल विश्वकपमा औपचारिक सहभागिताले मात्रै नेपाली क्रिकेटको विकास र विस्तार सम्भव छैन । नेपाली समर्थक चाहन्छन्– यसपटक नेपालले इंग्ल्याण्ड, वेस्ट इन्डिज र बंगलादेश जस्ता राष्ट्रलाई विश्वकपमा पराजित गरोस् ।
