काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले देश जलाउनेहरुलाई बाहिरै राखेर निर्वाचन हुन नसक्ने बताएका छन् ।
बुधवार नेपाल राष्ट्रिय अभिभावक संघको २४ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले जेन–जी आन्दोलनका क्रममा सरकारी सम्पत्ति जलाउनेहरु अपराधी भएको बताए । त्यस्ता अपराधीहरुलाई अन्तरिम सरकारले के गर्छ ? भन्दै प्रश्न गरे । अपराधीहरु दिनदहाडै हिँडिरहेको अवस्थामा कसरी चुनाव हुन्छ ? भन्ने उनको प्रश्न छ ।
खनालले भने, ‘सरकारको सम्पती जलाउनेहरु अपराधी हुन् की होइनन् । यो सरकार जुन चलिरहेको छ, यो सरकारका सामुन्ने अपराधी हुन् की होइनन् ? यो सरकारले तिनीहरुलाई कारबाही गर्नुपर्छ की पर्दैन ? अनि ति अपराधीहरुले दिनदहाडै हिँडिरहेको अवस्थामा कसरी चुनाव हुन्छ होला ? यो देशमा । के चुनाव हुन्छ होला, चुनाव भयो भनेपनि के परिणाम आउँछ होला । यो बढो संकटको अवस्था छ । चुनाव त चाहिएको छ । चुनाव गर्नुपर्छ भनेर हामी लागेका छौँ । चुनाव हुनुपर्छ तर पूर्वाधारहरु तयार गर्नुपर्नेछ । ९० हजार बुलेटहरु कब्जा भएका छन् । फर्काइएको छैन । १२ हजार राइफल कब्जा भएका छैनन् । १४ हजार त बन्दी बाहिर गएका छन् । ६ हजार आएका छैनन् ।’
देशको निम्ति हित हुने शिक्षा जरुरी रहेको बताउँदै उनले शिक्षा व्यवस्थालाई विकास गर्न धेरै कुरामा आमूल परिवर्तन गर्न जरुरी रहेको तर्क गरे । राष्ट्रिय शिक्षा नीति नै परिवर्तन गर्न जरुरी रहेको उनकाे भनाइ छ ।
