News 24 Television
गगन समूहलाई पार्टीको चेतावनीः विशेष महाधिवेशन बोलाउने अधिकार छैन !

काठमाडौं । विशेष महाधिवेशनको औचित्य सकिएको भन्दै कांग्रेस संस्थापन पक्ष पेलेरै अघि बढेपछि गगन–विश्व समूहले आफ्नो सक्रियता बढाएका छन् । यसैक्रममा महामन्त्री गगन थापाले बुद्धिजिविहरुसँग समेत परामर्श गरेका छन् । बुद्धिजिविहरुले पार्टीभित्र विधि र पद्धति कायम राख्नका लागि पनि विशेष महाधिवेशन जान महामन्त्री थापालाई सुझाव दिएका छन् । 

नेपाली कांग्रेस भित्र विकाश भएको पछिल्लो घटनाक्रमले मुलुककै पुरानो प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेस फुटको अवस्थामा त पुग्ने होइन भन्ने आशंका सर्वत्र छ । कांग्रेसमा देखा परेको विशेष महाधिवेशन र नियमित महाधिवेशनको रस्साकस्सीले कांग्रेस यो अवस्थामा पुगेका हो ।कांग्रेसको कार्यसम्पादन समितिको बैठकले आगामी बैशाख २८ देखि ३१ गते सम्म नियमित महाधिवेशन गर्ने भन्दै कार्यतालिका निकालेको छ । तर गगन समुहले भने ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरको अबमुल्यन गर्ने अधिकार कांग्रेसको कार्य सम्पादन समितिसँग नरहेको अड्डी कसिरहेका छन् । 

गगन थापा समुह विशेष महाधिवेशनका लागि विभिन्न १८ वटा उप–समिति बनाई अगाडी बढेको छ भने नियमित महाधिवेशन भन्दै संस्थापन पक्षले विधान मिच्ने काम गर्न नपाउने बताएको छ । महामन्त्री थापाले आफु सभापति बन्न नभई पार्टीलाई ठीक ठाँउमा उभ्याउन विशेष महाधिवेशनको मुद्दा उठाएको बताउँछन् । 

बुद्धिजिवीहरुको सुझाव 

संस्थापन पक्षले पेलानमा परेपनि महामन्त्री गगन थापालाई बुद्धिजिविहरुले पार्टीभित्र विधि र पद्धति स्थापना गर्नका लागि विशेष महाविधेशनमा जान सुझाव दिएका छन् । 

पार्टीको संस्थापन पक्षले विधि र पद्धतिबाहिर गएर असहमत पक्षलाई किनारामा पार्ने प्रयास गरेको भन्दै उनीहरुले त्यसको प्रतिवादस्वरूप विशेष महाधिवेशनमार्फत पार्टीको रूपान्तरणसहित पुस्तान्तरण गर्न सुझाएका हुन् । 

बुधवार पार्टी महामन्त्री गगनकुमार थापासहित विशेष महाधिवेशन पक्षधरले बुद्धिजीवीहरूसँग छलफल गरी विशेष महाधिवेशनबारे सुझाव लिएका छन् । 

छलफलपछि बुद्धिजीवीहरुले पार्टी विधान र मुलुकको संविधानअनुसार अघि बढ्दा महामन्त्रीहरूलाई कारबाही गर्ने आधार पार्टी केन्द्रसँग नरहेको कारण दृढतापूर्वक विशेष महाधिवेशनको पक्षमा अघि बढ्न सुझाव दिएका हुन् । 

संस्थापन पक्षको चेतावनी 

गगन र विश्वप्रकाश समूहको विशेष महाधिवेशन आह्वानपछि नेपाली कांग्रेसले विज्ञप्ति निकाल्दै विशेष महाधिवेशन बोलाउने अधिकार केन्द्रीय समिति बाहेक अरुलाई नभएको उल्लेख गरेको छ ।

पार्टीको विशेष महाधिवेशन बोलाउने अधिकार पदाधिकारीलाई व्यक्तिगतरुपमा नभएको भन्दै विज्ञप्तिमार्फत् ध्यानाकर्षण पनि गराइएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा विशेष महाधिवेशनका नाममा गरिने कुनै पनि गतिविधि पार्टीको विधान विपरीत हुने भन्दै त्यस्ता गतिविधिमा भाग नलिन पार्टीपंक्तिलाई आह्वान गरिएको छ । 

प्रकाशित मिति: बिहीबार, पुस २४, २०८२  ०९:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update