News 24 Television
राष्ट्रिय जलवायु सम्मेलनपछि चम्कियो गुफाडाँडा

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–९ स्थित गुफाडाँडामा पछिल्लो समय आन्तरिक तथा विदेशी पर्यटकको चहलपहल उल्लेख्य रूपमा बढ्दै गएको छ । पर्यटकीय पूर्वाधार विस्तारसँगै यो स्थान आकर्षक गन्तव्यका रूपमा स्थापित हुँदै गएको हो । गुफाडाँडामा धार्मिक तथा सांस्कृतिक पार्क निर्माणको अर्को महत्वपूर्ण पहल पनि सुरु भएको छ । 

समुद्री सतहदेखि करिब २ हजार २ सय ५० मिटर उचाइमा रहेको सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा पर्ने गुफाडाँडा सुन्दर पहाडी थुम्कोका रूपमा परिचित छ । यहाँबाट ३ सय ६० डिग्रीको कोणमा जुगल हिमशृङ्खला, दोर्जे लाक्पा र लाङटाङ हिमाल समेत स्पष्ट देख्न सकिन्छ । यही स्थानमा धार्मिक तथा सांस्कृतिक पार्क निर्माणको प्रक्रिया अघि बढाइएको छ । 

२०७५ साल पुस महिनामा सम्पन्न पहिलो राष्ट्रिय जलवायु सम्मेलनपछि गुफाडाँडा राष्ट्रियस्तरमा चर्चामा आएको हो । सम्मेलनको उद्घाटन तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी थिइन् । सम्मेलन सम्पन्न भएसँगै पहिले चौँरीखर्क मात्र रहेको यो क्षेत्र पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ ।

त्यसयता गुफाडाँडा मेलम्चीका स्थानीयको मात्र नभई समग्र देशकै साझा सम्पत्तिका रूपमा चिनिन थालेको छ । जलवायु सम्मेलनपछि चर्चामा आएको गुफाडाँडामा घुम्न आउने आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ । यहाँको शान्त वातावरण र प्राकृतिक सौन्दर्यले आकर्षित गर्ने पर्यटकहरू बताउँछन् ।

लामाहरू ज्ञान साधनाका लागि गुफामा बसेकाले यस स्थानको नाम गुफाडाँडा रहन गएको भन्ने किंवदन्ती छ । हाल यो क्षेत्र विभिन्न गोष्ठी तथा बैठक आयोजना हुने स्थलका रूपमा समेत विकास हुँदै गएको छ । 

प्रचार–प्रसार बढेसँगै पर्यटकको आगमन बढेपछि गुफाडाँडामा होमस्टे सञ्चालनमा आएका छन् । यहाँ कुनै दिन पनि पर्यटकको अभाव नहुने स्थानीय बताउँछन् । गुफाडाँडा पुगेका पाहुनाहरू थलीगुम्बा, ओख्रेनीगुम्बा र मुलखर्क गुम्बासम्म भ्रमण गर्ने गरेका छन् । लभडाँडामा निर्माण गरिएका संरचनामा फोटो, भिडियो तथा टिकटक बनाउनेदेखि पारिवारिक घुमघाम र पिकनिक मनाउन आउनेको संख्या पनि बढ्दो छ । 

यहाँ आउने पर्यटकलाई तामाङ समुदायको मौलिक संस्कृतिअनुसार होमस्टेमार्फत आतिथ्य प्रदान गरिन्छ । उच्च हिमाली भेगमा उत्पादन हुने अर्गानिक सागसब्जी, मुला, आलु, किवी, मकै, कोदो तथा सिस्नुका परिकार पाहुनाको रोजाइमा पर्ने गरेका छन् । पहिले गाउँका उत्पादन बोकेर मेलम्चीसम्म बिक्री गर्न जानुपर्ने अवस्था थियो । 

अहिले भने गाउँमै आउने पर्यटकले ती उत्पादन उपभोग गर्ने भएका किसानलाई समेत सहज भएको छ । मेलम्ची नगरपालिकाले आफ्नै स्रोतबाट दुई करोड रुपैयाँ बजेट छुट्याएर धार्मिक तथा सांस्कृतिक पार्क निर्माणको अर्को महत्वपूर्ण परियोजना अघि बढाएको  छ । 

पार्कभित्र बुद्धमूर्ति, छ्योर्तेन र डम्फु पार्क निर्माण गरिँदैछ । नगरपालिकाले स्थानीयलाई होमस्टे सञ्चालन सम्बन्धी तालिम र सहयोग पनि उपलब्ध गराउँदै आएको छ । 

पहिले पैदलयात्राबाट मात्र पुग्न सकिने गुफाडाँडामा अहिले सडक विस्तार, विद्युत् आपूर्ति र साना पुल निर्माणका कारण पहुँच सहज बनेको छ । यातायात पूर्वाधारलाई प्राथमिकतामा राखेर गरिएको लगानीले पर्यटन आगमनसँगै स्थानीय जीवनस्तरमा समेत सुधार आएको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ बताउँछन् । पहिले पाहुना आउने कल्पना समेत गर्न नसकेका गुफाडाँडावासी अहिले गाउँ नै पर्यटकीय आकर्षणको केन्द्र बनेकोमा उत्साहित छन् ।

 

प्रकाशित मिति: बुधबार, पुस २३, २०८२  ०९:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update