काठमाडौं । नेपाली कांग्रेसभित्रको संघर्ष अब पार्टी विभाजनको निर्णायक मोडमा पुगेको छ । केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट बैशाखमा महाधिवेशन गर्ने बहुमतले निर्णय भइसक्दा गगन थापा समूहले पुसमै विशेष महाधिवेशनको आह्वान गरेको छ । ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको माग पार्टी केन्द्रले लत्याएको भन्दै विशेष महाधिवेशन बोलाइएको हो । विशेष महाधिवेशनको नेतृत्व कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले लिएका छन् ।
नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनलाई लिएर विवाद झनै चर्किएको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नेतृत्व गरेको संस्थापन इतर समूहले विशेष महाधिवेशनको प्रक्रिया औपचारिक रूपमा अघि बढाउँदै १८ वटा उपसमिति गठन गरेको छ ।
नियमित महाधिवेशनको कार्यतालिका सार्वजनिक भइसकेको अवस्थामा समेत उनीहरूले विशेष महाधिवेशन अपरिहार्य भएको दाबी गर्दै पार्टी नेतृत्वलाई यसको स्वामित्व लिन आग्रह गरेका छन् ।
विशेष महाधिवेशन पक्षधरले महाधिवेशन व्यवस्थापन, प्रचार, जनसम्पर्क, स्वयंसेवक परिचालन (जेनजी परिचालनसहित) लगायतका कामका लागि १८ उपसमिति गठन गरिएको जानकारी दिँदै यहि पुस २७ र २८ गते काठमाडौंमा विशेष महाधिवेशन बोलाएका छन् ।
२०८२ पुस २८ भित्रै विशेष महाधिवेशन अनिवार्य रूपमा सम्पन्न गर्नुपर्ने विधानको बाध्यकारी व्यवस्थालाई उल्लंघन गर्ने सुविधा कसैलाई नभएको विशेष महाधिवेशन पक्षधरहरूको तर्क छ ।
कांग्रेस महाधिवेशन प्रतिनिधिमध्ये ५४ प्रतिशतले विशेष महाधिवेशन आह्वानको गत असोज २८ गते माग गर्दै हस्ताक्षर बुझाएका थिए ।
सोही दबाबमा पुस २६ गतेदेखि १८ गतेसम्म नियमित महाधिवेशनको निर्णय गरि कार्यतालिका तय भइसकेको थियो । तर क्रियाशील सदस्य विवादकै कारण महाधिवेशनअघिका कार्यक्रमहरु प्रभावित भयो ।
नियमित कार्यतालिका प्रभावित भएपछि विशेष महाधिवेशनमा जानुपर्ने पार्टी विधानले बाध्य पारे पनि कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बहुमतले केन्द्रीय समितिको म्याद थप गर्दै बैशाखमा महाधिवेशन गर्ने निर्णय गरेपछि विवाद उत्कर्षमा पुगेको हो ।
संस्थापन पक्षले महाधिवेशन प्रतिनिधिहरुको बहुमतको माग लत्याएको उनीहरुको गुनासो छ ।
महामन्त्री थापा र शर्मा पक्षले यही पुसभित्र विशेष महाधिवेशन गरेरै छाड्ने अडान राख्दै भृकुटीमण्डपको हल नै बुक गरेपछि संस्थापनले झनै आक्रमक बनेर अघि बढ्यो । र, बहुमतको बलमा बैशाखमा नियमित महाधिवेशन गर्न निर्णयमा पुग्यो । उक्त निर्णयमा इतर पक्षकै शेखर कोइराला समूहले समेत साथ दियो ।
विशेष महाधिवेशन घोषणा
पार्टीको संस्थापन पक्ष शेखरको समेत साथ लिएर पेलेरै अघि बढेपछि गगन–विश्वले नेतृत्व लिएको विशेष महाधिवेशन पक्षधर पार्टी निर्णकै प्रतिरोधमा उत्रिएको छ ।
यो समूहले पुस २७ र २८ गते काठमाडौँमा विशेष महाधिवेशन गर्ने औपचारिक घोषणा गरिसकेका छन् । बुधबार पत्रकार सम्मेलन आयोजना गरि विशेष महाधिवेशनको तयारीबारे जानकारी दिँदै उनीहरुले देशभरका सम्पूर्ण केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूलाई अनिवार्य र उत्साहपूर्ण उपस्थितिका लागि अपिलसमेत गरेका छन् ।
उता पार्टी सभापति शेरबहादुर देउवा पक्ष तथा शेखर कोइराला समूह भने अब फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा ध्यान केन्द्रित गर्नुपर्ने बताइरहेका छन् ।
निर्वाचनको तयारीका कारण अहिले विशेष महाधिवेशन आयोजना गर्नु व्यवहारिक नभएको उनीहरूको तर्क छ ।
महामन्त्रीहरूले बोलाउने विशेष महाधिवेशन अवैधानिक हुने र त्यसले पार्टी विभाजन निम्त्याउने भन्दै संस्थापन पक्षले प्रतिनिधिहरूलाई रोक्ने प्रयास गरिरहेको आरोप पनि संस्थापनइतर नेताहरूले लगाएका छन् ।
अर्कोतर्फ संस्थापन पक्ष विशेष महाधिवेशनमा प्रतिनिधि उपस्थिति ४० प्रतिशतभन्दा कम बनाउने रणनीतिमा जुटेको बताइन्छ । तर, भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले पुराना नेतृत्वलाई अस्वीकार गरिसकेकाले पनि विशेष महाधिवेशन हुनुपर्ने तर्क पनि उत्तिकै बलियो छ ।
विशेष महाधिवेशनलाई लिएर पार्टीभित्रको वैचारिक मतभेद सडकस्तरसम्म देखिन थालेको छ ।
मंगलबार केन्द्रीय कार्यसम्पादन समिति बैठकमा सहभागी हुन जाँदै गरेका पूर्वउपसभापति विमलेन्द्र निधिमाथि विशेष महाधिवेशन पक्षधर कार्यकर्ताको एक समूहले दुव्र्यवहार गरेको घटनाले आन्तरिक तनाव झनै सतहमा ल्याएको छ ।
नाराबाजीपछि निधि र कार्यकर्ताबीच चर्काचर्कीसमेत भएको थियो । उता निधिको समर्थनमा जनकपुरको पिडारी चोकमा चक्काजाम गरिनुका साथै भानुचोकमा कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाको पुतला दहन पनि गरिएको थियो ।
अब विशेष महाविधेशनको स्वामित्व पार्टी केन्द्रीय समितिले नलिएमा कांग्रेस पुनः विभाजनको बाटामा जाने निश्चित छ ।
